९ मङ्सिर, काठमाडौँ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल गर्दै पार्टी एकता हुनेसम्मको चर्चा बाक्लिएको छ। दुवैतर्फका नेताहरूले चुनावी सहकार्य निश्चित रहेको र पार्टी एकताको सम्भावनाबारे बहस बढाएका छन्।
प्रदेश सरकारहरूमा सहकार्य गर्ने गरी गत ९ साउनमा तीनबुँदे सहमति हुँदा नै आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका थिए।
त्यही सैद्धान्तिक सहमतिलाई आधार मानेर नेताहरूले बोल्दै आएका छन्। थुप्रै जिल्ला र पालिकाहरूमा सम्भावित सहकार्यबारे प्रारम्भिक अनुमानहरू सुरु भइसकेको नेताहरू बताउँछन्।
गत सोमबार गोरखा पुगेर प्रचण्डले दिएको अभिव्यक्तिले अझ यो छलफल सघन हुने देखिन्छ। पार्टी प्रवेश कार्यक्रमका निम्ति गोरखा पुगेका प्रचण्डले चुनावी सहकार्य गर्ने निर्णय भइसकेको जानकारी दिँदै एउटै पार्टी बन्ने सम्भावनासमेत रहेको बताए।
‘आउँदो स्थानीय र प्रदेशसभा चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ प्रचण्डले भनेका छन्, ‘हाम्रो कोसिस छ- सहकार्य मात्र होइन, पार्टी नै एउटै बनाएर कम्युनिस्ट आन्दोलन र स्वाधीनताको रक्षा र समाजवादको दिशामा अघि बढ्नका लागि कम्युनिस्टहरू एउटै केन्द्रमा आउनुपर्छ।’
प्रचण्ड यतिमै रोकिएका छैनन्। चुनावी तालमेल कांग्रेससँग पनि सम्भावना रहेको बताएका छन्। ‘गगन थापाजी, शेरबहादुर देउवाजी र मधेसकेन्द्रित दलका नेताहरूसँग लगातार छलफल भइरहेको छ। हामी मिलेरै जानुपर्छ, मोर्चा गरेर जानुपर्छ भन्नेमा विमति छैन,’ प्रचण्डले भनेका छन्।
प्रचण्डले जस्तै सन्देश ओलीले पनि राष्ट्रिय कार्यकर्ता भेलामार्फत दिएका छन्। २–३ मङ्सिरमा आयोजित भेलालाई पटक–पटक सम्बोधन गरेका ओलीले चुनावी तालमेलको पहल एमालेले नै लिने बताएका छन्।
‘राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ, एकजुट भएर बढ्नुपर्छ,’ ओलीले भनेका छन्, ‘अरू दलहरूसँग सहकार्यको पहलकदमी एमालेले लिन्छ।’ पुराना दलहरूको सङ्कट एउटै रहेको बुझाउन ओलीले आफूसहित शेरबहादुर देउवा र प्रचण्डलाई पनि थुन्न खोजिएको दाबी गरेका थिए।
गत २१ फागुनको निर्वाचनयताका घटनाक्रम हेर्दा आगामी चुनावहरूमा जसरी पनि पुराना दलहरूबीच सहकार्य गर्नुपर्ने पक्षमा ओली देखिन्छन्। जेनजी आन्दोलनदेखि नै उनी चुनावी तालमेलका पक्षमा थिए।
तर प्रचण्डले एकीकृत समाजवादीसहित साना दलहरूसँग एकता अभियान चलाएको र कांग्रेसमा नयाँ नेतृत्व आउँदा ओलीको चाहना पूरा हुन सकेन। २१ फागुनको निर्वाचनपछि त पुराना दलहरू मिल्दा बदलिन सक्ने सम्भावित नतिजाबारे एमालेमा अध्ययन प्रतिवेदन नै तयार पारिएको छ।
उक्त प्रतिवेदनबमोजिम एमाले र नेकपाबीच चुनावी सहकार्य भएको थियो भने थप २४ सिट जित्न सकिन्थ्यो। थपिने २४ सिटमा एमालेले १२ र नेकपाले १२ सिट जित्न सक्थ्यो। यसले एमालेलाई ३९ सिटसहित प्रमुख विपक्षी दल बनाउँथ्यो भने कांग्रेसभन्दा नेकपा २ सिटले ठूलो दल बन्थ्यो । त्यो भनेको कांग्रेसको १२ सिट घटेर २७ सिटमा खुम्चिन्थ्यो भने नेकपाको २९ सिट पुग्थ्यो।
यही सम्भावित नतिजा देखाएर एमाले नेताहरूले प्रदेश सरकारहरूमा साझेदारी थालेर आगामी चुनावमा तालमेल गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन्। यसै साता दैलेखमा आयोजित एक कार्यक्रममा नेकपाका नेता वर्षमान पुनले तालमेल र एकताका निम्ति दबाब नै रहेको खुलाए।
उनका अनुसार हताश एमाले पङ्क्तिले चुनावी सहकार्यका निम्ति दबाब बढाएको छ। ‘…हाम्रो पङ्क्तिमा भन्दा पनि एमालेका साथीहरूमा अलि बढी त्यो (हताशा) छ। जहाँ गयो भने पनि पार्टी मिलाऔँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ, के गर्ने हो, जहाँ गए पनि लौ कमरेड लाग्नुपर्यो भन्ने,’ पूर्वअर्थमन्त्री पुनले भनेका छन्।
एमाले महासचिव शङ्कर पोखरेल भने नेकपाका नेताहरूमा तालमेलबारे सकारात्मक चेत आएको तर्क गर्छन्। मङ्गलबार दाङको तुलसीपुरमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले एमालेसँगै तालमेल गर्दा नेकपालाई लाभ हुने विगतको नजिर रहेको बताए।
‘नेपाली कम्युनिस्ट पार्टी एमालेभन्दा बाहिरका शक्तिसँग तालमेलमा जोड दिन्थ्यो,’ पोखरेलले भनेका छन्, ‘ऊ अहिले त्यसो गर्नुभन्दा वामपन्थीहरूका बीचमा तालमेल गर्नु उचित भन्ने ठाउँमा आइपुगेको छ। त्यसलाई हामी सकारात्मक रूपमा हेर्छौं।’
तर नेता पुनको दाबीविपरीत पोखरेलले भने तालमेलबारे निष्कर्षमै पुग्न बाँकी रहेको बताएका छन्। ‘पहिलोदेखि नै स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने नीतिकै पक्षमा रहँदै आएका छौँ। त्यसका आधारमा तालमेल हुन सक्छ,’ पोखरेलले भनेका छन्, ‘तर के गर्ने भन्नेमा हामी छलफल गरेर निष्कर्षमा पुगेका छैनौँ। तालमेल गर्न सकिन्छ भन्ने कुरा नीतिगत कुरा हो।’
चुनावी तालमेलदेखि सम्भावित एकताबारे ओली र प्रचण्डको बोली जसरी बाक्लिँदै छ, यसप्रति दुवै पार्टीपङ्क्तिमा भने संशय देखिन्छ। एमाले महासचिव पोखरेल र नेकपा नेता पुनको अभिव्यक्तिलाई त्यही संशयको उदाहरण मान्न सकिन्छ।
‘चुनावी तालमेल गर्ने कुरामा असहमति राख्न सकिने स्थिति छैन,’ एमालेका एक शीर्ष नेता भन्छन्, ‘तर चुनावी सहकार्य र पार्टी एकतालाई केपी ओली र प्रचण्डले फेरि आफ्नो सङ्कट टार्ने अवसरका रूपमा लिँदै हुनुहुन्छ, यो अर्को सङ्कट हो।’
गत निर्वाचनमा रास्वपाको आँधीमय लहर चलेकाले त्यसबाट जोगिन पनि एमाले र नेकपाको तल्लो पङ्क्तिसम्म तालमेलका निम्ति तयार देखिन्छ। ‘हाम्रा मुख्य नेताहरू सहमत हुनुहुन्छ, अहिलेको ड्यामेज कन्ट्रोल गर्नलाई मिलेर चुनाव लड्ने कुरा ठीकै पनि हो,’ नेकपाका नेता युवराज चौलागाईं भन्छन्, ‘बाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न चुनावी तालमेल आवश्यकता बन्न पुगेको छ।’
एमाले नेता विशाल भट्टराई पनि चुनावी तालमेलकै पक्षमा तर्क गर्छन्। ‘हामीबाट टाढा भएको जनमत फर्काउनुको विकल्प छैन, तालमेल गर्दा आउन सक्ने नतिजाले एउटा आधार सिर्जना गर्न सक्छ,’ भट्टराई भन्छन्, ‘मुद्दा मिल्ने दलहरू एक ठाउँ उभिनु आजको आवश्यकता नै बन्न पुग्यो।’
तर चुनावी तालमेल, वाम सहकार्य हुँदै एकतासम्म पुग्दा प्राप्त हुन सक्ने लाभ भने ओली र प्रचण्डले बढी पाउनेछन्। जबकि दुवै दलमा नेतृत्व पुनर्गठनको आवाज चर्को छ।
खासगरी एमालेमा ओलीको विकल्प खोज्ने पङ्क्ति ठूलो छ। तर ओलीले केन्द्रीय कमिटीको बहुमतलाई आधार देखाएर पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनसमेत अगाडि बढ्न दिएका छैनन्। चुनावी तालमेल र पार्टी एकता गर्दा यो सङ्कट टर्ने उनको बुझाइ छ।
‘एमाले कार्यकर्ताहरूलाई अहिले ओलीविरुद्ध लडिरहने कि पार्टी जोगाउनेतिर लाग्ने भन्ने सङ्कट आइलागेको छ,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘पार्टी जोगाउने हो भने सकेसम्म ड्यामेज कन्ट्रोलको विकल्पमा जानुपर्यो। स्थानीय सरकारहरू धेरै जित्नुपर्यो।’
उनको विश्लेषणमा एमालेको ठूलो पङ्क्ति दोधारमा छ। महासचिव पोखरेलले चुनावी तालमेललाई सकारात्मक मान्नु तर निर्णय नभएको भन्नुलाई यही अप्ठ्यारोका रूपमा बुझ्न सकिन्छ। ‘तालमेल गर्नुपर्छ होला भन्ने अनौपचारिक छलफलबाहेक औपचारिक छलफल र निष्कर्षमा पुगेको अवस्था छैन,’ महासचिव पोखरेलले भनेका छन्।
नेकपाका प्रवक्ता प्रकाश ज्वाला भने चुनावी तालमेल गर्ने कुराले पार्टी पुनर्गठनको बहस र प्रक्रियालाई अवरोध नगर्ने तर्क गर्छन्। ‘विचार, कार्यक्रम, नेतृत्व र सङ्गठन पुनर्गठन गर्ने गरी महाधिवेशनको गन्तव्यबाट हामी दायाँबायाँ भएका छैनौँ,’ उनी भन्छन्, ‘चुनावलगत्तै महाधिवेशन गर्ने हाम्रो निर्णय छ।’
नेकपाका नेता युवराज चौलागाईं पनि चुनावी तालमेलबाट पार्टी पुनर्गठनको एजेन्डा बरालिन नहुने बताउँछन्। ‘बाह्य प्रतिस्पर्धा जित्नलाई गरिने तालमेलले आन्तरिक पुनर्गठनलाई बेवास्ता गर्ने स्थिति आउनु राम्रो हुँदैन,’ उनी भन्छन्, ‘जनताको विश्वासिलो पार्टी बन्नलाई पुनर्गठन जरुरी छ, त्यसलाई छोडेर जाने कुरा अपुरो हुन्छ।’
एमाले नेत्री रचना खड्का त यथास्थितिमा गरिने तालमेल र एकताले नयाँ ऊर्जा नआउने बताउँछिन्। ‘नेतृत्व तहको निर्णयले विगतमा पनि एकता गरियो। किन सफल हुन सकेन भन्ने समीक्षा हुनुपर्छ,’ उनी भन्छिन्, ‘तर यथास्थितिमा गरिने कमजोरीहरूको एकताले कार्यकर्तामा ऊर्जा ल्याउँदैन, जनतामा विश्वास जाग्दैन।’
राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।