नेकपा संयोजक पुष्पकमल दाहालले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिएका छन् ।
उनले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास भए देश फेरि दुर्घटनामा जान सक्ने बताए ।
शनिबार भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै दाहालले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने बताए । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा फरक धारणा आएको बताए ।
दाहालले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्ने भनाइ राखे । उनले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी दिए ।
‘आजको राजनीतिक प्रतिस्पर्धा आमसभामा भाषण गर्नमा मात्र सीमित छैन । डिजिटल प्रविधि, सूचना प्रविधि र एआईको प्रयोग पनि उत्तिकै महत्त्वपूर्ण भइसकेको छ । त्यसैले पार्टीले आईटीको प्रयोगलाई संस्थागत र व्यापक बनाउँदै जनतासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहललाई समेत विस्तार गर्नुपर्छ,' उनले भने, 'निर्वाचनको नाममा संविधान र कानुन मिच्ने प्रयासले देशमा थप राजनीतिक संकट निम्त्याउन सक्ने भएकाले सबै राजनीतिक दल जिम्मेवार र सचेत हुन आवश्यक छ । ’