प्रतियोगितालाई लक्षित गर्दै आजदेखि प्रचारात्मक र्याली निकालिँदै छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार गर्ने र खेलप्रेमीमा उत्साह जगाउने उद्देश्यले र्याली आयोजना गर्न लागिएको हो।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीमा राष्ट्रिय खेलकुदको माहोल बनाउँदै छ। प्रतियोगितालाई लक्षित गर्दै आजदेखि प्रचारात्मक र्याली निकालिँदै छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा खेलकुद गतिविधि विस्तार गर्ने र खेलप्रेमीमा उत्साह जगाउने उद्देश्यले र्याली आयोजना गर्न लागिएको हो।
प्रतियोगिताअन्तर्गत ३२ खेलका प्रतिस्पर्धा कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको खेलस्थल विवरणअनुसार सुर्खेतमा सबैभन्दा धेरै २३ खेलका प्रतिस्पर्धा हुनेछन्। कर्णालीका सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा पनि खेल आयोजना हुनेछन्। त्यस्तै, महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल जुम्लामा खेलाइनेछन्।
सुर्खेतमा एथलेटिक्स, फुटबल, क्रिकेट, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुलकन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्टस् र सेपाकताक्रोका प्रतिस्पर्धा हुनेछन्। यी खेल वीरेन्द्रनगरस्थित मुख्य रंगशाला, कभर्डहल, सेनाको खेलमैदान, काँक्रेविहार र छिन्चुलगायत स्थानमा सञ्चालन हुनेछन्।
सुर्खेतबाहिर सल्यानको श्रीनगरमा जुडो र कुस्ती, दैलेखको नारायण कभर्डहलमा आईटीएफ तेक्वान्दो, कालीकोट कभर्डहलमा बुद्धिचाल र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता हुनेछ। त्यस्तै, जुम्लामा महिला तथा पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेलाइनेछन्।
लुम्बिनी प्रदेशको बाँकेको नेपालगन्जमा पौडी र सुटिङ तथा बर्दियामा टेनिस र महिला तथा पुरुष खो–खोका प्रतिस्पर्धा हुनेछन्। प्रतियोगिताका केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुनेछन्। औपचारिक उद्घाटन भने मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ। मंसिर ८ गतेदेखि २७ गतेसम्म खेल प्रतिस्पर्धा सञ्चालन हुने भएकाले कर्णालीले २० दिन राष्ट्रिय खेलकुदको आतिथ्य गर्नेछ। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। उनीहरूले ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न समिति गठन गरी तयारी अघि बढाइएको छ।
आजदेखि सुरु हुने प्रचारात्मक र्यालीमा विभिन्न जिल्लाका खेलाडी, विभागीय टोलीका प्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको सहभागिता रहनेछ। र्यालीमार्फत प्रतियोगिताको वातावरण निर्माण गर्नुका साथै कर्णालीमा खेलकुद गतिविधिलाई चलायमान बनाउने लक्ष्य रहेको उनले बताए।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।