Trending
Prev Story
Next Story

लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै महँगो गेम मानिएको यसले व्यावसायिक रूपमा पनि ठूलो सफलता हासिल गर्ने …

लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?

‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै महँगो गेम मानिएको यसले व्यावसायिक रूपमा पनि ठूलो सफलता हासिल गर्ने अनुमान गरिएको छ ।

तर, करिब ३० वर्ष पुरानो लोकप्रिय गेम शृंखलामा पहिलोपटक महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिनु पनि जीटीए ६ को विशेष पक्ष हो ।

गेममा यी पात्र ल्याटिन अमेरिकी मूलकी युवती लुसिया कामिनोस हुन् । अमेरिका, युरोप र बेलायतजस्ता ठूला बजारमा भिडियो गेम खेल्नेहरूमध्ये करिब ५० प्रतिशत महिला छन् ।

यति हुँदाहुँदै पनि लोकप्रिय भिडियो गेमका मुख्य पात्र र कथाहरू प्रायः पुरुषकै वरिपरि केन्द्रित रहँदै आएका छन् । पछिल्ला केही वर्षमा महिला पात्रलाई केन्द्रमा राखेर बनाइएका गेमको संख्या बढेको छ । तर, अझै पनि त्यस्ता गेमको संख्या तुलनात्मक रूपमा निकै कम छ ।

अमेरिकाको टेम्पल विश्वविद्यालयकी डा. एड्रिएन शाका अनुसार लुसिया कामिनोस गेमकी एक्ली मुख्य पात्र भने होइनन् । गेम खेल्दा खेलाडीले लुसिया र पुरुष पात्र जेसन डुभालमध्ये पालैपालो खेल्न पाउँछन् । जेसन लुसियाका प्रेमी हुन् र अपराधमा उनका साझेदार पनि ।

‘यसलाई लिएर धेरै उत्सव मनाउनबाट बच्न म सुझाव दिन्छु’ डा. शाले बीबीसी न्यूज वर्ल्ड सर्भिससँग भनिन्, ‘ग्रान्ड थेफ्ट अटोका निर्मातालाई महिला पनि मुख्य पात्र हुन सक्छन् भन्ने सोच्न ३० वर्ष लाग्यो ।’

अहिलेसम्म सार्वजनिक भएको जानकारी हेर्दा लुसिया निकै रोचक पात्र देखिन्छिन् । तर, जीटीए महिलाको दृष्टिकोणबाट बनाइएको गेम भने नभएको उनको भनाइ छ।

गेमको सुरुवातमा लुसिया आफ्ना प्रेमी तथा अपराधका साझेदार जेसन डुभालसँग सम्बन्धमा हुन्छिन् ।

गेम स्ट्रिमर तथा पोडकास्टर एथेना गार्सियाले बीबीसी न्यूज वर्ल्ड सर्भिससँग भनिन्, ‘मैले भिडियो गेम खेल्न सुरु गर्दा महिला मुख्य पात्र भएका गेम नै हुँदैनथे । महिला पात्रहरूलाई सधैं पुरुषले बचाउनुपर्ने अवस्थामा देखाइन्थ्यो ।’

गार्सियाले सन् २०१८ मा सार्वजनिक भएको ‘असासिन्स क्रिड ओडिसी’लाई लिएर भएको विवाद सम्झिइन् । उक्त गेममा कासान्द्रा नामकी महिला मुख्य पात्र हुने भनिएको थियो । तर, पुरुष खेलाडीले महिला पात्रका रूपमा गेम खेल्न नचाहने आशंकापछि निर्माताले पुरुष पात्रको विकल्प पनि समावेश गरेका थिए ।

गार्सिया प्रश्न गर्छिन्, ‘गेम बनाउने कम्पनीका अधिकारीहरूलाई पुरुष खेलाडीले महिला पात्रका रूपमा गेम खेल्न नचाहने डर थियो भनिन्छ । तर, महिलाले पुरुष पात्रका रूपमा गेम खेल्न चाहिँ किन हुन्छ ?’

उनका अनुसार गेममा लैङ्गिक र जातीय विविधता आवश्यक छ । महिला गेमरहरू पनि गेम खेल्दा रमाउन चाहन्छन्, ।

‘जीटीए 6 मा महिला मुख्य पात्र नभएको भए पनि म यो गेम खेल्थें’ गार्सिया भन्छिन्, ‘किनकि यो शृंखलाका गेममा सामान्यतया उत्कृष्ट पात्र र कथा हुन्छन् । तर, लुसियाजस्तो पात्र हुनु निकै राम्रो कुरा हो । यसले हामी पनि यो दुनियाँमा आफ्नो स्थान बनाउँदै छौं भन्ने देखाउँछ।’

सन् २०२३ मा ‘रोयल सोसाइटी ओपन साइन्स’ जर्नलमा प्रकाशित एक अध्ययनमा १३ हजारभन्दा बढी गेम पात्रको विश्लेषण गरिएको थियो । अध्ययनमा ती पात्रमध्ये ३० प्रतिशत महिला रहेको पाइएको थियो । तर, अध्ययनमा समावेश ५० मध्ये ४७ गेममा महिला पात्रको संवाद पुरुष पात्रको तुलनामा कम थियो ।

अध्ययनकी सहलेखिका तथा बेलायतको स्टर्लिङ विश्वविद्यालयकी डा. स्टेफनी रेनिकले बीबीसी न्यूज वर्ल्ड सर्भिससँग भनिन्, ‘ठूलो गेम निर्माण गर्ने स्टुडियोले अरूलाई पनि प्रेरित गर्न सक्ने काम गर्दा त्यसको महत्त्व हुन्छ ।’ जीटीएले फरक काम गर्नुले गेम निर्माताहरू अब थप सम्भावना खोज्न तयार छन् भन्ने देखाएको उनको भनाइ छ ।

अध्ययनका अर्का सहलेखक तथा बेलायतको कार्डिफ विश्वविद्यालयका डा. सीन जी रोबर्ट्स भने रकस्टार गेम्स (जीटीए निर्माण गर्ने कम्पनी) ले बजारको मागलाई पनि सम्बोधन गरिरहेको बताउँछन् ।

अमेरिकाको गिना डेभिस इन्स्टिच्युट (जीडीआई) ले सन् २०२४ मा अमेरिका र बेलायतका गेम खेल्नेहरूमाझ सर्वेक्षण गरेको थियो ।

हलिउड अभिनेत्री गिना डेभिसले मनोरञ्जन क्षेत्रमा सबै वर्ग र समुदायलाई समान स्थान दिने उद्देश्यले यो संस्थाको स्थापना गरेकी हुन् । सर्वेक्षणअनुसार ६० प्रतिशत पुरुष खेलाडी महिला पात्रलाई पनि खेल्न सकिने गेम खेल्न बढी इच्छुक हुने पाइएको थियो ।

डा. रोबर्ट्सका अनुसार गेम खेल्ने अधिकांश मानिस वयस्क हुन् । पछिल्ला अध्ययनले गेमरहरू गेममा थप विविधता चाहन्छन् भन्ने देखाएको छ ।

महिला पात्र हुनु मात्रै पर्याप्त हो ?

गिना डेभिस इन्स्टिच्युटको तथ्यांकअनुसार अमेरिकामा ४९ वर्षभन्दा माथिका ४५ प्रतिशत मानिस भिडियो गेम खेल्छन् । तर, गेममा त्यही उमेर समूहका पात्र निकै कम देखिन्छन् । उमेर पुगेका पात्रलाई पनि विविधतासहित प्रस्तुत नगरिने र त्यस्ता पात्रमध्ये अधिकांश गोरा पुरुष हुने संस्थाकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मेडलीन डी नोनो बताउँछिन् ।

लुसिया कामिनोस ल्याटिन अमेरिकी मूलकी पात्र हुन् । तर, उनी युवा उमेरकी छिन् ।

सन् २०२० मा सार्वजनिक भएको चर्चित गेम ‘द लास्ट अफ अस पार्ट २’ मा पनि महिला मुख्य पात्र छन्, जो समलैङ्गिक हुन् ।

‘सबैभन्दा महत्त्वपूर्ण दमदार कथा हो’

ब्राजिलका गेमर तथा लेखक आन्द्रे गोर्डिरो गेम निर्माण गर्ने कम्पनीले आफ्ना दर्शकमा भइरहेको परिवर्तन बुझ्नुपर्ने बताउँछन् ।

तर, गेम बनाउँदा पात्र र समुदायलाई समावेश गर्ने कुनै निश्चित सूचीअनुसार काम गर्न नहुनेमा उनी सचेत गराउँछन् । उनका अनुसार सांस्कृतिक सिर्जना गर्दा विविधता नै मुख्य उद्देश्य हुनु हुँदैन ।

‘सबैभन्दा महत्त्वपूर्ण कुरा कथा र पात्र बलियो हुनु हो’ उनले भने, ‘अन्यथा स्वाभाविक सिर्जना गर्नुको सट्टा तपाईं निश्चित सूत्रअनुसार गेम बनाउन थाल्नुहुन्छ ।’

यद्यपि, जीटीए शृंखलामा महिला पात्रलाई मुख्य भूमिकामा समावेश गर्न निकै ढिला भइसकेको उनको धारणा छ ।

गोर्डिरो भन्छन्, ‘हामी दोस्रो विश्वयुद्धमा मित्रराष्ट्रका सैनिकले युद्ध लडेको देखाउने गेमको कुरा गरिरहेका छैनौं । त्यो पुरुषसँग जोडिएको एउटा परिस्थिति हो ।’

जीटीए का कथाहरू अमेरिकाका अहिलेका सहरजस्तै देखिने दुनियाँमा घट्छन् । वास्तवमा लुसियाजस्ता पात्र यो शृंखलामा धेरै पहिले नै आउनुपर्ने थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
1d ago
‘जीटीए ६’ पहिलो दिनमै बिक्यो कीर्तिमानी ३.७९ अर्ब डलरमा

‘जीटीए ६’ पहिलो दिनमै बिक्यो कीर्तिमानी ३.७९ अर्ब डलरमा

रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्ममार्फत ३ करोड २५ लाख युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।

#गेम #जीटीए
Compare →

Related Stories

World News
Build #2612