रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्ममार्फत ३ करोड २५ लाख युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।
न्यूयोर्क — विश्वकै लोकप्रिय तथा प्रतिक्षित भिडियो गेम सिरिज ‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) को नयाँ संस्करण ‘जीटीए ६’ ले पहिलो दिनमै बिक्रीको नयाँ विश्व कीर्तिमान कायम गरेको छ । गेम निर्माता कम्पनी रकस्टार गेम्सका अनुसार बिहीबार सार्वजनिक भएको यो गेमले पहिलो दिनको खुद्रा बिक्री (रिटेल सेल्स) बाट मात्रै ३.७९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ ।
अघिल्लो संस्करण आएको १३ वर्षपछि बजारमा आएको यो संस्करणप्रति गेमरहरूको अत्यधिक माग थियो । रकस्टार गेम्सका अनुसार गेम सार्वजनिक हुनुअघि नै विभिन्न प्लेटफर्महरूमार्फत ३ करोड २५ लाख (३२.५ मिलियन) युनिट ‘प्रि–अर्डर’ भइसकेको थियो, जुन गेमिङ इतिहासकै अर्को कीर्तिमान हो ।
गेम सार्वजनिक भएपछि प्राप्त अभूतपूर्व सफलता र गेमरहरूको प्रतिक्रियाबाट आफूहरू निकै उत्साहित भएको कम्पनीका संस्थापक एवं अध्यक्ष साम हाउसले बताएका छन् । ‘विश्वभरका खेलाडीहरूबाट प्राप्त प्रतिक्रियाले हामीलाई अत्यन्तै खुशी दिलाएको छ । यो ऐतिहासिक क्षण तपाईंहरूसँग बाँड्न पाउनु हाम्रा लागि खुसीको कुरा हो,’ एक विज्ञप्ति जारी गर्दै अध्यक्ष हाउसले भनेका छन् ।
अघिल्लो संस्करण ‘जीटीए ५’ भन्दा निकै अगाडि
यो नयाँ लन्चले आफ्नै अघिल्लो संस्करण ‘जीटीए ५’ को कीर्तिमानलाई धेरै पछाडि छाडिदिएको छ । सन् २०१३ मा सार्वजनिक भएको ‘जीटीए ५’ ले सुरुवाती तीन दिनमा १ अर्ब डलर बराबरको बिक्री गरेको थियो ।
पब्लिसर टेक–टू इन्टरएक्टिभका अनुसार समग्र जीटीए सिरिजका हालसम्म ४७ करोड भन्दा बढी युनिट बिक्री भइसकेका छन्, जसमध्ये ‘जीटीए ५’ एक्लैले २३ करोड भन्दा बढी युनिटको योगदान दिएको छ । ‘जीटीए ५’ सर्वकालीन बढी बिक्री हुने भिडियो गेमहरूमध्ये पर्छ ।
बिहीबार रकस्टार गेम्सले आधिकारिक तथ्यांक सार्वजनिक गर्नुअघि, बजार अनुसन्धान संस्था ‘सेन्सर टावर’ ले ‘जीटीए ६’ ले लगभग २ करोड ४६ लाख युनिट बिक्री गर्दै २.३६ अर्ब डलर आम्दानी हुने अनुमान गरेको थियो । तर, रकस्टारले पछि सार्वजनिक गरेको विश्वव्यापी पहिलो दिनको बिक्रीको आफ्नै अनुमानित तथ्यांक त्योभन्दा धेरै निस्कियो । अमेरिकामा यो गेमको स्ट्यान्डर्ड एडिसनको खुद्रा मूल्य करिब ८० अमेरिकी डलर राखिएको छ ।
यसै महिनाको सुरुमा, प्लेस्टेशन ब्लगले ‘जीटीए ६’ आफ्नो स्टोरको इतिहासमै सबैभन्दा बढी प्रि–अर्डर गरिएको गेम बनेको घोषणा गरेको थियो । खेलाडीहरूको अत्यधिक मागलाई ध्यानमा राख्दै प्लेस्टेशन र रकस्टार गेम्सले संयुक्त रूपमा काम गरी गेम लन्च हुनुभन्दा ९ दिनअघि नै ‘प्रि–लोड’ (डाउनलोड गरेर राख्न सक्ने) सुविधा उपलब्ध गराएका थिए, ताकि खेलाडीहरूले पहिलो दिनमै सिधै खेल्न सकून् ।
१३ वर्षको प्रतीक्षा र नयाँ कथावस्तु
‘जीटीए ६’ अमेरिकी संस्कृति र जीवनशैलीलाई व्यंग्य गर्ने एक हाइपर–भ्वायोलेन्ट (अत्यधिक हिंसात्मक) र ओपन–वर्ल्ड भिडियो गेम हो । यसअघि न्युयोर्क र लस एन्जलसका काल्पनिक शहरहरूमा आधारित रहेको यो गेम यसपटक पुनः आफ्नै पुरानो र चर्चित मियामीको काल्पनिक रूप ‘भाइस सिटी’ मा फर्किएको छ ।
‘लेओनिडा’ नामक काल्पनिक राज्यमा आधारित यो गेमको मुख्य कथा लुसिया क्यामिनोस र जेसन डुभल नामका एक जोडीको वरिपरि घुमेको छ, जो अपराधको माध्यमबाट आफ्नो स्थिति सुधार्ने प्रयास गरिरहेका छन् ।
गेमका सुरुवाती समीक्षाहरूका अनुसार, जीटीए सिरिजको पहिचान बनेको बन्दुकको भिडन्त, बैंक डकैती र लुटपाटसँगै यसपटक पात्रहरूबीचको आत्मीय सम्बन्धमा अझ बढी जोड दिइएको छ ।
यो गेमको लन्चसँगै विगत केही वर्षदेखि गोप्य राखिएको यसका कलाकारहरूको सूची पनि सार्वजनिक भएको छ । जसमा लुसियाको भूमिकामा म्यानी एल पेरेज र जेसनको भूमिकामा डीएन रोर्क रहेका छन् ।
अन्य कलाकारहरूमा बबी मोयनिहान, स्टेफन रुट, ट्यारिन म्यानिङ, रोजेलिन सान्चेज र र्यापर डेन्जेल करी जस्ता चर्चित नामहरू यस गेमका विभिन्न पात्रको आवाज र अभिनयमा जोडिएका छन् ।