Trending
Prev Story
Next Story

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

Nagarik News •
November 18, 2026 • 11:26 AM
2
2 reads 0 reactions

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

रिलिज हुनुअघि नै प्री-अर्डरबाट १ अर्ब ५४ करोड अमेरिकी डलरभन्दा बढी कमाइ गरिसकेको छ।

दुबईको बुर्ज खलिफाभन्दा महँगो बजेटमा बनेको चर्चादेखि लिएर ठूला प्रविधि कम्पनीहरूले कर्मचारीलाई पाँच दिनसम्म ‘बिजनेस ट्रिप’ को नाममा बिदा दिने अनौठो निर्णयले जीटीए ६ को क्रेज कति विशाल छ भन्ने प्रस्ट पार्छ।

जीटीए ६ सार्वजनिक हुने दिन विश्वभरका लाखौं कर्मचारीले बहाना बनाएर बिदा लिन सक्ने आकलन पहिल्यै गरिएको थियो। गेमस्क्वायरले एक हजार पूर्णकालीन अमेरिकी गेमरमाझ गरेको सर्वेक्षणअनुसार १० प्रतिशत कर्मचारीले बिहीबार काम छल्ने योजना बनाएका छन्।

मानव संसाधन प्लेटफर्म ‘ब्याम्बुएचआर’ का अनुसार नोभेम्बर १९ का लागि बिदाको निवेदन सामान्य बिहीबारको तुलनामा १३ प्रतिशतले बढेको छ।

यही सम्भावित बिरामी बिदाको लहरलाई ध्यानमा राख्दै कतिपय अन्तर्राष्ट्रिय कम्पनीहरूले आफैँ कर्मचारीलाई छुट्टी घोषणा गरेका छन्। चर्चित गेम ‘पालवर्ल्ड’ को निर्माता जापानी स्टुडियो पकेटपेयरले आफ्ना सबै कर्मचारीलाई नोभेम्बर १९ देखि २३ सम्म पाँच दिनको विशेष भाइस सिटी बिजनेस ट्रिप बिदा दिएको छ।

पकेटपेयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ताकुरो मिजोबेले सामाजिक सञ्जाल ‘एक्स’ मा आफू पनि जीटीए ६ खेल्न केही समय ब्रेक लिने बताएका छन्।

हार्डवेयर तथा गेमिङ सामग्री निर्माता कम्पनी ‘लजिटेक’ ले पनि नोभेम्बर १९ लाई ‘लोगी गेम डे’ घोषणा गर्दै आफ्ना ७ हजारभन्दा बढी कर्मचारीलाई तलबसहितको अतिरिक्त बिदा दिएको छ।

लजिटेककी सीईओ हानेके फेबरले गेमिङलाई समयको बर्बादी ठान्ने पुरानो सोच त्याग्नुपर्ने बताउँदै खेल र कामबीच सकारात्मक सम्बन्ध रहेको उल्लेख गरिन्। कम्पनीको अध्ययनअनुसार ८१ प्रतिशत गेमरले गेम खेल्दा वास्तविक जीवनमा आत्मविश्वास बढ्ने र तनाव घट्ने विश्वास गर्छन्।

त्यस्तै, भारतीय फर्निचर कम्पनी इन्डे बाई चेयर्सकार्टेका संस्थापक तथा सीईओ किशोर सण्मुगमले पनि नोभेम्बर १९ मा सबै कर्मचारीलाई बिदा दिएका छन्।

बेलायतको ‘र्‍याप्टर पीआर’, क्यानडाको ‘एडिसन मोटर्स’ र अमेरिकाको जर्जियास्थित एक सैन्य इन्जिनियर बटालियनले समेत जीटीए ६ सँग जोडेर कर्मचारी तथा सदस्यलाई विशेष छुट्टीको सुविधा दिएका छन्।

नेपालमा भोलि कति बजे र कसरी खेल्न पाइन्छ ?

रकस्टार गेम्सका अनुसार जीटीए ६ एकै समयमा नभई हरेक देश वा क्षेत्रको स्थानीय समयअनुसार नोभेम्बर १९ को मध्यरात १२ बजे अनलक हुनेछ।

विश्वको पूर्वी कुना न्युजिल्यान्डमा सबैभन्दा पहिले मध्यरात १२ बजे गेम खुल्नेछ। यो नेपाली समय अनुसार बुधबार साँझ ४ बजे हो। र त्यसपछि क्रमशः पश्चिमतिरका देशहरूमा अनलक हुँदै जानेछ।

त्यसैले डिजिटल माध्यमबाट गेम किनिसकेका नेपाली प्रयोगकर्ताले पनि स्थानीय समयअनुसार मध्यरात १२ बजेपछि अर्थात् भोलि बिहीबारबाट निर्बाध खेल्न पाउनेछन्।

यद्यपि, सबै डिभाइसमा यो गेम उपलब्ध हुनेछैन। तत्कालका लागि जीटीए ६ ‘प्लेस्टेसन ५’  तथा एक्सबक्स सिरिज एक्स/एस कन्सोलमा मात्र खेल्न सकिनेछ।

एक्सबक्स वान प्रयोगकर्ताले भने माइक्रोसफ्टको क्लाउड गेमिङमार्फत तोकिएको विश्वव्यापी समयमा मात्र पहुँच पाउनेछन्। रकस्टार गेम्सले पीसी संस्करण कहिले आउँछ भन्नेबारे अहिलेसम्म कुनै औपचारिक मिति घोषणा गरेको छैन।

पछिल्लो पुस्ताका कन्सोलमा उत्कृष्ट ग्राफिक्स र विस्तृत संसार समेटिएको हुँदा यो गेमको फाइल साइज निकै ठूलो छ। प्लेस्टेसन स्टोर र एक्सबक्स स्टोरबाट डाउनलोड गर्न प्रयोगकर्ताको कन्सोलमा करिब २१२ जीबी खाली स्टोरेज आवश्यक पर्छ।

नोभेम्बर १० बाटै प्री-लोड खुला गरिसकिएको यो गेम कन्सोलमा प्रतिसेकेन्ड ३० फ्रेम गतिमा चल्ने कम्पनीले जनाएको छ। रमाइलो पक्ष के छ भने भौतिक पसलमा किनिने स्ट्यान्डर्ड बक्सभित्र समेत डिस्कको सट्टा डिजिटल डाउनलोड कोड मात्र राखिएको छ।

मूल्यका हिसाबले यसको स्ट्यान्डर्ड संस्करणको मूल्य ७९.९९ अमेरिकी डलर र अल्टिमेट संस्करणको ९९.९९ डलर आसपास तोकिएको छ।

तर, रकस्टारले सार्वजनिक गरेको ३९९.९९ डलरको ‘गुडटाइम स्टेट- भाइस सिटी कलेक्सन’ नामक कलेक्टर्स बक्समा भने ओक्ले चस्मा, म्याका द गेटरको मूर्ति, लियोनिडाको नक्सा पोस्टरसहित ११ वटा सामग्री भए पनि मुख्य गेम नै समावेश छैन।

जीटीए ६ को चर्चा चुलिनुको एउटा प्रमुख कारण यसको निर्माण लागत हो। सन् २०२५ को जुलाईमा गल्फ न्युजले दुबईको गगनचुम्बी भवन बुर्ज खलिफा बनाउन १ अर्ब ५० करोड डलर लागेको र जीटीए ६ को बजेट २ अर्ब डलर पुगेको दाबी गरेपछि सामाजिक सञ्जालमा यो तुलना भाइरल बनेको थियो।

तर, अक्टोबर २०२६ मा ब्लुमबर्गसँगको विशेष अन्तर्वार्तामा रकस्टार गेम्सकी प्रकाशन प्रमुख जेनिफर कोल्बेले गेमको लागत १ अर्ब ५० करोड डलरभन्दा बढी नभएको स्पष्ट पारिन्।

कोल्बेले वास्तविक बजेट रकम गोप्य राखे पनि प्यारेन्ट कम्पनी टेक-टु इन्टरएक्टिभका सीईओ स्ट्राउस जेल्निकले गेम महँगो भएको स्वीकार गरेका छन्।

बिजनेस इन्साइडरका अनुसार उद्योग विश्लेषकहरूले यसको विकास खर्च १ अर्बदेखि झन्डै १ अर्ब ५० करोड डलरबीच रहेको अनुमान गरेका छन्। यसले जीटीए ६ लाई हालसम्मकै सर्वाधिक महँगो भिडियो गेम बनाएको मानिन्छ।

लागत जति भए पनि व्यापारिक हिसाबले जीटीए ६ ले रिलिजअघि नै ऐतिहासिक कीर्तिमान कायम गरिसकेको छ।

बजार अनुसन्धान संस्था सेन्सर टावरको पछिल्लो तथ्याङ्कअनुसार नोभेम्बर १७ सम्म डिजिटल प्री-अर्डरमार्फत मात्र १ करोड ५८ लाख ८० हजार प्रति बिक्री भई १ अर्ब ५४ करोड डलर कुल आम्दानी भइसकेको छ।

यो अघिल्लो सर्वाधिक प्री-अर्डर कीर्तिमान राख्ने ‘साइबरपङ्क २०७७’ को तुलनामा दोब्बर हो। कुल प्री-अर्डरमध्ये ७५ प्रतिशत पीएस ५ मा र २५ प्रतिशत एक्सबक्समा भएको सेन्सर टावरले जनाएको छ।

टेक-टु इन्टरएक्टिभले मार्च २०२७ मा सकिने आर्थिक वर्षमा ८ अर्बदेखि ८ अर्ब २० करोड डलरसम्म कुल बुकिङ हुने प्रक्षेपण गरेको छ।

सन् २०१३ मा ‘जीटीए ५’ सार्वजनिक हुँदा जन्मिएका बालबालिका अहिले १३ वर्षका भइसकेका छन्। शृङ्खलाको इतिहासमा १३ वर्षको सबैभन्दा लामो अन्तरालपछि आउन लागेकाले पनि विश्वभरका गेमरमा अभूतपूर्व उत्साह देखिएको हो।

पहिलो ट्रेलरले २४ घण्टामै युट्युबमा ९ करोड ४ लाख २१ हजारभन्दा बढी भ्युज पाउँदै गिनिज वर्ल्ड रेकर्ड राखेको थियो भने दोस्रो ट्रेलरले पहिलो दिनमै सबै प्लेटफर्ममा गरी ४७ करोड ५० लाख भ्युज बटुलेको थियो।

जीटीए ६ को कथा अमेरिकाको फ्लोरिडा राज्यबाट प्रेरित काल्पनिक राज्य लियोनिडामा सेट गरिएको छ। यसभित्र मियामीजस्तै रंगीन ‘भाइस सिटी’, सिमसार क्षेत्र ‘ग्रासरिभर्स’, ‘माउन्ट कालागा’, ‘लियोनिडा किज’, ‘पोर्ट गेलहर्न’ र ‘एम्ब्रोसिया’ जस्ता विविध भौगोलिक क्षेत्र समेटिएका छन्।

यस संस्करणको सबैभन्दा ठूलो आकर्षण यसका दुई मुख्य पात्र लुसिया कामिनोस र जेसन डुभाल हुन्। जीटीए शृङ्खलाको मुख्य इतिहासमा पहिलो पटक लुसियाका रूपमा खेल्न मिल्ने महिला मुख्य पात्र प्रस्तुत गरिएको छ। सन् १९३० को दशकको कुख्यात अमेरिकी अपराधी जोडी बोनी एन्ड क्लाइडबाट प्रेरित यो जोडी एक आपराधिक प्रेमकथामा बाँधिएको छ।

रकस्टारले लुसिया र जेसनलाई दुई छुट्टाछुट्टै पात्रका रूपमा मात्र नभई वास्तविक जोडीका रूपमा अनुभव गराउन जटिल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रणाली विकास गरेको छ।

खेलाडीले यी दुई पात्रलाई लिएर सँगै पसल लुट्ने, प्रहरीबाट भाग्ने मात्र होइन, सँगै जिम जाने, सन्देश पठाउने र पार्कमा हात समातेर हिँड्ने जस्ता स्वाभाविक गतिविधि गर्न सक्छन्।

गेमको संसारलाई जीवन्त बनाउन रकस्टारका कला उपाध्यक्ष ओवेन सेफर्डका अनुसार ६ फरक क्षेत्रमा स्थानीय आँधीबेहरी, हुरीबतास र कुहिरोसहितको गतिशील मौसम प्रणाली राखिएको छ।

गेम इन्फर्मरका अनुसार लियोनिडाको जङ्गल र समुद्रमा ६० भन्दा बढी प्रजातिका चराचुरुङ्गीसहित १७० भन्दा धेरै वन्यजन्तु भेटिनेछन्।

त्यस्तै, सडकमा हिँड्ने सामान्य पात्र (एनपीसी) हरूको संवाद र व्यवहार लेख्नकै लागि रकस्टारले अमेरिकाको लस एन्जलसमा छुट्टै स्टुडियोसमेत स्थापना गरेको थियो।

आज विश्व मनोरञ्जन जगतकै शक्तिशाली ब्रान्ड बनेको ‘ग्र्यान्ड थेफ्ट अटो’ को सुरुवात सन् १९९७ मा एक सामान्य ‘टप-डाउन’ पीसी गेमका रूपमा भएको थियो।

ओपन-वर्ल्ड विधाको सुरुवाती प्रयोगमध्ये एक मानिने उक्त गेममा खेलाडीलाई सहरभित्र स्वतन्त्र रूपमा घुम्ने, गाडी चोर्ने र विभिन्न अपराधका मिसन पूरा गर्ने छुट दिइएको थियो।

तर, यो शृङ्खलाले वास्तविक क्रान्ति सन् २००१ मा ‘जीटीए ३’ बाट ल्यायो, जसले गेमलाई दुई-आयामिकबाट थ्री-डी संसारमा रूपान्तरण गर्‍यो। त्यसको एक वर्षपछि २९ अक्टोबर २००२ मा जीटीए - भाइस सिटी आयो, जसले सन् १९८० को दशकको नियोन बत्ती, फेसन र संगीतले भरिएको मियामीको झल्को दियो।

२६ अक्टोबर २००४ मा आएको जीटीए - सान एन्ड्रियासले नक्साको आकार झनै विशाल बनाउँदै घर किन्ने, पात्रको शरीर र कपाल बदल्ने तथा सवारीसाधन परिमार्जन गर्ने सुविधा थप्यो।

२९ अप्रिल २००८ मा सार्वजनिक भएको जीटीए ४ ले नयाँ रेज गेम इन्जिन र युरोफोरिया फिजिक्स प्रविधि भित्र्याउँदै यथार्थपरक ड्राइभिङ र कथावस्तु प्रस्तुत गर्‍यो।

त्यसपछि सन् २०१३ मा आएको जीटीए ५ ले माइकल, फ्र्याङ्कलिन र ट्रेभर गरी तीन पात्रबीच स्विच गरेर खेल्न मिल्ने नवीन शैली ल्यायो। जीटीए अनलाइनको सुरुवातसँगै यो गेम विश्वभरका खेलाडी एकैसाथ जोडिने सामाजिक मञ्च बन्यो।

जीटीए ५ ले रिलिजको तीन दिनमै १ अर्ब डलर कमाएको थियो भने हालसम्म २३ करोड प्रतिभन्दा बढी बिक्री भई टेट्रिस र माइनक्राफ्टपछि विश्वकै तेस्रो सर्वाधिक बिक्री हुने गेम बनेको छ।

यसको लोकप्रियता कतिसम्म फैलियो भने ‘ट्वीच’ मा सर्वाधिक हेरिने शीर्ष गेम बन्नुका साथै गेमरहरूले जीटीए भर्चुअल संसारभित्रै सेक्सपियरको प्रसिद्ध नाटक ‘ह्याम्लेट’ समेत मञ्चन गरे। समग्रमा जीटीए शृङ्खलाको कुल बिक्री ५० करोड प्रति नजिक पुगेको छ।

जीटीए ६ को निर्माण यात्रा सजिलो थिएन। ब्लुमबर्गका पत्रकार जेसन श्रेयरको प्रतिवेदनअनुसार रकस्टारका वरिष्ठ अधिकारीहरूले सन् २०१५ मै मियामीको स्थलगत भ्रमण गरी ‘प्रोजेक्ट अमेरिकाज’ कोडनेममा काम थालेका थिए।

सुरुमा उत्तर र दक्षिण अमेरिकाका विशाल भूभाग समेट्ने योजना रहे पनि पछि गुणस्तर र गहिराइमा ध्यान दिन भाइस सिटी र लियोनिडामा सीमित गरिएको थियो।

सन् २०१८ मा ‘रेड डेड रिडेम्प्सन २’ रिलिज भएपछि र सह-संस्थापक ड्यान हाउजरले कम्पनी छाडेपछि जीटीए ६ को नेतृत्व रब नेल्सन, आरोन गारबुट र फिल हुकर गरी तीन प्रमुखले सम्हाले।

अन्य गेमिङ कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका बेला रकस्टारले भने विश्वभरका १२ कार्यालयमा कर्मचारी संख्या २ हजार ४४१ बाट झन्डै दोब्बर बढाएर ४ हजार ७११ पुर्‍यायो, जसमा भारतमा समेत ठूलो विस्तार भएको छ। कर्मचारीलाई अत्यधिक कार्यबोझबाट जोगाउन अतिरिक्त समयको तलब र बिदा दिने नीति लिइएको थियो।

सन् २०२२ को सेप्टेम्बरमा रकस्टारले इतिहासमै सबैभन्दा ठूलो सुरक्षा झट्का बेहोर्नुपर्‍यो। एक १७ वर्षीय ह्याकरले होटेलको कोठाबाटै केवल मोबाइल फोन, होटेलको टिभी र फायर टिभी स्टिकको मद्दतले निर्माणाधीन जीटीए ६ का ९० वटा गोप्य भिडियो अनलाइनमा लिक गरिदिएका थिए।

त्यसपछि कोभिड-१९ महामारीको असर र प्रविधिलाई अझ निखार्ने उद्देश्यले कम्पनीले सन् २०२५ को लक्ष्यलाई पहिले मे २०२६ र पछि नोभेम्बर १९, २०२६ सम्म सार्नुपरेको थियो।

लोकप्रियतासँगै जीटीए शृङ्खला सधैँ नैतिक विवादको केन्द्रमा रहँदै आएको छ। खेलभित्र बैंक लुट्ने, अपहरण गर्ने, वान्टेड लेभल बढाएर प्रहरीसँग भिड्ने, हेलिकप्टर र विमान चलाउने जस्ता आपराधिक गतिविधिलाई आकर्षक देखाइएकाले यसले वास्तविक जीवनमा हिंसालाई प्रोत्साहन गरेको आरोप आलोचकहरूले लगाउने गरेका छन्।

कतिपय बहसहरूमा ८ वर्षका बालकले गरेको गोली प्रहारजस्ता वास्तविक घटनासँग समेत यसलाई जोड्ने गरिएको छ।

तर, आजसम्म कुनै पनि ठोस वैज्ञानिक अनुसन्धानले जीटीए खेलेकै कारण मानिस हिंसात्मक अपराधमा संलग्न हुन्छन् भन्ने पुष्टि गर्न सकेको छैन। विज्ञहरूले यस्तो आधारहीन धारणालाई ‘ग्र्यान्ड थेफ्ट फलसी’ नाम दिएका छन्। वास्तविक संसारको हिंसा सामाजिक, आर्थिक र मनोवैज्ञानिक जस्ता अनेकौं जटिल कारणले हुने विज्ञहरूको तर्क छ।

विवाद जे भए पनि सामाजिक सञ्जालको एल्गोरिदम र आक्रोशमुखी बहसले जीटीएलाई झनै फाइदा पुर्‍याएको छ।

खेल मन नपराउने र आलोचना गर्नेहरूले समेत अनजानमै यसको प्रचार गरिरहेका हुन्छन्। फलस्वरूप, आज जीटीए ६ केवल एउटा भिडियो गेम मात्र नभई एभेन्जर्स फिल्म वा विश्वकपजस्तै विश्वलाई एकै समयमा जोड्ने पप कल्चरको विशाल उत्सव बनेको छ।

भोलिबाट जीटीए ६ खेल्न चाहने नेपाली गेमरले आधिकारिक प्लेस्टेसन वा एक्सबक्स डिजिटल स्टोरबाट मात्र गेम खरिद गर्नु सुरक्षित हुनेछ। फिजिकल बक्स किन्दा समेत कोडको क्षेत्र (रिजन लक) र कम्तीमा २१२ जीबी खाली स्पेस तथा तीव्र गतिको इन्टरनेट सुनिश्चित गर्नुपर्ने हुन्छ।

साथै, झन्डै चार सय डलर पर्ने कलेक्टर्स बक्समा गेम नहुने भएकाले खरिद गर्नुअघि विवरण राम्ररी जाँच्न रकस्टार स्टोरले नै सचेत गराएको छ।

प्रकाशित: २ मंसिर २०८३ १७:११ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
माइक्रोसफ्ट ३६५ को नक्कली आउटेज सूचनामार्फत विश्वभर फिसिङ आक्रमण, सतर्क रहन आग्रह

माइक्रोसफ्ट ३६५ को नक्कली आउटेज सूचनामार्फत विश्वभर फिसिङ आक्रमण, सतर्क रहन आग्रह

एजेन्सी । कार्यालयका इमेल छुटेको वा हराएको चेतावनी दिँदै साइबर अपराधीहरूले व्यावसायिक खाताहरूमा पहुँच बनाउने नयाँ जुक्ति अपनाइरहेका छन् । माइक्रोसफ्टले विश्वभरका विभिन्न उद्योग तथा संस्थाहरूलाई लक...

#विश्वभर
Compare →
Bizshala
2d ago
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गतेसम्म मात्रै, एक लाखसम्म पक्का पुरस्कार जित्ने अवसर

काठमाण्डौ । बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो ?’ अभियान मंसिर ४ गते समाप्त हुने भएको छ।...

#गेम
Compare →
Ekantipur
1w ago
विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् ।

#विश्वभर
Compare →

Related Stories

Sports
Build #2612