Trending
Prev Story
Next Story

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

Ekantipur •
November 04, 2026 • 02:01 PM
1
1 reads 0 reactions

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् ।

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् ।

विश्वभर घरायसी काममा संलग्न पाँचमध्ये चारभन्दा बढी श्रमिक अझै अनौपचारिक क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले जनाएको छ । उनीहरूले न्यूनतम श्रम अधिकार, उचित पारिश्रमिक र सामाजिक सुरक्षासमेत पाउन सकेका छैनन् । आईएलओले घरेलु श्रमिकसम्बन्धी महासन्धि, २०११ (नम्बर १८९) पारित भएको १५ वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।

प्रतिवेदनअनुसार विश्वभर १५ वर्ष वा सोभन्दा बढी उमेरका ८ करोड घरेलु श्रमिक छन् । सन् २०१९ मा यो संख्या ७ करोड ५६ लाख थियो । घरेलु श्रमिकको संख्या बढे पनि कुल रोजगारीमा उनीहरूको हिस्सा भने खासै परिवर्तन भएको छैन । अहिले कुल रोजगारीको २.२ प्रतिशत र तलब लिएर काम गर्ने श्रमिकको ४.४ प्रतिशत घरेलु श्रमिक छन् ।

सन् २०१९ र २०२५ को तथ्यांक तुलना गर्दा १४० देशमध्ये ९१ देशमा घरेलु श्रमिकको अनौपचारिक रोजगारी घटेको वा स्थिर रहेको छ । यी देशमा विश्वभरका करिब ७० प्रतिशत घरेलु श्रमिक कार्यरत छन् । तर बाँकी ४९ देशमा अनौपचारिक रोजगारीको अनुपात बढेको छ । केही देशमा सुधार भए पनि विश्वभरका ६ करोड ६५ लाख घरेलु श्रमिक अझै अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन् । यो कुल घरेलु श्रमिकको ८३.१ प्रतिशत हो ।

सन् २०१९ को तुलनामा अनौपचारिक क्षेत्रमा काम गर्ने घरेलु श्रमिकको संख्या ५१ लाखले बढेको छ । घरेलु श्रमिकको संख्या धेरै भएका र अनौपचारिक रोजगारीको दर उच्च रहेका देशमा श्रमिकको संख्या थपिँदै गएकाले विश्वव्यापी रूपमा अनौपचारिक श्रमिकको संख्या बढेको आईएलओको भनाइ छ ।

विश्वभरका घरेलु श्रमिकमध्ये करिब आधा एसिया तथा प्रशान्त क्षेत्रमा छन् । यस क्षेत्रमा ४ करोड २० लाख घरेलु श्रमिक कार्यरत छन् । सन् २०१९ देखि २०२५ सम्म अफ्रिकामा घरेलु श्रमिकको संख्या सबैभन्दा धेरै बढेको छ । यस अवधिमा थप ४२ लाख घरेलु श्रमिक थपिएका छन् । तर अफ्रिकामा ९३.३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा काम गरिरहेका छन् । अरब राष्ट्रहरूमा पनि घरेलु श्रमिकको अनौपचारिक रोजगारी लगभग सबैजसोमा छ ।

युरोप तथा मध्य एसियामा घरेलु श्रमिकको अनौपचारिक रोजगारीको दर तुलनात्मक रूपमा कम छ । तैपनि त्यहाँका तीनमध्ये एकभन्दा बढी घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा छन् । अमेरिकी क्षेत्रमा भने घरेलु काममा महिलाको सहभागिता सबैभन्दा बढी छ ।

अन्य श्रमिकको तुलनामा आधाभन्दा कम तलब

घर सफा गर्ने, खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने तथा अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने काम घरेलु श्रमिकले गर्छन् । घरपरिवारको दैनिक जीवन सञ्चालनमा उनीहरूको भूमिका महत्त्वपूर्ण भए पनि कामअनुसारको पारिश्रमिक र सुविधा पाउन सकेका छैनन् ।

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकले अन्य तलबभोगी श्रमिकको तुलनामा औसतमा ५३.३ प्रतिशत मात्रै मासिक पारिश्रमिक पाउँछन् । अनौपचारिक क्षेत्रमा काम गर्ने घरेलु श्रमिकले त झन् ४८.७ प्रतिशत मात्रै पाउँछन् । सन् २०१९ मा घरेलु श्रमिकले अन्य श्रमिकको औसत मासिक तलबको ५६.४ प्रतिशत पाउँथे । पछिल्लो तथ्यांकमा यो अनुपात घटेको छ ।

यसको अर्थ घरेलु श्रमिकको तलब सबै देशमा घटेको भने होइन । धेरै देशमा उनीहरूको तलब बढे पनि अन्य श्रमिकको तुलनामा कम दरले बढेको हो । घरेलु श्रमिक धेरै भएका र तलबमा ठूलो अन्तर रहेका देशको प्रभावले पनि विश्वव्यापी औसत घटेको आईएलओले जनाएको छ । घरेलु श्रमिकले लामो समय काम गर्नुपर्ने समस्या पनि उत्तिकै छ । विश्वभरका ३५.२ प्रतिशत घरेलु श्रमिक सातामा कम्तीमा ४९ घण्टा काम गर्छन् । त्यसमध्ये १४.६ प्रतिशतले सातामा ६० घण्टा वा त्योभन्दा बढी काम गर्छन् ।

अर्कोतर्फ, केही घरेलु श्रमिकले अत्यन्तै थोरै समय मात्रै काम पाउने गरेका छन् । कतिपयले एउटै घरमा पर्याप्त काम नपाउँदा विभिन्न घरमा टुक्रा–टुक्रा समय काम गर्नुपर्ने अवस्था छ ।

घरेलु काममा महिलाको सहभागिता पुरुषको भन्दा धेरै छ । विश्वभरका घरेलु श्रमिकमध्ये ७७.२ प्रतिशत महिला छन् । उनीहरू मुख्यतः घर सफा गर्ने र प्रत्यक्ष रूपमा मानिसको हेरचाह गर्ने काममा संलग्न छन् । तर पारिश्रमिकमा पनि महिलामाथि विभेद छ । महिला घरेलु श्रमिकले अन्य तलबभोगी श्रमिकको औसत मासिक तलबको ४८ प्रतिशत मात्रै पाउँछन् । पुरुष घरेलु श्रमिकले भने ६५.८ प्रतिशत पाउने गरेका छन् ।

आईएलओको अनौपचारिक श्रम शाखाका प्रमुख प्याट्रिक बेल्सरले केही देशमा घरेलु श्रमिकको अवस्था सुधार भए पनि अझै ठूलो संख्यामा श्रमिक अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित रहेको बताए । ‘६ करोड ६० लाखभन्दा बढी घरेलु श्रमिक अझै अनौपचारिक क्षेत्रमा छन् । उनीहरूको पारिश्रमिक पनि अन्य श्रमिकको तुलनामा पछाडि पर्दै गएको छ । त्यसैले धेरै काम गर्न बाँकी छ,’ उनले भने ।

हेरचाहको कामलाई महत्त्व दिने हो भने त्यो काम गर्ने श्रमिकको पनि उचित मूल्यांकन हुनुपर्ने उनको भनाइ छ । सबै घरेलु श्रमिकलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा, मर्यादित कार्य वातावरण र प्रभावकारी कानुनी संरक्षण दिनुपर्ने उनले बताए ।

‘कानुन बनाएर मात्रै हुँदैन, कार्यान्वयन पनि चाहिन्छ’

घरेलु श्रमिकको अधिकार सुनिश्चित गर्न आईएलओले महासन्धि नम्बर १८९ र सिफारिस नम्बर २०१ कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेको छ ।

अनौपचारिक क्षेत्रमा काम गर्ने घरेलु श्रमिकलाई सरकारी प्रणालीमा दर्ता गर्ने, सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने र उनीहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने आईएलओको सुझाव छ ।

त्यसैगरी, काम गर्ने समय र विश्रामको अधिकार सुनिश्चित गर्ने, सीपको पहिचान तथा प्रमाणीकरण गर्ने र घरेलु श्रमिकका लागि मर्यादित रोजगारी सिर्जना गर्न लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । श्रम कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने व्यवस्था प्रभावकारी बनाउन तथा श्रमिक र रोजगारदाताबीच छलफल र सामूहिक सौदाबाजीको अवसर विस्तार गर्न पनि आईएलओले आग्रह गरेको छ ।

विश्वमा जनसंख्याको संरचना परिवर्तन हुँदै गएको, वैदेशिक बसाइँसराइ बढेको र डिजिटल प्रविधिले कामको प्रकृति बदलिरहेको अवस्थामा हेरचाह सेवाको आवश्यकता पनि बढ्दै गएको छ । यस्तो अवस्थामा घरेलु श्रमिकलाई मर्यादित काम र उचित सुविधा दिनु लैंगिक समानता, दिगो हेरचाह प्रणाली र सामाजिक न्यायका लागि महत्त्वपूर्ण रहेको आईएलओले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश गर्न थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार न...

#सुरक्षा #क्षेत्रमा
Compare →
Onlinekhabar
1d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सुरक्षा #क्षेत्रमा
Compare →
Nagarik News
5h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सुरक्षा
Compare →
Bizshala
15h ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#विश्वभर
Compare →

Related Stories

World News
Build #2611