काठमाण्डौ । नेपालमा मासिक रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।
यसअघि गत वैशाखमा एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो। असोजको आप्रवाहले उक्त कीर्तिमान उछिनेको छ। चालु वर्षको भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने गत आर्थिक वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।
असोजमा उच्च आप्रवाहसँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको कुल रेमिट्यान्स ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशत बढी हो। अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्सको वृद्धिदर ३५.४ प्रतिशत थियो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिको रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा डलरमा रेमिट्यान्सको वृद्धिदर २९.२ प्रतिशत थियो।
यसैगरी, समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्स्फर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकको विवरणअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख २१ हजार ८७९ रहेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या भने ८२ हजार ३६९ छ।
अघिल्लो वर्षको सोही अवधिमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ थियो। यस आधारमा नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि पुनः स्वीकृति लिनेको संख्या बढेको देखिएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।