३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा शोधनान्तर बचत ३ खर्ब पुगेको छ । रेमिट्यान्स र आयातमा आएको सुधारले शोधनान्तर बचत बढेको हो ।
चालु आवको असोजमा शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८८ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
चालु आर्थिक वर्षको भदौ महिनामा १ खर्ब ६९ अर्ब बचतमा थियो । एक महिनाको अवधिमा करिब डेढ खर्बले शोधनान्तर बचत बढेको हो ।
चालु आर्थिक वर्षको असोज महिनामा रेमिट्यान्स आप्रवाह २७ प्रतिशतले बढेको छ । त्यसैगरी सो अवधिमा निर्यात ५७ प्रतिशतले बढेपछि त्यसको प्रभाव शोधनान्तर स्थितिमा परेको हो ।
चालु आवको असोजसम्ममा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता २ खर्ब ३८ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको असोजसम्मा १ अर्ब ६९ करोडले बचतमा रहेको चालु खाता चालु आवमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
चालु आवको असोजमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको थियो । यसैगरी, चालु आवको असोजमा ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आवको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब ७४ करोड भित्रिएको थियो ।