एभोकाडोदेखि रैथाने फलफूल र मसलासम्मको प्रशोधन तथा निर्यातमा सम्भावना रहेको भन्दै खेतीपाती अर्गानिककी सीईओ गौतमले नेपाली कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याएर डलर कमाउन सकिने बताइन् ।
काठमाडौँ — खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकृति गौतमले कृषिबाटै डलर कमाउन सकिने बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा उनले आफ्नो व्यावसायिक अनुभव सुनाउँदै कृषिमा प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् । कृषि उपजबाट आफूले अन्तर्राष्ट्रिय बजारमा राम्रो आम्दानी गरिरहेको उनले जानकारी दिइन् ।
सन् २०२१ मा धनकुटामा एभोकाडो कुहिएर खेर गएको देखेपछि पोस्ट हार्भेस्ट उद्योग सञ्चालन गर्ने सोच आएको उनको भनाइ छ । ‘संखुवासभामा फलेको कोइरालाको फूल कतार र मलेसिया कसरी पुर्याउने ?’ उनले भनिन्, ‘सुकाउने प्रविधि, रैथाने वस्तु, फलफूल र मसलामा काम गर्न थाल्यौँ । अहिले अन्तर्राष्ट्रिय बजार बनाइसकेका छौँ ।’
‘नेपालबाट अदुवा, छुर्पीलगायत अन्य प्रयोजनका लागि निर्यात हुन्छ । यसबाहेक गुन्द्रुक, भटमास, मकै नेपालीले नै खान्छन् भन्ने हो,’ गौतमले भनिन्, ‘नेपाली कृषि उपजबाटै हामीले डलरमा कमाउन सक्छौँ ।’