दलहरूबीच बेलाबेला प्रकट हुने मतभेदलाई भुलेर सरकारका गलत गतिविधिविरुद्ध सहकार्य गर्नुपर्नेमा भण्डारीको जोड छ ।
काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार एमालेको राष्ट्रिय भेलामा सरकारको चर्को आलोचना गर्दै लामो राजनीतिक भाषण गरिन् । एमाले वरिष्ठ नेतासमेत रहेकी भण्डारीले पार्टी सुदृढीकरणसम्बन्धी वैचारिक र सांगठनिक धारणा पनि अघि सारिन् । उनको भाषण पूर्वराष्ट्रपतिका रूपमा भन्दा पनि सक्रिय नेताका रूपमा थियो ।
भण्डारीको सक्रिय राजनीतिलाई एमालेमा दुई कोणबाट हेरिएको छ । पार्टीभित्र नीति र नेतृत्व पुनर्गठनको पक्षमा रहेका नेताहरूले भण्डारीको सक्रियतासँगै एमालेमा फरक मत निषेध गर्ने प्रवृत्तिमा कमी आउने अपेक्षा गरेका छन् । संस्थापन अर्थात् अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने भूमिका भण्डारीले खेल्ने विश्वास व्यक्त गरेका छन् । भण्डारीको मुख्य जिम्मेवारी पनि अध्यक्ष ओलीलाई सघाउने गरी तोकिएको छ ।
पार्टीभित्र महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरू नेतृत्व हस्तान्तरण हुनुपर्ने पक्षमा उभिएपछि अध्यक्ष ओली आफैंले भण्डारीको सदस्यता सक्रिय बनाएका थिए । उनको आगमनसँगै पार्टीको आगामी नेतृत्वको बलियो दाबेदारका रूपमा भण्डारीको चर्चा सुरु भइसकेको छ । यसले पार्टीमा ओलीपछि अर्को ‘शक्ति केन्द्र’ बनेको छ ।
गत भदौमा विद्या भण्डारीको सदस्यता पेन्डिङमा रहेका बेला खुलेर विरोध गरेका नेता कर्ण थापाले भण्डारीले वामपन्थी आन्दोलनका लागि भूमिका खेल्ने बताए । ‘वामपन्थी सहकार्य र एकताका लागि विद्या भण्डारीको स्वाभाविक भूमिका हुनेछ,’ उनले भने, ‘आगामी स्थानीय निर्वाचनमा त्यसले एउटा आकार लिन सक्छ ।’ दोस्रो वरीयताको नेताको हैसियतले पार्टीको आन्तरिक एकताका लागि पहल लिने उनको भनाइ छ ।
०७४ मा आफू राष्ट्रपति भएकै बेला एमाले र माओवादीबीच चुनाव गठबन्धन बनाउन र त्यसपछि पार्टी एकता गर्न भूमिका खेलेकी भण्डारीले हाल छिन्नभिन्न रहेका वाम पार्टीहरूबीच सहकार्यका लागि भूमिका खेल्ने संकेतसमेत गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू पनि आगामी स्थानीय निर्वाचनमा एमालेसँग सहकार्य हुनेमा विश्वस्त देखिन्छन् । यसका लागि भण्डारीले भूमिका खेल्ने उनीहरूको दाबी छ ।
बिहीबार भण्डारीले दलहरूबीच बेलाबेला प्रकट हुने मतभेदलाई भुलेर सरकारका गलत गतिविधिविरुद्ध सहकार्य गर्नुपर्ने बताइन् । ‘पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका कतिपय गतिविधिले संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यासका सम्बन्धमा गम्भीर प्रश्न उठेका छन्,’ उनले भनिन्, ‘समयमै यसको निराकरण नगर्ने हो भने मुलुक अस्थिरता र अनिश्चिततातर्फ धकेलिन सक्छ ।’ आवश्यक परे आन्दोलन पनि गर्नुपर्ने उनको भनाइ थियो ।
सक्रिय राजनीति सुरु भएपछि अब उनको परीक्षा सुरु भएको छ । ओलीको योजनामा अघि बढ्ने हो भने राजनीतिमा आउनुको अर्थ छैन । एमालेको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण र वाम एकताका लागि भूमिका खेल्ने हो भने भण्डारीको सक्रिय राजनीतिको महत्त्व हुनेछ । -कृष्ण पोखरेल , राजनीतिशास्त्रका प्राध्यापक फागुनमा भएको निर्वाचनमा एमाले पराजित हुनुको एउटा कारण नेता तथा कार्यकर्ताको कार्यशैली पनि रहेको भण्डारीले बताइन् । उनको यो अभिव्यक्तिलाई पार्टीभित्रको सांगठनिक कमजोरी र कार्यशैली सुधार्नुपर्ने आवश्यकतामाथिको संकेतका रूपमा हेरिएको छ । भण्डारीको सक्रिय राजनीतिक यात्राले वाम आन्दोलनमा सघाउ पुर्याउने नेकपा नेतृ पम्फा भुसालले विश्वास गरिन् । ‘एमालेभित्रको अन्तरसंघर्ष समाधान गर्ने मात्र नभई वामपन्थी दलबीच एकताका लागि उहाँको योगदान हुनेछ भन्ने विश्वास छ,’ भुसालले भनिन् ।
एमालेको रूपान्तरण र वामपन्थी आन्दोलनका लागि भूमिका खेल्ने अर्थमा मात्र भण्डारीको सक्रिय राजनीतिको महत्त्व हुने राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले बताए । ‘सक्रिय राजनीति सुरु भएपछि अब उनको परीक्षा सुरु भएको छ । ओलीको योजनामा अघि बढ्ने हो भने राजनीतिमा आउनुको अर्थ छैन’ पोखरेलले भने, ‘एमालेको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण र वाम एकताका लागि भूमिका खेल्ने हो भने भण्डारीको सक्रिय राजनीतिको महत्त्व हुनेछ ।’
एमालेको दुईदिने राष्ट्रिय भेलाले विशेष संकल्प पारित गर्दै लोकतन्त्रको पक्षमा उभिनेलगायत संकल्प गरेको छ । साथै, स्थानीय र प्रदेश निर्वाचनको तयारी आन्दोलनसँग जोडेर अघि बढाउने भएको छ । भेलाले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण सीमा समस्या, बढ्दो व्यापार घाटा, हवाई रुटलगायतका विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।