१० खेलको प्रतिस्पर्धा उद्घाटन अघि नै सुरु हुने, स्वर्णसहित सबै पदक विजेतालाई नगद पुरस्कार, ७२ करोडसम्म खर्च गर्न सकिने
काठमाडौँ — कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्ले जनाएअनुसार १६ मंसिरमा औपचारिक उद्घाटन हुने दसौं राष्ट्रिय खेलकुदका केही खेलका प्रतिस्पर्धा ८ मंसिरमै सुरु हुँदै छ ।
बृहत राष्ट्रिय खेलकुदको महत्वलाई अझ फराकिलो पार्न र व्यवस्थापनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले टिम खेलहरू अगाडि गर्न लागिएको परिषद्का सदस्यसचिव रामचरित्र मेहताले बताए ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा १६ मंसिरमा प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटनअघि नै १० खेलका प्रतिस्पर्धा ८ मंसिरबाट सुरु हुनेछ ।
पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, महिला र पुरुष ह्यान्डबल, बास्केटबल महिला, टेनिस, पौडी, शारीरिक सुगठन, बक्सिङ, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट करातेको खेल उद्घाटनअघि नै हुनेछ ।
दसौं राष्ट्रियमा ३२ खेलमा ११ टिमका खेलाडीको सहभागिता रहनेछ । सात प्रदेश, तीन विभागीय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब) र गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहभागिता रहनेछ ।
३२ खेलमध्ये सुर्खेतमा २३ खेल, नेपालगन्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र रुकुम पश्चिमले १ खेल खेलाइने छ । पौडी र सुटिङ नेपालगन्जमा हुनेछ भने बर्दियामा टेनिस र खो खो, दैलेखमा आईटीएफ तेक्वान्दो, सल्यानमा र सेपाकटाक्रो र कुस्ती तथा रुकुममा शारीरिक सुगठन हुनेछ । अरू बाँकी खेल सुर्खेतमा खेलाइने छ ।
३२ खेलमा ३ सय ८४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । त्यसका लागि प्रत्येक टिमबाट पुरुषमा ३ सय ४६ र महिला ३१४ खेलाडीले भाग लिने पाउनेछन् ।
यसपालि सबै पदक जित्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा स्वर्ण पदक जित्नेले मात्र सरकारको तर्फबाट नगद पुरस्कार पाएका थिए । दसौं संस्करणमा रजत र कांस्य जित्नेले पनि नगद पुरस्कार पाउनेछन् ।
व्यक्तिगततर्फ स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कांस्य जित्नेले ८ हजार रुपैयाँ पाउने छन् । टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजतलाई १० हजार र कांस्यलाई ८ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको सदस्यसचिव मेहताले जानकारी गराए । उनले राष्ट्रिय खेलकुद खेल्दा खेलाडीको मनोबल उकास्ने बताए ।
सदस्यसचिव मेहताले दसौं राष्ट्रिय खेलकुदलाई सफलतापूर्वक सम्पन्न गर्न तीनै तहको सरकारबीच समन्वय गरेर अगाडि बढिरहेको बताए । उनले तीनै तहको सरकारबीच कुनै समस्या नरहेको दाबी गर्दै सहकार्य, समन्वय र सहअस्तित्वमा रहेर काम गरिरहेको बताए ।
सम्बन्धित खेलसँग समन्वय गरेर छनोट प्रतियोगिता भइरहेको उनको भनाइ थियो । नेपालीको महान पर्व दसैं, तिहार बीचमा परेकाले पनि खेलाडी छनोटमा केही तलमाथि परे पनि सुचारु भइरहेको मेहताको दाबी थियो ।
पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले कर्णालीवासीका लागि ठूलो अवसर भएकाले दसौं राष्ट्रिय खेलकुदलाई भव्य रुपमा आयोजना गर्न कर्णाली प्रदेश तयार रहेको बताए । आवास, यातायात, स्वास्थ्य, सुरक्षालगायत सबै क्षेत्रमा टिम बनाएर काम भइरहेको बताउँदै मन्त्री मल्लले भने, ‘दसौं राष्ट्रिय खेलकुद कर्णालीका लागि अवसर हो, हाम्रा लागि प्रतिष्ठा हो, त्यसैले सबै चुनौती सामना गरेर हामी अगाडि बढन तयार छौं ।’
कर्णाली प्रदेश रंगशाला हस्तान्तरण प्रक्रियाबारे उठेका प्रश्नको जानकारी दिँदै मन्त्री मल्लले प्रतियोगिताअघि नै रंगशाला हस्तान्तरण हुने बताए ।
गत २८ साउनमा राष्ट्रिय खेलकुद परिषद्को १२५ औं बोर्ड बैठकले १६–२७ मंसिरसम्म दसौं राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो । त्यसअघि प्रतियोगिता तीन पटकसम्म मिति घोषणा भएर आयोजना हुन सकेको थिएन ।
मन्त्री मल्लले नेपाली खेलकुदको प्रतिष्ठासँग गाँसिएको बृहत राष्ट्रिय खेलकुदको आयोजना मोडालिटीबारे बहसको विषय हुनुपर्ने अनुभूत भएको बताए । उनले भने, ‘गण्डकी प्रदेशमा नवौं आयोजना भयो, १० औं लागि हामीले झन्डा लियौं, तर पूर्वाधारलगायत धेरै पक्षमा कुनै तयारी थिएन । त्यसले समयमै आयोजना गर्नेमा समस्या आएको यथार्थ हो ।’
प्रतियोगिताका लागि करिब ७२ करोडसम्मको बजेट रहेको छ । ४४ करोड १० लाखसम्मको बजेट स्वीकृत भइसकेको र ७२ करोडसम्म खर्च गर्न सकिने सदस्यसचिव मेहताले जानकारी गराए ।
ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।