नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगिसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने आफ्नो व्यक्तिगत र सैद्धान्तिक मान्यता अझै कायम रहेको बताएका छन्।
तर, पार्टी एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानजनक स्थान दिने पार्टीको निर्णय कार्यान्वयन गर्नु आफ्नो कर्तव्य भएको उनले सुनाए।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले गणतन्त्र आएको १८-१९ वर्ष मात्र भएकाले यसको बेग्लै व्याकरण, संस्कृति र मानक निर्माण गर्न आवश्यक रहेको बताए।
राष्ट्रको प्रतीक र अभिभावकका रूपमा परिकल्पना गरिएको पदमा पुगेपछि पार्टी राजनीतिमा फर्कन नहुने विषयमा आफूले विगतमा सार्वजनिक रूपमै बोलेको उनले स्वीकार गरे।
‘पार्टीभित्र त्यही विषयले अलिकति विवाद जस्तो बनेको स्थितिमा एकतालाई बल पुग्छ भनेर पार्टीले निर्णय गर्यो,’ ज्ञवालीले भने, ‘निर्णय गरिसकेपछि स्वाभाविक रूपमा त्यो मेरो पनि निर्णय हो र कार्यान्वयन गर्नु कर्तव्य हो।’
पार्टीका उपाध्यक्ष र महासचिव अध्यक्ष केपी ओलीको विपरीत कित्तामा उभिएपछि पूर्वराष्ट्रपतिलाई समेत यता तानेर पार्टीमा आफ्नो पोजिसन स्थापित गर्न लागेको भन्ने आलोचकहरूको आरोप ज्ञवालीले अस्वीकार गरे। राष्ट्र र संविधान संकटमा रहेका बेला आन्तरिक जोडघटाउमा आफू कहाँ पर्छु भन्ने कुरा कुनै विषय नै नभएको उनको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किएसँगै उनको वरिपरि सबै कम्युनिस्ट पार्टी एकताबद्ध गर्ने प्रयास भइरहेको भन्ने चर्चाप्रति ज्ञवालीले त्यसलाई हाइपोथेटिकल र काल्पनिक अनुमान मात्र भएको बताए।
कुनै पनि पार्टीको एकता व्यक्तिले नभई विचारले गर्ने दाबी गर्दै उनले हिजो केपी ओली र पुष्पकमल दाहालको ‘एब्सोल्युट कमान्ड’ हुँदासमेत व्यक्ति केन्द्रित एकता नटिकेको उदाहरण दिए। विचार, देशको भविष्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिने एकता मात्र टिकाउ हुने उनले स्पष्ट पारे।
११ औं राष्ट्रिय महाधिवेशनमा आफू महासचिवको आकांक्षी रहे पनि अध्यक्ष ओलीको इच्छा विपरीत उम्मेदवारी नदिएको प्रसंग कोट्याउँदै ज्ञवालीले त्यतिबेला विद्रोह गरेर उठेको भए जितिने सम्भावना रहेको बताए।
केन्द्रीय सदस्यमा प्राप्त मतले कार्यकर्ताको सद्भाव पुष्टि गरेको उल्लेख गर्दै उनले सिंगो जीवन लगाएको पार्टीको एकता कमजोर नहोस् भनेर पद त्याग गरेको स्पष्ट पारे।
लामो समय केन्द्रीय सदस्य रहेर असोजको बैठकबाट स्थायी कमिटी सदस्य बनाइएका ज्ञवालीले पद केवल भर्याङ चढ्दा टेक्ने सिँढी मात्र भएको बताए।
९ वर्षको उमेरमै २०२८ सालमा स्कुलको जुलुस नेतृत्व गरेर राजनीतिमा जोडिएका उनले पदले नभई कार्यसम्पादनले मान्छेको भूमिका स्थापित गर्ने धारणा राखे।
विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यता लगायतका विवादले पार्टीको आन्तरिक एकता कमजोर बनेको ज्ञवालीले स्वीकार गरे।
भदौ २३-२४ को घटना र फागुन २१ को निर्वाचनको धक्कापछि नेतृत्व नबदली आन्दोलन अघि बढ्दैन भन्ने ढंगले झन्डै छ महिना पार्टीभित्र ध्रुवीकरण र कित्ताकाट जस्तो स्थिति बनेको उनले बताए।
तेस्रो केन्द्रीय कमिटी बैठकमा आएका दुई अलग प्रतिवेदन मिलाउन आफूले भूमिका खेलेको र त्यसक्रममा अलिअलि मिडिया ट्रायल समेत झेल्नुपरेको उनले सुनाए।
‘द्वन्द्व चलिरहेका बेला एउटा कित्तामा उभिएर अर्को कित्तालाई उडाउँदा मिडिया हाइप र भाइरल त भइन्छ, तर संस्थालाई बलियो बनाउन मैले मिलाउने भूमिका खेलें,’ उनले भने।
नेताहरूको ‘इगो’ को टक्कर, नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक विधि र पद प्राप्तिको वैधानिक बाटोमा नेपालका मुख्य दलहरूभित्रै समस्या रहेको समेत उनले स्वीकार गरे।
प्रकाशित: ३ मंसिर २०८३ १७:१४ बिहीबार