मिशराले अविजित १२० रन बनाएपछि चितवन राइनोजले एनपीएल इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्यो।
काठमाडौँ — कमिल मिशराले कीर्तिमानी शतक बनाएपछि चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर २ मा प्रवेश गरेको छ । श्रीलंकाली ब्याटर मिशराले १ सय २० रन बनाएपछि चितवनले बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको छ ।
मिशरा र कप्तान रवि बोपाराले तेस्रो विकेटमा ९२ बलमा १ सय ५४ रनको साझेदारी गरेपछि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । जवाफमा आएको काठमान्डुले ९ विकेट गुमाई १ सय ४३ रनमात्र बनाउन सक्यो ।
चितवन पहिलो पटक इलिमिनेटरभन्दा माथि पुगेको हो । चितवनले फाइनलमा स्थान पाउन बिहीबार सुदूरपश्चिम रोयल्ससँग क्वालिफायर २ मा खेल्ने छ । लुम्बिनी लायन्सले यसअघि नै सुदूरपश्चिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । काठमान्डु लगातार दोस्रो वर्ष इलिमिनेटरबाटै बाहिरियो ।
मिशराले अविजित १ सय २० र बोपाराले ५३ रन बनाए । मिशरा १७ बलमा २७ रन बनाइरहेको अवस्थामा गणेश गौतमको बलमा विलियम बोसिस्टोले क्याच छाड्न पुगेका थिए, जुन काठमान्डुलाई निकै महँगो पर्यो । मिशराले ५३ बलमा शतक पूरा गरेका थिए । यस सिजनमा बनेको यो दोस्रो र एनपीएलको इतिहासमा बनेको यो पाँचौँ शतक हो । सबै विदेशी खेलाडीको नाममा छ ।
पोखराका युवराज सामराले कर्णाली याक्सविरुद्ध यसै प्रतियोगितामा ४८ बलमा १ सय २ रन बनाएका थिए । २०२४ मा पोखराका एन्ड्रेज हाउसले लुम्बिनी लायन्सविरुद्ध अविजित १ सय ४ रन, पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णालीविरुद्ध अविजित १ सय ८ र गत वर्ष नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित १ सय १४ रन बनाएका थिए । वाटको स्कोर एनपीएलमा यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।
मिशराले एनपीएल इतिहासकै व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा कुल ५९ बलको इनिङ्समा ५ चौका र १० छक्का प्रहार गरे । सबै खाले टी–२० मा आफ्नो ५ सय खेल खेलिरहेका बोपाराले ४२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । काठमान्डुका कप्तान करण केसीले चौथो ओभरको लगातार बलमा देव खनाल र डेविड मलानलाई आउट गरेपछि यी दुईको साझेदारी जमेको थियो । देवले १५ बल खेली २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए भने मलान पहिलो बलमै आउट भए ।
राशिद खानले १८ औं ओभरमा रवि बोपारालाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । बोपाराको स्थानमा आएका विवेक यादवले आफूले सामना गरेका पहिलो दुई बलमा चौका प्रहार गरे भने तेस्रो बलमा क्याच दिन पुगे । करणले ४ ओभरमा ३२ र राशिदले ३८ रन खर्चेर २–२ विकेट लिए ।
विशाल लक्ष्यका अगाडि काठमान्डुको ब्याटिङ निकै फितलो रहेको थियो । साहिल पटेल दोस्रो ओभरमै २ रन बनाई आउट भए । उनका ओपनिङ जोडी साम हेजलेटले पनि ३ रनमात्र बनाउन सके । बोसिस्टोले काठमान्डुबाट सर्वाधिक ३७ रन बनाए । दुई जीवनदान पाएका उनले २८ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । राशिदले १५ बल खेली २ चौकासहित १२ रन बनाए ।
सहन अराचिगेले १३ बल खेली २ चौका र १ छक्कासहित २४ रन जोडे । कप्तान करण केसी र जहान्दद खान १–१, सोनु देवकोटा ६, सन्तोष यादव १ छक्का प्रहार गरी १० रन बनाई आउट भए । दशौं नम्बरमा ब्याटिङ गरेका भीम सार्की ३ छक्का प्रहार गर्दै १७ बलमा ३० र गणेश गौतम ४ रन बनाई अविजित रहे ।
रिजन ढकालले चितवनबाट ४ विकेट लिए । ४ ओभरको सानदार स्पेलमा उनले १६ रनमात्र खर्चे । उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ तथा सलाउद्दिन खान र कुशल मल्लले १–१ विकेट लिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।