गत १४ कात्तिकमा सञ्चालन गरिएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीको नतिजा चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको हो ।
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि एमबीबीएस अध्ययन गर्न लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत १४ कात्तिकमा सञ्चालन गरिएको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल परीक्षार्थीको नतिजा आयोगले सार्वजनिक गरेको हो ।
आयोगले परीक्षार्थीले आफ्नो अनलाइन प्रोफाइलमार्फत नतिजा हेर्न सक्ने व्यवस्था गरेको जनाएको छ । नतिजासम्बन्धी सूचना जारी गर्दै आयोगले उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका, गलत भरेका तथा परीक्षाको मर्यादाविपरीत कार्य गरेका परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको पनि जनाएको छ ।
आयोगका अनुसार उत्तरपुस्तिका पुनर्योग (रिटोटलिङ) सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ । त्यसका लागि आयोगले आफ्नो वेबसाइटमार्फत थप जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
एमबीबीएस अध्ययनका लागि विद्यार्थी छनोट गर्न आयोगले कात्तिक १४ गते काठमाडौंमा एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो । त्यही परीक्षाको नतिजाका आधारमा योग्यताक्रमअनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढ्नेछ । योग्यताक्रम र म्याचिङका आधारमा विद्यार्थीले भर्नामा प्राथमिकता र छात्रवृत्तिसमेत पाउनेछन् ।