सम्मेलनले नेपाली श्रमिकसँग जोडिएको श्रम आप्रवासनको सवाललाई नीतिगत तहमा नै हस्तक्षेप गर्न विश्वास आयोजकले लिएको छ ।
काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएन) ले कतारमा आउँदो ११ र १२ डिसेम्बर ९औं मध्यपूर्व सम्मेलन गर्ने भएको छ । संघले सम्मेलनको नाम ‘सहयात्रा’ दिएको छ ।
एनआरएनएका मध्यपूर्व संयोजक रमेश श्रेष्ठका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘विदेशमा रहेका नेपालीको झन्डै ६० प्रतिशत श्रमिकले मध्यपूर्वलाई कर्मथलो बनाइरहेका छन् । यो हाम्रो लागि निकै महत्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘यहाँ रहेका नेपालीको सुरक्षित श्रम आप्रवासन र भविष्यमाथि सम्मेलनमा छलफल हुनेछ ।’
नेपाली श्रमिकसँग जोडिएको श्रम आप्रवासनको सवाललाई नीतिगत तहमा नै हस्तक्षेप गर्न सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ । ‘एनआरएनले मध्यपूर्व सम्मेलनमा सार्वजनिक गरिएको घोषणापत्रलाई सरकारले कार्यान्वयन गर्दै आइरहेको छ । सामाजिक सुरक्षादेखि नेपाली दूतावासको स्तरीकरणसम्म सरकारको तर्फबाट सम्बोधन भइरहेको छ,’ उनले भने, ‘खाडी क्षेत्रमा रहेका नेपालीको सहज पहुँचदेखि मर्यादित रोजगारीको सुनिश्चित गर्न अझै धेरै विषय सम्बोधन गर्न जरुरी छ । आगामी सम्मेलनमा यिनै विषयहरूमाथि छलफल हुनेछ ।’
सम्मेलनमा साउदी अरब, कतार, ओमान, बहराइन, कुवेतमा रहेका एनआरएनएका अभियानकर्ताहरू सहभागी हुनेछ । २ दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन नेपाली राजदूत, सांसदहरू, अर्थविद, सरकारी अधिकारीहरू र व्यवसायीहरू सहभागी हुने जनाएको छ ।