भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।
काठमाडौं — २ र ३ मंसिरमा काठमाडौंमा हुन लागेको एमालेको राष्ट्रिय भेलाका सहभागीहरूलाई स्थानीय निर्वाचन केन्द्रित लिखित सुझाव दिन निर्देशन दिइएको छ । एमालेले सोमबार पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय भेलाका सहभागीहरूले अनिवार्य रूपमा स्थानीय निर्वाचन केन्द्रित सुझावहरू लिखित रूपमा दिनुपर्ने जनाएको हो ।
स्थानीय तह निर्वाचनको पूर्वतयारी, पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकतालाई सुदृढ बनाउने भेलाको उद्देश्य छ ।
भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ । पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटतर्फ संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा भेला भई स्थानीय निर्वाचनमा केन्द्रित हुनेछन् ।
भेलालाई केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका ‘दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामसहितको प्रशिक्षण दिनेछन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेताको हैसियतले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी सम्बोधन गर्ने एमालेले जनाएको छ ।
मुलुकको परिस्थिति र पार्टीको भावी कार्यदिशासम्बन्धी उपाध्यक्ष रामबहादुर थापाद्वारा संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा एमाले सरकारमा रहँदा गरिएका महत्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।