Trending
Prev Story
Next Story

विचार | गाउँका भाका, जिन्दगीका लय

Ekantipur •
November 16, 2026 • 01:02 PM
2
2 reads 0 reactions

पाखा–पखेरामा मेलापात र ढिकी–जाँतो गर्दा लोकजीवनमा गाइने गीतहरू समाज र देशको पुँजी भएकाले यसको अभिलेखन र संरक्षण गर्नु समुदायसँगै राज्यको दायित्व हो ।

विचार | गाउँका भाका, जिन्दगीका लय

पाखा–पखेरामा मेलापात र ढिकी–जाँतो गर्दा लोकजीवनमा गाइने गीतहरू समाज र देशको पुँजी भएकाले यसको अभिलेखन र संरक्षण गर्नु समुदायसँगै राज्यको दायित्व हो ।

केही वर्षअघि त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको शोधपत्र लेख्दै गर्दा मैले धादिङको नीलकण्ठ नगरपालिकाका डाँडाकाँडा र गाउँबस्ती चहारें । खाल्टे, मुरलीभन्ज्याङ, सुनौलाबजार, नीलकण्ठ, धूवाँकोट, सांकोस र ज्यामरुङ घुम्दा सुरुमा लाग्थ्यो, म गीतका शब्द टिप्न हिँडेकी थिएँ । केही दिनमै थाहा भयो, म त मान्छेका जिन्दगी टिप्दै रहेछु । कतै माइत जान नपाएकी छोरीको पीर सुनें, कतै बिरानो देशमा रुँदै बसेकी दिदीको सुस्केरा । कतै असारको हिलोमा चुहिएको पसिनाको धारा सुनें, कतै सिंगो मुलुकको शोक ।

लोकगीत भन्नासाथ हामी प्राय: रेडियो र टेलिभिजनमा बज्ने तयारी भाका सम्झिन्छौं । तर असली लोकगीत त गाउँको आँगन र चौतारोमा गुन्जन्छ, असारको हिलोमा, मंसिरको खलोमा, विवाहको रात मादलको तालमा । हाम्रा पुर्खाले आफ्ना सुखदु:ख किताबमा लेखेनन्, गीत बनाएर जनजिब्रोमै झुन्ड्याइदिए । एउटा गीत एक पुस्ताको मुखबाट अर्को पुस्तासम्म पुग्दा अलिअलि फेरिन्छ, तर मर्दैन ।

नदीमा बग्दाबग्दै चिल्लिएको ढुंगाजस्तै हो लोकगीत । बगेरै बलियो र घोटिएरै सुन्दर हुन्छ । फरक भूगोल, संस्कृति, जीवन भोगाइअनुसार लोकगीतका बान्की, शैली र स्वाद फरक हुन्छन् । विभिन्न जातजाति, भाषाभाषी बस्ने नीलकण्ठ नगरपालिकामा पाइने लोकगीतमा पनि विविधता हुने नै भयो ।

रत्यौलीबाटै सुरु गरौं । जन्ती गएको रात बेहुलाको घरमा गाउँका महिलाहरू भेला भएर नाचगान गर्छन् । मुरलीभन्ज्याङकी ४५ वर्षीया सुशीला घिमिरेले सुनाएको रत्यौलीमा आमाले छोरोलाई सोध्छिन्, ‘गाईलाई कहाँ राख्छौ, बुहारीलाई कहाँ राख्छौ ?’ छोरो जवाफ दिन्छ, ‘गाई गोठमा, तर सीतालाई चाहिँ चोटामा ।’ नयाँ बुहारीलाई शिरमाथिको ठाउँ दिने बचन समेटिएको यो भाका रमाइलो मात्र नभएर स्वागत र भरोसाको वाचा पनि रहेछ ।

खुसीसँगै वेदना र वियोगका गीत पनि हुन्छन् । रिजालगाउँकी ७५ वर्षीया दीर्घकुमारी रिजालले सुनाएको शोकगीतमा विदेशमा निधन भएका राजाको शव हवाईजहाजमा ल्याइएको, फूलमाला र अबिर चढाउँदै आर्यघाटसम्म पुर्‍याइएको दृश्य वर्णन छ । लिखित इतिहास नभएको कुनाकन्दरामा गीतले नै इतिहास सम्हालेको छ । आमा–हजुरआमाको कण्ठमा पुरानो समय जीवित छ ।

तीजमा त गीतले नारीहृदयका सबै गाँठो खोल्छ । सुनौलाबजारकी पवित्रा कोइरालाको भाकामा वर्षौंदेखि माइत जान नपाएकी चेलीको पीर छ: ‘धेरै भयो तीजमा माइत जान पाछैन, स्वामीज्यूले बिदा देन’न् जान भै’न भागेर, यस पालि त जाने हो बिदा मागेर ।’ घरव्यवहार र पारिवारिक खटनको साङ्लोले बाँधिएकी महिलाको पीडा यति थोरै शब्दमा अटाएको छ ।

असारमा रोपाहार, हली र बाउसे बिहानदेखि बेलुकासम्म खटिन्छन् । थकाइ बिर्सन खेतमै असारे गाइन्छ, कहिले दोहोरी, कहिले हिलो छ्यापाछ्याप गर्दै ठट्यौली । भुलभुलेकी राधिका सापकोटाले सुनाएको असारेमा भनिएको छ: ‘असारमा खानी दूधिलो मकै, साउनमा खानी खिर, घरमा छैन शीतलु बचन, यो मनमा छैन थिर ।’

मंसिरमा धान भित्र्याएपछि खलोमा गोरु घुमाउँदै दाइँ गरिन्छ । पुछार बजारका बद्री रेग्मीको दाइँमा गोरु घुमाउने केटालाई यसरी जिस्काइन्छ: ‘मियाँको टुप्पोमा परालको त्यान्द्रो, गोरु खोज्ने केटालाई मुसाको आन्द्रो ।’ यसले कामको थकानबीच पनि हाँस्न जान्ने गाउँले जीवनको झल्को दिन्छ ।

बाह्रै महिना गाइने गीतहरूमध्ये माया–पिरतीका भाका सबैभन्दा माथि छ । रायटारकी कृष्णमाया श्रेष्ठले सुनाएको गीतले भन्छ– ‘मया पिरिम गर्नु हुन्न भन्ने गर्थे बा’ले, झन् झन् माया बढ्दै गयो के गरुँ काले ?’

ज्यामरुङका ६२ वर्षीय ठूलो चन्द्रबहादुर बरुवालको झ्याउरेमा दूरीमा पनि मन बुझाउने चोखो माया अभिव्यक्त छ: ‘ज्यामरुङ घर पर्‍यो मेरो त, सम्झनाले मुटु रेटिन्छ, एउटा फोटो पठाइदेऊ नीरमाया, नभेटे’नि झल्कै मेटिन्छ ।’ यी गीत सुन्दै जाँदा एउटा कुरा बारम्बार आइरह्यो– टाढा हुनुको पीर । कसैले यिनलाई ‘वैदेशिक रोजगारी’ को फुर्को जोडेको छैन, तर टाढा जानेहरू र पर्खेर बस्नेहरूको मनोभाव यिनै गीतमा बाँचेको छ ।

समयको प्रवाहसँगै आधुनिकताले सबै कुरालाई छोएको छ । रत्यौली र देउसीमा बज्ने मादलको ठाउँ विद्युतीय बाजाले लिँदै छ । ढिकी–जाँतोको काम नै कम हुँदा त्यसका गीत पनि सुस्तरी सुनिन छाडेका छन् । मैले गीत सुनेका सबै स्रोत व्यक्ति ४० वर्ष वा त्योभन्दा माथिका थिए, सबैभन्दा जेठी ७५ की । यी भाका आज जान्नेहरू मुख्यतया पाका पुस्ता हुन्, उनीहरू बिदा हुँदै जाँदा गीत पनि बिस्तारै हराउने जोखिम छ ।

आँकडाले के भन्छ, नीतिले के भन्दैन ?

राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा १४२ जातजाति/समुदाय र १२४ मातृभाषा छन् । मातृभाषा नेपाली हुनेको हिस्सा ४४.८६ प्रतिशत मात्र छ, ५५ प्रतिशतभन्दा बढी नागरिकले आमाको काखमै सिकेको भाषा नेपालीभन्दा फरक हो । हरेक भाषासँगै त्यसका आफ्नै गीत, लय र उखानटुक्का हुन्छन् ।

तर, तथ्यांककै अर्को पाटो चिन्ताजनक छ । त्रिभुवन विश्वविद्यालयका भाषाविद् दानराज रेग्मीका अनुसार, २०७८ सालको जनगणनामा गणना भएका मातृभाषामध्ये ५२.४ प्रतिशत लोपोन्मुख छन् । उनको अध्ययनमा समुदायको जनसंख्याको तुलनामा आफ्नो मातृभाषा बोल्नेको अंश तामाङमा ८६.७७ प्रतिशत, गुरुङमा ६०.३३ प्रतिशत, कुमालमा १४.२१ प्रतिशत र भुजेलमा १०.८८ प्रतिशत छ । भाषा हराउँदा त्यससँग जोडिएको सांस्कृतिक, ऐतिहासिक र वातावरणीय ज्ञान पनि हराउँछ । गीत त्यही ज्ञानको सबैभन्दा सुन्दर भण्डार हो ।

तर जनगणनाले भाषा गन्छ, गीत गन्दैन । देशमा कति लोकगीत छन्, कति अझै गाइन्छन् र कति बिर्सिए, यसको सार्वजनिक रूपमा उपलब्ध आधिकारिक आँकडा भेटिँदैन । युनेस्कोले नेपालको अमूर्त सांस्कृतिक सम्पदाको ठूलो हिस्सा अझै अभिलेखित नरहेको भनेको छ । जे अभिलेखित छैन, त्यसको क्षय पनि कतै गणनामा आउँदैन ।

बजारले पनि यी भाका बचाउँदैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेका अनुसार, असारे गीत महिनाभरि मात्र बज्ने भएकाले रेकर्डिङमा लाग्ने एक/दुई लाख रुपैयाँको लगानी फिर्ता नहुने डरले कोही जोखिम उठाउँदैन ।

लोकगीत कुनै एक व्यक्तिको सम्पत्ति होइन, समाज र देशको पुँजी हो । ब्राह्मणका भजन र सिलोक, गुरुङ र मगरका घाटु र सोरठी, तामाङका सेलो, हरेक समुदायले आफ्नै भाषा, लय र कथा बोकेर हिँडेको छ । यी सबै रङ मिलेर नेपाल बनेको हो । संगीतमा आधुनिक गाना–बजानाको बाढी छ । आधुनिक हुनु खराब कुरा होइन, तर नयाँ कुरा सिक्दै गर्दा पनि आफ्नो जरा नटुटाउनुमै हाम्रो पहिचान र भविष्य निहित छ ।

गीता रिजालले नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन्। उनी नेपाली लोक साहित्यमा अनुसन्धानरत छिन्।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612