बलिउड अभिनेता टाइगर श्राफ काममा फर्किएका छन् । गोली प्रहारको घटनापछि उनले पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका छन् । उनी चाँडै नयाँ गीतमार्फत दर्शकमाझ आउँदै छन् । उक्त गीतमा उनी अभिनेत्री केतिका शर्मासँग रोमान्स गर्दै देखिनेछन् ।
टाइगरले आफ्नो नयाँ गीतको झलक सार्वजनिक गरेका छन् । भिडियोमा उनी कालो पहिरनमा देखिएका छन् । उनले आफ्नो सिक्स प्याक एब्स प्रदर्शन गरेका छन् ।
टाइगरको नयाँ गीतको नाम ‘तेनु लेके जाना’ हो । यो सन् २००९ मा प्रदर्शनमा आएको फिल्म ‘जय वीरु’को गीतको पुनर्निर्मित संस्करण हो । नयाँ संस्करणमा टाइगर र केतिका शर्माले अभिनय गरेका छन् । सार्वजनिक झलक हेर्दा यो ऊर्जावान नृत्यप्रधान गीत हुने देखिन्छ ।
टाइगरको यो गीत आगामी नोभेम्बर १८, २०२६ मा टी–सिरिजको युट्युब च्यानलमार्फत सार्वजनिक हुँदै छ । नोभेम्बर १६ मा टाइगरले भिडियो पोस्ट गर्दै गीतबारे जानकारी दिएका हुन् ।
गोली प्रहारको घटनापछि टाइगरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो पहिलो पोस्ट हो । गत अक्टोबर १८ को साँझ मुम्बईको जुहूमा उनीमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा उनी बालबाल बचेका थिए । घटनाको ठीक एक महिनापछि नोभेम्बर १८ मा उनी नयाँ गीत लिएर दर्शकमाझ आउन लागेका हुन् ।
टाइगरको नयाँ पोस्टमा प्रशंसकहरूले खुसी व्यक्त गरेका छन् । एक प्रशंसकले ‘हाम्रो हिरो फर्किए’ लेखेका छन् । अर्काले गीतका लागि आफूहरू निकै उत्साहित रहेको बताएका छन् । त्यस्तै, अन्य प्रशंसकले पनि टाइगरको पुनरागमनलाई स्वागत गर्दै उत्साह व्यक्त गरेका छन् ।
यसैबीच, टाइगरको आगामी फिल्म ‘लग जा गले’ पनि प्रदर्शनको तयारीमा छ । जान्हवी कपूरसँग अभिनय गरेको उक्त फिल्म सन् २०२७ मे १४ मा सिनेमा घरमा प्रदर्शन हुने बताइएको छ ।