तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।
झापा — भारतीय गायक रितो रिबाको एउटा गीत यतिबेला नेपाली टिकटक प्रयोगकर्तामाझ चर्चामा छ । सिद्धान्त कौशलले लेखेको ‘दिलरुवा दिलनसिव...’ बोलको उक्त गीत गत अक्टोबर १६ मा युट्युबमा सार्वजनिक गरिएको थियो । तीन सातामै एक करोडभन्दा बढी पटक हेरिएको यो गीत नेपाली टिकटकरमाझ भने तिहारको रौनकबीच भाइरल बन्यो ।
नेपाली प्रयोगकर्ताले उक्त गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्ने क्रम बढ्दो छ । गीतको लोकप्रियतासँगै यसको धुनलाई लिएर भने सामाजिक सञ्जालमा छुट्टै बहस सुरु भएको छ ।
काबिल–ए–तारीफ तू, अप्सराओं जैसी हूबहू दिखे निगाहों को तू कू–ब–कू, तेरा असर हरदम मेरे रू–ब–रू
इन्डियन आइडलबाट सांगीतिक पहिचान बनाएका पूर्वोत्तर भारतको अरुणाचलका गायक रितो रिबाको यही गीतको भाका किरात समुदायको सांस्कृतिक पर्व साकेलामा गाइने परम्परागत गीतसँग मिल्दोजुल्दो रहेको भन्दै सामाजिक सञ्जालमा तुलना भइरहेको हो ।
गीत सुनेपछि कतिपयले साकेला र उभौलीमा राई समुदायले गाउने परम्परागत गीतको झल्को आएको टिप्पणी गरेका छन् । टिकटक प्रयोगकर्ता शक्तिराज किरातीको प्रतिक्रिया छ,‘साकेला गीत जस्तै सुन्छु छ ।’ केहीले यसको लय नेपाली रैथाने संगीतसँग मिलेको बताएका छन् भने कतिपयले साकेलाको भाकाबाट प्रभावित भएको हुन सक्ने आशय व्यक्त गरेका छन् । अर्का टिकटकर रिता राई लेख्छिन्,‘साकेलाका हिन्दी भर्सन जस्तो सुनिन्छ त ।’
अरुणाचल प्रदेशको पासीघाटमा हुर्किएका ३० वर्षीय रितो भारतीय पप तथा रोमान्टिक गीतका गायक हुन् । भावपूर्ण स्वर र हिन्दी प्रेमगीतका कारण परिचित उनले सानैदेखि गायनमा रुचि राख्थे । विद्यालयका कार्यक्रम, स्थानीय सांस्कृतिक समारोह र साना मञ्चमा गीत गाएर उनले सांगीतिक यात्रा अघि बढाएका थिए ।
सन् २०१४ देखि युट्युबमा गीतका कभर र आफ्ना प्रस्तुति राख्न थालेका रितोको सांगीतिक यात्राले सन् २०२२ मा नयाँ मोड लियो । उनी ‘इन्डियन आइडल सिजन १३’ मा सहभागी भएपछि भारतीय श्रोतामाझ चिनिन थाले । उक्त रियालिटी शो उनको प्रतिभा प्रस्तुत गर्ने र सांगीतिक पहिचान विस्तार गर्ने महत्वपूर्ण मञ्च बन्यो । त्यसपछि उनको गायकी र सांगीतिक प्रस्तुतिले थप चर्चा पाउन थाल्यो ।
‘स्लिपलेस’, ‘प्यार आता है’, ‘हवा बनके’, ‘ना मुझको पता’, ‘तुर्दु होग्जु’, ‘इबादतें’ र ‘पहला इश्क’ उनका चर्चित गीत हुन् । युट्युबमार्फत मौलिक गीत, म्युजिक भिडियो र कभर सार्वजनिक गर्दै आएका उनका च्यानलमा आठ लाखभन्दा बढी सब्सक्राइबर छन् ।
पछिल्लो समय भने रितोको स्वरभन्दा पनि गीतको धुन नेपाली साकेलासंग जोडिएर चर्चामा आएको छ । टिकटकमा सार्वजनिक भिडियो र त्यसमा आएका प्रतिक्रियामा नेपाली प्रयोगकर्ताले गीतको लय साकेला सिलीमा प्रयोग हुने परम्परागत भाकासंग मिलेको बताएका छन् । यसले भारतीय लोकप्रिय संगीत र नेपाली रैथाने धुनबीचको समानता र सम्भावित सांगीतिक प्रभावबारे बहस जन्माएको छ ।
राई समुदायको सांस्कृतिक जीवनमा साकेला नाचगानको पर्व मात्रै होइन । यो प्रकृति, भूमि र पुर्खासंगको सम्बन्ध अभिव्यक्त गर्ने सांस्कृतिक परम्परा हो । उभौली र उधौलीका अवसरमा साकेला सिलीमार्फत प्रस्तुत हुने गीत र लयमा समुदायको जीवनशैली, प्रकृतिसँगको निकटता र सांस्कृतिक स्मृति समेटिएका हुन्छन् ।
यद्यपि, रितोको गीतको धुन साकेलासंग मिल्दोजुल्दो सुनिएको भन्दै टिप्पणी भइरहे पनि उनले साकेलाको धुन प्रयोग गरेको वा त्यसबाट प्रभावित भएको आधिकारिक पुष्टि भएको छैन । कतिपय टिकटकरले यिनलाई साकेलाको धुन चोरेर नयाँ सिर्जना बनाएको पनि आरोप लगाएका छन् । ‘साकेलाको लय र ताल चोरेर गीत बनाएको जस्तो देखिन्छ’, यामराज किरातीले टिकटकमा लेखेका छन् । सांगीतिक धुनमा देखिने समानता र कुनै परम्परागत संगीतबाट लिइएको प्रभाव एउटै विषय भने होइन ।
रितोका प्रशंसकले भने उनको स्वर र गायकीको मुक्तकण्ठले प्रसंशा गरिरहेका छन् । एउटा हिन्दी गीतको भाकाले सीमापारिका स्रोताबीच नेपाली रैथाने संगीतप्रति चासो जगाउनु आफैंमा रोचक बनेको छ । सामाजिक सञ्जालमा सुरु भएको यो बहसले लोकप्रिय संगीत र स्थानीय सांस्कृतिक धुनबीचको सम्बन्धबारे नयाँ जिज्ञासासमेत जन्माएको छ ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।