लालपुरमा शनिबारको दुर्घटनामा बाँकेका बाबु-छोराको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।
बर्दिया — मृतक परिवार र यातायात समितिबीच सहमति जुट्दा अवरुद्ध गुलरिया–नेपालगन्ज सडक सञ्चालनमा आएको छ । दुवै पक्षबीच सहमति जुट्दा सोमबार तीन बजेपछि अवरुद्ध सडक खुलाइएको हो ।
शनिबारको दुर्घटनाको विषयलाई लिएर उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले लालपुरस्थित सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए । शनिबार यात्रुवाहक गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको थियो ।
मोटरसाइकल चालक बाँकेको राप्तीसोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलमा पछाडि सवार उनका बाबु ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको थियो । यस्तै, गाडीमा सवार १५ जना घाइते भएका थिए ।
दुवै पक्षबीच सहमति जुटेपछि अवरुद्ध सडक सञ्चालनमा आएको डीएसपी रेशम बोहराले बताए । ‘सहमति जुटेपछि शव पोस्टमार्टमको प्रक्रियामा छ,’ उनले भने, ‘पोस्टमार्टमपछि आफन्तले आजै शव बुझ्नुहुन्छ ।’
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।