शनिबार फोर्स गाडीको ठक्करबाट बाबुछोराको मृत्यु भएपछि आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन्।
बर्दिया — दुर्घटनाको विषयलाई लिएर मृतकका परिवारले गुलरिया-नेपालगन्ज सडकखण्ड अवरुद्ध गरेका छन् । उचित क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले गुलरिया नगरपालिका–११ लालपुरस्थित सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् ।
गत शनिबार फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको थियो । मोटरसाइकल चालक बाँके राप्तिसोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र सोही मोटरसाइकलमा पछाडि सवार उनका बाबु ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको थियो । यस्तै फोर्स गाडीमा सवार १५ जना घाइते भएका थिए ।
पीडित परिवार र यातायात समितिबीच सहमति नजुट्दा आफन्तहरुले बाटो अवरुद्ध गर्न खोजेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । ‘सहमति नजुट्दा पीडित परिवारले अझैसम्म शव बुझेका छैनन्,’ उनले भने,‘अवरुद्ध बाटो खोलाउने प्रयास भइरहेको छ ।’ फोर्स गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको उनले जनाए ।
प्रहरी उपरीक्षक पौडेलका अनुसार घाइते १५ मध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हातमा चोट लागेका तीन जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।
गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सिएचओ १ सिएम ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरमा एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको थियो ।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।