लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
बर्दिया — नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा ५ ख ५६०५ नम्बरको यात्रुवाहक गाडी र विपरीत दिशाबाट जाँदै गरेको सीएचओ १ सीएम ९४३७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृतक भारतको हरियाणा घर भएका ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि बसेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न सकेको छैन ।
उनीहरूको जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए । घटनामा गाडीमा सवार १५ जना यात्रु घाइते भएका छन् ।
शनिबार दिउँसो हुलाकी सडकअन्तर्गत गुलरिया–११ लालपुरमा दुर्घटना भएको हो । घाइतेहरूलाई गुलरिया र नेपालगन्ज पठाइएको उनले जनाए ।
कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।