कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरूमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान भइसकेको छ । कुल ३४.७० किलोमिटर लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ ।
काठमाडौँ — तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ । प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले तीन प्याकेजमा विभाजन गरी आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले प्याकेज–१ अन्तर्गत बाँधस्थललगायतका संरचना, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ विद्युत्गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज–३ मा दमौली (तनहुँ) भरतपुर २२० केभी डबलसर्किट प्रसारणलाइन निर्माण गर्ने गरी ठेक्का लगाइएको छ ।
प्याकेज- १ को काम निर्माण व्यवसायी सोङदा–कालिका जेभीले गरिरहेको छ । अहिले मुख्य बाँधमा ६५ प्रतिशत कंक्रिटको काम भइसकेको आयोजना प्रमुख श्याम भण्डारीले बताए । मुख्य बाँध निर्माणस्थलको दायाँ र बायाँतर्फ ग्राउटिङ ग्यालरी सुरुङलगायत निर्माण भइरहेको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ६८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
प्याकेज-२ को काम निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेसन, चीनमार्फत भइरहेको छ । भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने काम सकेर अधिकांश संरचनाको सिभिल निर्माण समेत सकिएको छ । विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कंक्रिटिङलगायत मुख्य संरचनाहरूमा उत्खनन तथा कंक्रिटिङ अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान जारी रहेको भन्दै कम्पनीले प्याकेज-२ को ८० प्रतिशत भौतिक प्रगती रहेको जनाएको छ ।
प्याकेज- ३ को प्रसारणलाइनको काम निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । दमौली–भरतपुर २२० केभीको ३४.७० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । गत असोजमा कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान सकिएको छ । कुल ३४.७० किलोमिटर (चितवनको भरतपुरसम्म) लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ । अझै ३३ किलोमिटर तार तान्न बाँकी रहेको छ । प्रसारणलाइनतर्फको समग्र भौतिक प्रगति ८३ प्रतिशत रहेको छ ।
प्याकेज–२ र प्याकेज–३ को काम जनवरी २०१९ बाट सुरु भएको थियो भने प्याकेज–१ को काम अगस्ट २०२१ बाट भएको थियो । त्यसकारण प्याकेज- १ को भौतिक प्रगती कम देखिएको कम्पनीले जनाएको छ । तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।
त्यसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, एसियाली विकास बैंक (एडीबी)ले १५ करोड र युरोपियन लगानी बैंकले ८ करोड ५० लाख अमेरिकी डलर वैदेशिक सहायतामार्फत उपलब्ध गराउनेछन् । बाँकी ८ करोड ६० लाख अमेरिकी डलर भने नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले स्वदेशी लगानीका रूपमा व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अगाडि बढाएको छ ।
समग्र आयोजनाको निर्माण असार २०८३ भित्र (मे २०२६) सक्ने लक्ष्य थियो । रिभर डाइभर्सन गरी बाँध बनाउने काम नै एक वर्ष ढिलाई भएकाले समग्र काम पछाडि धकेलिएको भण्डारीले बताए । ‘रिभर डाइभर्सन गरी बाँध बनाउनु पर्ने थियो । त्यो एक वर्षका कारण ढिला भयो । विस्फोटक पदार्थहरू समयमा पाइएन । यस्तै विविध समस्याहरूका कारण ढिलाइ भयो,’ उनले भने, ‘अब समग्र आयोजनाको निर्माण सेप्टेम्बर २०२७ सकाउने लक्ष्य लिइएको छ ।’
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।