ठोरी–३ का ३७ वर्षीय बस्नेतले साढे तीन बिघामा बेसार खेती, आलु उत्पादन र व्यावसायिक ब्रोइलर पालन गर्दै आएका छन्।
पर्सा — वैदेशिक रोजगारीबाट फर्किएका ठोरी गाउँपालिका–३ का ३७ वर्षीय रञ्जितकुमार बस्नेत अहिले कृषि र पशुपालनमा रमाएका छन्। विदेशमा गर्ने मिहिनेत आफ्नै गाउँठाउँमा गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचका साथ उनले व्यावसायिक कृषि कर्म थालेका हुन्।
यस वर्ष उनले साढे तीन बिघा घारी फाँडेर बेसार खेती गरेका छन्। नेपाल–भारत सीमानजिकै र भारतको वाल्मीकि टाइगर रिजर्भसँग जोडिएको उक्त जग्गा उनले भाडामा लिएका हुन्। जंगलबाट आउने वन्यजन्तुले अन्य बालीमा क्षति पुर्याउने भए पनि बेसार खेतीमा त्यस्तो जोखिम नरहेको उनी बताउँछन्।
बाँदर, बँदेल, चित्तल र नीलगाईलगायत वन्यजन्तुले मकै, आलु तथा अन्य बाली नोक्सान गर्ने गरे पनि बेसारमा भने क्षति नपुर्याउने भएकाले धेरै समय र मिहिनेत नपर्ने उनको अनुभव छ। बजारको समेत खासै समस्या नरहेको बस्नेत बताउँछन्। आफ्नै कुटानी–पिसानी मिलसमेत भएकाले बेसार प्रशोधन गरेर धूलोका रूपमा बिक्री गर्ने उनको योजना छ।
बस्नेतले पाँच वर्षअघिदेखि आलु खेती पनि गर्दै आएका छन्। उनले हरेक वर्ष पाँचदेखि १० कठ्ठा जमिनमा आलु उत्पादन गर्छन्। आलु खेतीमा करिब ५० हजार रुपैयाँ लगानी गर्दा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।
कृषिसँगै उनले गाउँमै व्यावसायिक कुखुरापालन पनि गर्दै आएका छन्। पाँच वर्षदेखि कुखुरापालनमा संलग्न उनले एक लटमा पाँचदेखि ६ हजार ब्रोइलर चल्ला हुर्काउँछन्। ४५ दिनमा बिक्रीयोग्य हुने कुखुरा बेचेर एक लटमा तीनदेखि चार लाख रुपैयाँसम्म मुनाफा हुने गरेको बस्नेतको भनाइ छ।
एक दशकअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका बस्नेतले त्यहाँ केही वर्ष काम गरेका थिए। विदेशमा गर्ने परिश्रम आफ्नै देशमा गर्न सके विदेशिनु नपर्ने सोचले आफू कृषि र पशुपालनमा लागेको उनले बताए।
स्थानीय युवा व्यवसायी धीरसिंह बस्नेतका अनुसार रञ्जित ठोरीका उदाहरणीय युवा किसानमध्ये एक हुन्। मासिक ५०–६० हजार रुपैयाँ कमाउन पनि ऋण काढेर विदेश जाने प्रवृत्तिलाई रञ्जितको उद्यमशीलताले चुनौती दिएको उनी बताउँछन्। रञ्जितको सिको अन्य युवाले पनि गर्न सके स्वदेशमै राम्रो अवसर र सम्भावना रहेको धीरसिंहको भनाइ छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।