संघीय सरकारको १ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको आयोजना मुहान विवादका कारण अलपत्र परेको हो।
धनकुटा — खानेपानीका संरचना र वितरण लाइन निर्माण पूरा भइसक्दा पनि मुहानमा विवाद बढेपछि धनकुटाको सहिदभूमि गाउँपालिकास्थित च्याफ्लाखोला–पाखा–चाम्चा खानेपानी आयोजना सञ्चालनमा आउन सकेको छैन।
संघीय सरकारको १ करोड ७५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको आयोजना मुहान विवादका कारण अलपत्र परेको हो। खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटामार्फत सञ्चालित आयोजनाअन्तर्गत गत वर्ष नै पानी सङ्कलन ट्याङ्की, पाइपलाइन विस्तार र वितरण लाइन निर्माणको काम पूरा भएको थियो।
च्याफ्लाखोला गणेशथानस्थित मुहानबाट पानी ल्याउने सम्झौताअनुसार आयोजना निर्माण गरिए पनि स्थानीयको अवरोधका कारण पानी वितरण हुन नसकेको हो। खानेपानीको मुहान निर्धारण गरिएको ठाउँ सहिदभूमि-६ मा पर्छ भने अधिकांश लाभग्राही उपभोक्ता वडा-७ का छन्।
मुहान क्षेत्रका केही स्थानीयले त्यहाँबाट पानी लैजाँदा सिमसार क्षेत्र सुक्ने र जलचरमा समेत असर पर्ने भन्दै विरोध जनाइरहेको सहिदभूमि–७ का वडाध्यक्ष बमबहादुर राईले बताए।
सुरुमा उक्त मुहानबाट पानी ल्याउने समझदारी भए पनि पछि सिमसार क्षेत्र र जलचरमा असर पर्ने भन्दै केही स्थानीयले अवरोध गरेको उनको भनाइ छ। अहिले वडा क्षेत्रका बासिन्दा तीनदेखि पाँच किलोमिटर टाढाका साना मुहानबाट ल्याइएको पानीमा निर्भर हुनुपरेको छ।
आयोजना सञ्चालनमा आए वडा-७ को चाम्चा र पाखाटोल क्षेत्रका करिब ६४ घरपरिवारका पाँच सयभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्। त्यस्तै वडा-६ को बरबोटे, अधिकारी टोल र पालीघर क्षेत्रमा समेत खानेपानी सुविधा पुग्ने अपेक्षा गरिएको छ। तर, ट्याङ्की निर्माणदेखि घरघरमा धारा वितरणसम्मको काम पूरा भए पनि पानी आउन नसक्दा स्थानीय निराश छन्।
सहिदभूमिको यस क्षेत्रमा भूमिगत पानीका स्रोत सुक्दै गएपछि खानेपानीको संकट चुलिएको छ। दुमीमा कुवा, सानो कुवा, टोपाकुवा र मैतेकुवालगायतका परम्परागत पानीका स्रोत सुकिसकेका छन्। त्यसपछि खानेपानी समस्या समाधान गर्ने उद्देश्यले नयाँ आयोजना अघि बढाइएको थियो। तर, आयोजना सञ्चालनमा नआउँदा स्थानीय अहिले छुपु खोलाको सानो मुहानमा निर्भर छन्। त्यहाँबाट ल्याइएको पानी चाम्चा, थेपुङटोल र पाखाटोलका बासिन्दाले आलोपालो गरेर उपभोग गर्दै आएका छन्।
मुहानसम्बन्धी विवाद स्थानीय स्तरबाटै समाधान गर्न सकिने भएकाले सम्बन्धित पक्षबीच समन्वय गरेर आयोजना सञ्चालनमा ल्याउनुपर्ने सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।