३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर खानेपानी आपूर्ति गर्न थालेको हो ।
चौध किलोमिटर लामो मुख्य पाइप लाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपूर्ति गराउन थालिएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए ।
‘डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गराउन थालेका छौँ,’ उनले भने, ‘राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइप लाइन निर्माण गरिएको छ ।
बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइप लाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइप लाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए ।
विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुवडाबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो । अम्रेनी र वडाको वैकल्पिक मुहान सुकिसकेका छन् । वैकल्पिक मुहान सुकेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउन पाइप लाइन मर्मत गरिएको हो ।
संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ । संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ । मागअनुसार आपूर्ति गर्न नसकेपछि उपभोक्तालाई आलोपालो प्रणालीअनुसार टोल विभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए ।
प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइप लाइन विपद्पछि बन्द भएको थियो । अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइप लाइन विस्तार गरिएको हो ।
बेनीको कालीपुलदेखि बराहपाखोस्थित पानी सङ्कलन केन्द्र खण्डको पाइप लाइन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरी भागबाट वैकल्पिक पाइप लाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए ।
सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमान तयार पारी खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ ।
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।