३० कात्तिक, काठमाडौं । अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् ।
उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए ।
अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् । तर विमान र चालक दल (क्रु) निर्धारित स्थानमा नरहेकाले सेवा नियमित हुन केही समय लाग्ने उनको भनाइ छ ।
बीबीसीको अमेरिकी साझेदार सीबीएससँग कुरा गर्दै डफीले भनेका छन्, ‘हाम्रा विमान र चालक दल निर्धारित स्थानमा छैनन् । त्यसैले सबै कुरा सामान्य अवस्थामा फर्काउन केही समय लाग्छ ।’
शुक्रबार अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले प्राविधिक समस्या देखिएपछि देशभरका विमानस्थलबाट हुने उडानमा रोक लगाएको थियो । करिब पाँच घण्टासम्म कायम रहेको उक्त रोकले अमेरिकी हवाई यातायात प्रणालीमा ठूलो अवरोध सिर्जना गरेको थियो ।
अमेरिकी अधिकारीहरूका अनुसार एयर ट्राफिक कन्ट्रोल (एटीसी) प्रणालीमा प्रयोग हुने सञ्चार नेटवर्कमा समस्या आएपछि देशभरका उडान रोक्नुपरेको थियो ।
पुराना तामाका तार (कपर वायर) लाई फाइबर अप्टिक प्रविधिमा रूपान्तरण गर्ने क्रममा नयाँ राउटर जडान गरिएको थियो । अर्कान्सास राज्यको एल डोराडोस्थित एफएएको एक केन्द्रमा जडान गरिएको राउटरबाट असामान्य रूपमा ठूलो संख्यामा डाटा प्रवाह हुन थालेपछि सञ्चार नेटवर्क प्रभावित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यातायातमन्त्री डफीका अनुसार उक्त राउटरले प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी कनेक्सन प्रयास गरिरहेको थियो । त्यसले एयर ट्राफिक कन्ट्रोल केन्द्रहरूमा सञ्चार तथा राडार प्रणालीमा समस्या उत्पन्न गर्यो ।
समस्या फैलिँदै गएपछि विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीचको सञ्चार प्रभावित हुने अवस्था आएको थियो । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै एफएएले देशभरका विमानस्थलबाट हुने उडान रोक्ने निर्णय गरेको थियो ।
एफएएका अनुसार टेक्सासको अमारिलो र अर्कान्सासको एल डोराडोस्थित उपकरणबाट नेटवर्कमा समस्या फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । समस्या उत्पन्न गराउने राउटरको प्रसारण क्षमता बन्द गरिएको छ । साथै, त्यस्तै प्रकृतिका अन्य करिब ६० वटा राउटरमा पनि सावधानीस्वरूप उक्त सुविधा बन्द गरिएको छ ।
तर प्राविधिक खराबीको वास्तविक कारण र त्यसमा उपकरणको त्रुटि वा जडान गर्ने ठेकेदार कम्पनीको कमजोरीमध्ये कुन जिम्मेवार थियो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमण वा बाह्य हस्तक्षेपको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।
यातायातमन्त्री डफीले पनि यो घटना साइबर आक्रमणका कारण भएको प्रमाण नभेटिएको बताएका छन् । एफएए र त्यसको नेटवर्क सेवा प्रदायक कम्पनी एलथ्रीह्यारिसले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन् ।
शुक्रबार उडान रोक्ने निर्णय हुँदा अमेरिकी आकाशमा ३ हजार ५०० भन्दा बढी विमान उडिरहेका थिए । ती सबै विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
उडान रोकिएको समयमा केही विमानलाई अन्य विमानस्थलतर्फ मोडिएको थियो भने केहीले गन्तव्यसम्मको यात्रा पूरा गरेका थिए । विमानस्थलमा रहेका यात्रु भने घण्टौँसम्म अलपत्र परेका थिए । कतिपय यात्रु विमानभित्रै रोकिएका थिए भने कतिपयले विमानस्थलमै रात बिताउनुपरेको थियो ।
यसको असर अमेरिका बाहिरका उडानमा समेत परेको थियो । युरोप र बेलायतबाट अमेरिकातर्फ आउने तथा अमेरिकाबाट बाहिरिने केही अन्तर्राष्ट्रिय उडानसमेत रद्द भएका थिए ।
हवाई प्रणाली आधुनिकीकरण गर्न ५० अर्ब डलर माग
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई यातायात नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि कंग्रेसलाई थप बजेट स्वीकृत गर्न आग्रह गरेका छन् ।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अहिले प्रयोग भइरहेको हवाई नियन्त्रण प्रणालीका धेरै उपकरण ५० वर्ष पुराना रहेको उल्लेख गर्दै एकैपटक आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।
यातायातमन्त्री डफीले पनि एटीसी प्रणालीको पूर्ण स्तरोन्नतिका लागि ५० अर्ब डलर आवश्यक पर्ने बताएका छन् । यसअघि उनले ३० अर्ब डलरको माग गरेका थिए ।
सन् २०२५ मा कंग्रेसले हवाई यातायात नियन्त्रण प्रणालीको सुधारका लागि १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो । तर त्यस रकममध्ये करिब ११ अर्ब डलर अझै खर्च हुन बाँकी रहेको भन्दै विपक्षी डेमोक्रेटिक सांसदहरूले थप बजेट माग्नुको औचित्यमाथि प्रश्न उठाएका छन् ।
डफीले भने यसअघि स्वीकृत रकम निश्चित पूर्वाधार सुधारका लागि मात्र छुट्याइएको र हवाई क्षेत्र व्यवस्थापन गर्ने नयाँ सफ्टवेयर निर्माणका लागि पर्याप्त बजेट नभएको बताएका छन् ।
अमेरिकी उड्डयन प्रणालीमा पुरानो प्रविधि, उपकरणको समस्या र एयर ट्राफिक कन्ट्रोलरको अभाव लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ । पछिल्लो घटनाले त्यसको कमजोरी पुनः उजागर गरेको विज्ञहरूको भनाइ छ ।