अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको समस्याका कारण अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाएको थियो।
शुक्रबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ५४ मिनेटमा जारी गरिएको उक्त प्रतिबन्ध राति ८ बजेर १५ मिनेटमा हटाइएको एफएएले जनाएको छ। प्रतिबन्ध हटेसँगै विमान सेवा पुनः सञ्चालनमा आए पनि विमान र चालक दललाई निर्धारित स्थानमा फर्काउनुपर्ने भएकाले उडानमा ढिलाइ तथा रद्द हुने क्रम जारी रहेको छ।
उडान ट्र्याकिङसम्बन्धी वेबसाइट फ्लाइटअवेयरका अनुसार उक्त समस्याका कारण १० हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने ४ हजारभन्दा बढी उडान रद्द भएका छन्। प्रतिबन्ध जारी हुँदा ४ हजार ४२ वटा विमान अमेरिकी विमानस्थलतर्फ उडानमा रहेको फ्लाइटराडार२४ ले जनाएको छ।
एफएएका अनुसार देशका सबै २२ वटा एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चारसम्बन्धी समस्या देखिएको थियो। प्रशासनले सुरुमा अस्थायी दूरसञ्चार अवरोधका कारण सावधानीस्वरूप सबै उडान रोक्ने निर्णय गरेको जनाएको थियो। अन्तर्राष्ट्रिय उडान भने परिस्थितिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गरिने बताइएको थियो।
अमेरिकी होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले भने उक्त घटना कुनै सुरक्षा खतराका कारण भएको संकेत नरहेको बताएका छन्। उनका अनुसार सबै यात्रु सुरक्षित छन् र उडानमा रहेका विमानको अवस्था पनि जानकारीमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत घटनाबारे जानकारी गराइएको उनले बताए।
सञ्चार प्रणालीमा आएको समस्या साइबर आक्रमण वा आपराधिक गतिविधिका कारण भएको भन्ने विश्वास नरहेको एफबीआई अधिकारीलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ। यद्यपि, सफ्टवेयर अपडेटका कारण समस्या उत्पन्न भएको हुन सक्ने विषयमा अनुसन्धान भइरहेको छ। समस्याको वास्तविक कारण भने अझै पत्ता लाग्न सकेको छैन।
यसैबीच, अमेरिकी हवाई ट्राफिक व्यवस्थापनका लागि कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नयाँ प्रणाली विस्तार गरिएको विषय पनि अनुसन्धानको दायरामा आएको छ। तर उक्त प्रणाली विकास गर्ने कम्पनी एयर स्पेस इन्टेलिजेन्स (एएसआई) ले आफ्नो प्रविधिका कारण पछिल्लो समस्या उत्पन्न नभएको स्पष्ट पारेको छ। एफएएले गत जुनमा उक्त प्रणाली विकास तथा कार्यान्वयनका लागि कम्पनीलाई ८७ करोड ५० लाख अमेरिकी डलरको ठेक्का दिएको थियो।
हवाई उडान प्रभावित भएपछि अमेरिकी राष्ट्रिय रेल सेवा प्रदायक एमट्र्याकको वेबसाइट र मोबाइल एपमा समेत समस्या देखिएको छ। यात्रुको चाप र फोनमार्फत सम्पर्क गर्नेको संख्या बढेपछि सेवा लिन कठिनाइ भएको कम्पनीले जनाएको छ।
अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणाली लामो समयदेखि पुराना उपकरण, सञ्चार समस्या र कर्मचारी अभावका कारण दबाबमा रहँदै आएको छ। गत वर्ष प्रणाली सुधारका लागि अमेरिकी संसद्ले १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो। अहिले यातायात विभाग र ह्वाइट हाउसले थप ३० अर्ब १० करोड डलर बजेट माग गरेका छन्।
सन् २०२३ को जनवरीमा एफएएको महत्त्वपूर्ण कम्प्युटर प्रणालीमा खराबी आएपछि पहिलोपटक अमेरिकाभर उडान रोकिएको थियो। त्यसअघि सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि देशभरका उडान रोकिएका थिए। पछिल्लो घटनाको वास्तविक कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान जारी राखेका छन्।