रिङ्दीमा सडक भासिएपछि सडक पूर्वाधार विकास कार्यालयले माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेर यातायात पुनः सञ्चालन गरेको हो।
पाल्पा — डेढ महिनादेखि अवरुद्ध आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडक सञ्चालनमा आएको छ । निस्दी गाउँपालिका–५, गल्धाको रिङ्दीमा सडक भासिएपछि अवरुद्ध भएको खण्डमा नयाँ ट्रयाक खोलेर यातायात सञ्चालन गरिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पाको पूर्वी भेगलाई सदरमुकाम तानसेनसँग जोड्ने यो सडक गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण रिङ्दीमा जगैदेखि भासिएपछि सवारी आवागमन ठप्प भएको थियो । सडकको २०० मिटरभन्दा बढी भाग पाँच मिटरभन्दा तल भासिएकाले तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन कठिन भएको थियो ।
सडक पूर्वाधार विकास कार्यालयले भासिएको स्थानको विकल्पमा माथिल्लो भेगबाट नयाँ ट्रयाक खोलेपछि यातायात सञ्चालनमा आएको सूचना अधिकारी तेजप्रसाद अधिकारीले बताए । यहाँ झन्डै ३०० मिटर सडक चर्कनुका साथै २०० मिटर पक्की सडक पूरै भासिएको थियो । भासिएको सडकमा नयाँ ट्रयाक खोल्नसमेत ढिलाइ भएकामा स्थानीय आक्रोशित थिए ।
सडक भासिएर सवारीसाधन सञ्चालन हुन नसक्दा निस्दी गाउँपालिकाका पाँचवटा वडा तथा रामपुर नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । दैनिक आवतजावत, खाद्यान्न तथा निर्माण सामग्री ढुवानी र अत्यावश्यक सेवाका लागि समेत समस्या भएको थियो । लामो समयपछि सडक सञ्चालनमा आएपछि स्थानीयलाई राहत मिलेको छ ।
सडक भासिएको स्थानको भौगर्भिक अवस्था जटिल देखिएकाले दीर्घकालीन समाधानका लागि भूगर्भविद्बाट अध्ययन गर्नुपर्ने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । सडकको ठूलो भाग चर्किएको र पहाडसमेत धसिएको देखिएकाले सामान्य मर्मतबाट समस्या समाधान नहुने कार्यालयको भनाइ छ ।
सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख सागर मरासिनीले दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन आवश्यक रहेको बताए । तत्कालका लागि माथिल्लो भेगबाट नयाँ ट्रयाक खोल्ने योजना अघि बढाएर सडक सञ्चालनमा ल्याउन सम्भव भएको उनले बताए ।
सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङबाट जब्गादी, बेलडाँडा हुँदै रामपुर पुग्ने ४९ किलोमिटर लामो यो सडक पूर्वी पाल्पाको महत्त्वपूर्ण मार्ग हो । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनामा समेटेको भए पनि स्तरोन्नति र मर्मतसम्भारमा पर्याप्त बजेट विनियोजन हुन नसकेको स्थानीयको गुनासो रहँदै आएको छ ।
सडक खुले पनि भासिएको खण्डको दीर्घकालीन समाधान, स्तरोन्नति र सुरक्षित आवागमनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने स्थानीय निस्दी गाउँपालिका–५, गल्धाका तिलक सोमै मगरले बताए । उनका अनुसार ट्रयाक नखुल्दा चार किलोमिटर साँघुरो र कच्ची सडक भएर सवारीसाधन सञ्चालन गर्नुपरेको थियो । यहाँ पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सन्दीप राना, प्रदेशसभा सदस्य राजु श्रेष्ठ, निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु र सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मरासिनीलगायतले अध्ययन गरेर मात्र सडकको स्तरोन्नति गर्नुपर्ने बताएका थिए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।