कतारले भोगीरहेको आर्थिक संकटको वाँछिटा नेपालसम्मै आइपुग्ने निश्चित छ । किनकी कतारमा रहेको विदेशी श्रमशक्तिमा नेपाली श्रमिकको स्थान तेस्रो छ। नेपालीको मुख्य श्रम गन्तव्य देशको अर्थतन्त्रमा परिरहेको प्रभाव हामीले कसरी चुकाउनुपर्छ ?
काठमाडौँ — नेपालीहरुको मुख्य श्रम गन्तव्य रहेको कतार यतिबेला आफ्नै संकटसँग जुँधिरहेको छ । कतारले भोगीरहेको संकटको वाँछिटा भने नेपालसम्मै आइपुग्ने निश्चित छ । किनकी कतारमा रहेको विदेशी श्रमशक्तिमा नेपाली श्रमिकको स्थान तेस्रो छ। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति (नयाँ र नवीकरण) लिएर पछिल्लो तीन वर्षमा कतार जाने नेपालीको संख्या ४ लाख ७ हजार ५ सय १२ जना रहेको छ । नेपालीको मुख्य श्रम गन्तव्य देशको अर्थतन्त्रमा परिरहेको प्रभाव हामीले कसरी चुकाउनुपर्छ ? यो बिषय किन संवेदनशिल छ ? हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
१. कतारको अर्थतन्त्रमा युद्धले कस्तो धक्का पारेको छ ? विश्व बैंकको अक्टोबर २०२६ को प्रतिवेदनअनुसार कतारको वास्तविक जीडीपी २०.९ प्रतिशतले संकुचन हुने अनुमान छ। सन् २०२५ मा कतारको आर्थिक वृद्धि १.८ प्रतिशत थियो। रास लाफानको प्राकृतिक ग्यास उत्पादन केन्द्रमा आक्रमणपछि उत्पादन लगभग पूर्ण रूपमा रोकिएको थियो। निर्यात क्षमता करिब १७ प्रतिशतले घटेको छ। गत मार्चदेखि अगस्टसम्मको ६ महिनामा ग्यास निर्यात ९६ प्रतिशतले घटेको छ।
२. सरकारको आम्दानी र खर्चमा कस्तो असर परेको छ ? कुल सरकारी राजस्व र वस्तु निर्यातको करिब ८० प्रतिशत हाइड्रोकार्बन क्षेत्रबाट आउँछ। २०२६ को पहिलो ६ महिनामा कुल सरकारी आम्दानी ४१.९ प्रतिशतले घट्यो। हाइड्रोकार्बन राजस्व ५६.१ प्रतिशत र गैरतेल तथा ग्यास क्षेत्रको आम्दानी ८.९ प्रतिशतले घट्यो। सरकारी खर्च १४.१ प्रतिशतले घटाइएको थियो। तैपनि बजेट घाटा ३१.५ अर्ब कतारी रियाल पुग्यो, जुन जीडीपीको करिब १० प्रतिशत हो। सरकारले सावधानीस्वरूप सञ्चालन खर्चमा ३० प्रतिशतसम्म कटौती गरेको छ।
३. नेपाली श्रमिकको रोजगारीमा के असर देखिएको छ ? वैदेशिक रोजगार विभागका अनुसार युद्ध सुरु भएको फागुनदेखि भदौसम्मको ६ महिनामा कतार जाने नेपालीको नयाँ श्रम स्वीकृति ३५.०८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा २८ हजार १ सय ४ जनाले स्वीकृति लिएका थिए, यसपटक संख्या करिब १८ हजारमा सीमित भयो। पर्यटक, होटल र निर्माणजस्ता क्षेत्रमा सुस्तता आएको छ, जहाँ नेपाली श्रमिक ठूलो संख्यामा कार्यरत छन्। कतारस्थित नेपाली दूतावासका अनुसार श्रमिक कटौती र समयमा तलब नपाएको गुनासो बढ्न थालेको छ। विश्व बैंकका अनुसार श्रम बजारमा कति प्रभाव पर्यो भन्ने यकिन गर्न पर्याप्त तथ्यांक उपलब्ध छैन।
४. नेपालको रेमिट्यान्समा कतिको असर पर्न सक्छ ? राष्ट्र बैंकका एक अधिकारीका अनुसार खाडी क्षेत्रबाट कुल रेमिट्यान्सको करिब ४६ प्रतिशत आउने अनुमान छ, तर कतारको छुट्टै हिस्सा यकिन छैन। सन् २०२३ को नेपाल जीवनस्तर सर्वेक्षणअनुसार विदेशबाट रेमिट्यान्स पठाउने व्यक्तिमध्ये १०.५ प्रतिशत कतारमा थिए। कतारमा नेपाली श्रमिकको स्थान तेस्रो छ र आप्रवासीमध्ये ११.४ प्रतिशत नेपाली छन्। पूर्वराजदूत नारदनाथ भारद्वाजका अनुसार नयाँ श्रमिकको माग र विद्यमान रोजगारी कटौती भए नेपालको अर्थतन्त्रमा पनि असर पर्छ।
५. कतार यो संकट कसरी धान्दै छ र अब के हुने सम्भावना छ ? कतारसँग ठूलो सार्वभौम सम्पत्ति कोष, विदेशी लगानी र वित्तीय सञ्चिति छ। सार्वजनिक ऋण मध्यम र बैंकिङ क्षेत्र पर्याप्त पुँजी तथा तरलतायुक्त रहेको विश्व बैंकले जनाएको छ। कतारी अमिर शेख तमिम बिन हमाद अलथानीले अत्यावश्यक सेवा र विकासका प्राथमिकतामा सम्झौता नगरिएको बताएका छन्। उनका अनुसार आगामी पाँच वर्षमा करिब २२१ अर्ब कतारी रियाल मूल्यका परियोजना तथा लगानीका अवसर छन्। विश्व बैंकले सन् २०२७ मा अर्थतन्त्र २६.७ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण ग्यास उत्पादन पुनः सुरु हुने र नर्थ फिल्ड इस्ट परियोजना क्रमशः सञ्चालनमा आउने अपेक्षामा गरिएको हो। द्वन्द्व लम्बिए र पुनर्निर्माणमा ढिलाइ भए पुनरुत्थान कमजोर हुन सक्छ।
होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।