आइतबार दुबईतर्फ गएको कँडेल नेतृत्वको टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कँडेलसहित प्रहरी निरीक्षक देवराज काफ्ले र लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी गोविन्द राउत रहेको नेपाल प्रहरीका सहप्रवक्ता दिपशमशेर जबराले कान्तिपुरलाई बताए ।
काठमाडौँ — दुबईमा हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेल नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।
दुई अघि यही सम्मेलनमा सहभागी हुन भन्दै गृहमन्त्री सुधन गुरुङ स्वयम् दुबईतर्फ लागेका थिए । विशुद्ध पुलिसिङबारे बहस हुने सम्मेलनमा सहभागी हुन भन्दै प्रहरीको प्रतिनिधित्व गर्ने टोलीभन्दा पहिले गृहमन्त्री गुरुङ दुबई गएका थिए । त्यसक्रममा उनले दुबईमा रहेका नेपाली श्रमिक र व्यवसायीहरुसँग समेत भेटघाट गरेका छन् ।
आइतबार दुबईतर्फ गएको कँडेल नेतृत्वको टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत कँडेलसहित प्रहरी निरीक्षक देवराज काफ्ले र लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी गोविन्द राउत रहेको नेपाल प्रहरीका सहप्रवक्ता दिपशमशेर जबराले कान्तिपुरलाई बताए ।
सुरुमा यो कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसी नै सहभागी हुने तयारी थियो । तर, अन्तिममा उनी गएनन् । बरु गृहमन्त्री स्वयम् सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलनको वेवसाइटमा उल्लेख भएअनुसार, विश्वका केही मुलुकका आन्तरिक मामिला मन्त्रीहरुले वक्ताका रुपमा सहभागिता जनाउँदैछन् । तर, नेपालबाट वक्ताको रुपमा सहभागी हुने विषय वेवसाइटमा उल्लेख छैन । दक्षिण छिमेक भारतबाट चाहिँ महाराष्ट्र प्रदेश साइबर डिपार्टमेन्टबाट एडीजीपी याश्वी यादव, सेक्यूर कम्युनिटी फोरमकी सल्लाहकार सदस्य आरुषी गोयल, नेश्नल फरेन्सिक साइन्स युनिटभर्सिटीबाट डा. निले मिश्री र बोर्डर सेक्यूरिटी फोर्सका पूर्वअधिकारी डा. राज अरोरा वक्ताका रुपमा सहभागी हुँदैछन् ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।