२१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्दै देउवा पक्ष
काठमाडौँ — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व कसले गर्ने भन्नेमा नेताहरूबीच प्रतिस्पर्धा सुरु भएको छ । समानान्तर महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि नेताहरूले तयारी थालेका हुन् ।
देउवा पक्षबाट नेतृत्व लिन शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत र एनपी साउदसहितका नेताहरूको नाम अहिले चर्चामा छ ।
देउवा पक्षले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन सकेर आगामी २१–२३ मंसिरमा काठमाडौंमा समानान्तर केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेसँगै कसलाई सभापति बनाउने भन्ने विषय समूहभित्र मुख्य चासो देखिने गरेको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद कायम रहेको अवस्थामा महाधिवेशनसम्म सबै आकांक्षीलाई एउटै समूहमा अड्याइराख्नु देउवा समूहका लागि मुख्य चुनौती देउवासहितका अधिकांश नेताहरूले तत्काल प्रतिस्पर्धामा उत्रिनेभन्दा सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने मत राख्दै आएका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवाद कायम रहेको अवस्थामा देउवा समूहका लागि मुख्य चुनौती महाधिवेशनसम्म सबै आकांक्षीलाई एउटै समूहमा अड्याइराख्नु देखिएको छ । यसैका लागि एनपी साउद र प्रकाशशरण महतले सहमति हुन नसके मात्रै आफूहरू प्रतिस्पर्धामा उत्रिने बताउँदै आएका छन् । तर, विमलेन्द्र निधिले भने प्रतिस्पर्धामा नउत्रिने कुनै ‘सर्त’ सार्वजनिक गरेका छैनन् । उनीनिकट नेताहरूका अनुसार निधिले सभापतिको उम्मेदवार बन्ने गरी आन्तरिक तयारी गरिरहेका छन् ।
निधिले १४ औं महाधिवेशनमा पनि देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला देउवा, शेखर कोइराला, निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ सभापतिका प्रत्याशी थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा निधि, सिंह र गुरुङ तीनै जनाले देउवालाई समर्थन गरेका थिए । अहिले पनि देउवा पक्षभित्रै नेतृत्वको दाबेदारका रूपमा निधिको नाम विशेष चर्चामा छ । नेतृत्वको तयारीबारे निधिले अहिले नबोल्ने बताए ।
देउवा समूहको संयोजक अहिले शशांक कोइराला छन् । यसअघि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको नेतृत्व गर्दै आएका थिए । तर, पार्टी विभाजनको जोखिम लिनुपर्ने अवस्था आएपछि खड्का पछि हटेका थिए । गत साउन अन्तिम साता आयोजित राष्ट्रिय भेलाअघि देउवा पक्षले कोइरालालाई संयोजकको जिम्मेवारी दिएको थियो । त्यसयता खड्का कुनै पनि पक्षमा खुलेर नलागी अलग्गै बसेका छन् । उनीनिकट केही नेता भने गगन थापा नेतृत्वको संस्थापन पक्षमा गएर १८–२३ असोजमा सम्पन्न १५ औं महाधिवेशनमा सहभागी भएका थिए ।
देउवा शशांकलाई नेतृत्वमा अघि सार्ने मनस्थितिमा रहेको उनी निकट नेताहरूको भनाइ छ । आफ्नो नाममा सर्वसम्मति नभएमा चुनावी प्रतिस्पर्धा गर्ने कि नगर्ने भन्नेमा शशांक टुंगोमा पुगेका छैनन् । उनका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार सभापतिकै लागि तयारी भइरहेकाले अरू कुरामा प्रवेश नभएको हो ।
महत र साउद शशांकको नाममा सर्वसम्मत गराएमा आफूहरूलाई मान्य हुने संकेत गरिरहेका छन् । उनको नाममा सर्वसम्मत नभएमा भने आफूहरू पनि प्रतिस्पर्धी रहेको दुवै नेता बताउँछन् ।
महतले शशांकलाई संयोजक दिँदा नै पछिसम्मका लागि भनेर दिइएको बताउँछन् । ‘शशांकका नाममा सहमति हुँदा मेरो पनि समर्थन रहन्छ, तर सहमति हुन सकेन भने म पनि प्रतिस्पर्धी नै हो,’ उनले भने । आफ्नो प्रतिस्पर्धाका बारेमा साउदले अहिल्यै नबताउने भने पनि निकट नेताहरूसँगको छलफलमा भने राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक चुनौतीसँग सामना गर्न सक्ने उमेर समूहका नेता आफूनै रहेको तर्क गर्दै आएका छन् ।
नेविसंघका पूर्वसभापतिसमेत रहेका साउदले रास्वपाका सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह र पार्टीभित्र गगन थापा नेतृत्वको संस्थापन पक्षसँगको चुनौतीलाई हेरेर नेतृत्व चयन हुनुपर्ने उनको भनाइ छ । ‘शशांककै नाममा सहमति भए त्यसलाई मानेर जान सकिन्छ, तर सहमति हुन सकेन भने सबै कोणबाट नेतृत्वका लागि म उपयुक्त पात्र हुँ भन्ने एनपीजीको कुरा छ,’ उनको निकट रहेका एक नेताले भने, ‘आफूले नेतृत्व लिन पाएमा पार्टीलाई सबैको सम्मानजनक हैसियत हुने गरी आउने स्थानीय र प्रदेश निर्वाचन अगाडि नै एकता गराउन सकिन्छ भन्ने आत्मविश्वास पनि उहाँमा देखिन्छ ।’
नेता सिंह र कृष्णप्रसाद सिटौला यसबारेमा बोलेका छैनन् । तर, उनीहरू दुवैको मत पनि सर्वसम्मतिकै पक्षमा देखिएको छ । सहमति हुन नसक्ने भएमा मात्रै त्यसपछिको परिस्थिति हेरेर आफूहरूले निर्णय गर्ने सिंह र सिटौलाले बताउँदै आएका छन् । आफ्नो आकांक्षाबारे उनीहरूले केही बताएका छैनन् ।
देउवा समूहभित्र नेतृत्वको प्रश्नसँगै हिन्दु धर्मको विषयमा मतभिन्नता छ । निधिले नेतृत्वको आकांक्षा राख्नुका पछाडि गत राष्ट्रिय भेलाबाट पूर्वसभापति देउवाको जोडमा पारित भएको हिन्दु धर्मसम्बन्धी नीति पनि मुख्य कारण बनेको नेताहरू बताउँछन् । गत २९–३१ साउनमा देउवा पक्षले काठमाडौंमा राष्ट्रिय भेला गरेको थियो । उक्त भेलाबाट सनातनदेखि चलिआएको हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको थियो । निधिसहित सिटौला, सिंहलगायतका नेताहरू त्यसको पक्षमा खुलेका थिएनन् ।
निधिले संविधान जारी भएदेखि नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणालीलगायतका संविधानका मूलभूत विषयलाई २०६२/०६३ को जनआन्दोलनको मुख्य उपलब्धिका रूपमा लिँदै आएका छन् । आफ्नै पार्टीको नेतृत्वको जारी संविधानलाई भत्काउने गरेर हिन्दु धर्मको विषय झिक्न नहुने तर्क गर्दै आएका छन् । त्यसै कारण राष्ट्रिय भेलाबाट हिन्दु धर्मको लाइन पारित गर्न खोज्दा नै निधि र महतबीच नोकझोंक भएको थियो । निधिसहित प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताहरू संविधानलाई कमजोर बनाउने गरी ल्याइएको हिन्दु धर्म नीतिको पक्षमा थिएनन् । त्यसमा असहमति राख्ने अधिकांश नेता गत असोजमा संस्थापनपक्षमा प्रवेश गरेका थिए ।
देउवा, शशांक कोइराला, महत, साउद र शंकर भण्डारीलगायत नेताहरू भने भेलाबाट पारित हिन्दु धर्मसम्बन्धी प्रस्तावको पक्षमा उभिँदै आएका छन् । हिन्दु धर्मको मुद्दामा देखिएको यही मतभेद अहिले पनि पूर्ण रूपमा साम्य भइसकेको छैन । निधि आफ्नो पूर्ववत् अडानमा छन् भने देउवा र शशांकसहितका नेताहरू भेलाबाट पारित प्रस्तावको पक्षमा नै छन् । ‘नेतृत्वका आकांक्षीबीच यही मुद्दाले पनि सहमतिको प्रयास जटिल हुने देखिन्छ,’ देउवा पक्षका अर्का एक नेताले भने ।
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।