Trending
Prev Story
Next Story

विचार | एमालेमा विद्या कि ‘मदन २.०’ ?

Ekantipur •
November 15, 2026 • 02:32 PM
4
4 reads 0 reactions

आज एमाले ओलीको दम्भ र एकमनावाद अनि विद्याको पुनरागमनको तरंगमा फसेको छ । जबकि आवश्यकता मदन जस्तै अर्काे स्वप्नद्रष्टाको छ, जसले नयाँ परिवेश र सन्दर्भमा नेतृत्व लिन सकोस्।

विचार | एमालेमा विद्या कि ‘मदन २.०’ ?

आज एमाले ओलीको दम्भ र एकमनावाद अनि विद्याको पुनरागमनको तरंगमा फसेको छ । जबकि आवश्यकता मदन जस्तै अर्काे स्वप्नद्रष्टाको छ, जसले नयाँ परिवेश र सन्दर्भमा नेतृत्व लिन सकोस्।

पूर्वराष्ट्रपति विद्या भण्डारीको अघिल्तिर अब यो पदवीको फुर्को गाँसिराख्नु आवश्यक रहेन । उनी एमालेको वरिष्ठ नेता कहलिनमै बढी रमाएकी छन् । पार्टी सदस्यता पुन: प्राप्तिका लागि नेतृत्वसँग ठूलै संघर्ष गरेकी उनी अहिले रोलक्रममा अध्यक्ष केपी शर्मा ओली पछिकी नेता हुन् । मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलामा उनको भूमिका अझ मुखरित हुनेछ । बताइएअनुसार, उक्त भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई राजनीतिक मार्गदर्शन गर्नेछिन् । भेलामा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतले अबको स्थानीय तह निर्वाचनमा कार्यकर्ताको भूमिकाका विषयमा बोल्ने तय भएको छ । यद्यपि, ‘घर’ फर्किएपछि विद्याले विशेष सम्बोधनमार्फत राजनीतिक मार्गनिर्देश गर्ने कुराले एमालेवृत्त तरंगित छ ।

एमालेमा विद्या पुनरागमनको तरंगसँगै प्रश्नहरू पनि उठेका छन् । कमजोर र अलमलिएको पार्टीपंक्तिलाई विद्याले के साँच्चिकै राजनीतिक मार्गनिर्देश गर्न सक्लिन् ? मदन भण्डारीको पारिवारिक विरासतबाट राजनीतिको उपल्लो ओहदा हासिल गरिसकेकी उनको एमालेलाई फेरि जुझारु र गतिशील बनाउने सूत्र के हो ? प्रश्न विद्याको योग्यता र भूमिकालाई लिएर मात्रै उठेको छैन । नेतृत्व पुस्तान्तरणको चर्को दबाबपछि बाध्य भएर विद्या भित्र्याएका ओलीको भूमिका पनि प्रश्नको घेरामै छ । सर्वदा विद्यालाई आफ्नो नेतृत्व छायामा राख्दै आएका ओलीले के अब उनलाई अघि बढाउन खोजेका हुन् अथवा उनको पुनरागमन एमालेको आन्तरिक शक्ति संरचनामा अर्को गुटकेन्द्र थपिने घटनाक्रम मात्रै हो ? व्यक्तिकेन्द्रित देखिने यी प्रश्नको अन्तर्यमा एमालेको उहापोह लुकेको छ ।

आमनिर्वाचनमा लज्जास्पद पराजयपछि एमाले संकटग्रस्त अवस्थामा छ । तर, उसको अहिलेको संकट चुनावी पराजय मात्रै होइन, बरु राजनीतिक सान्दर्भिकता गुमाउँदै गरेको एमालेको नेतृत्वको विश्वसनीयता र राजनीतिक दिशाहीनता यतिबेलाको मुख्य चुनौती हो । यी चुनौती र उठेका प्रश्नलाई थाती राख्दै एमाले राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ, जो आउँदो स्थानीय तह निर्वाचनमा कार्यकर्ता परिचालनलाई बलियो बनाउने उद्देश्यबाट प्रेरित देखिन्छ । बदलिएको राजनीतिक परिवेशमा आफ्नो सन्दर्भ रक्षाको चुनौतीपूर्ण अवस्था खेपिरहेको एमाले फगत कार्यकर्ता परिचालन रणनीतिमा केन्द्रित हुँदैमा यो पार्टी संक्रमण र संकटबाट बाहिर निस्केला ? जनता र मतदातासँगको सम्बन्ध र विश्वास पुन जोड्ने एमालेको कडी र मुद्दा के हो ? के पार्टी पुनर्गठन र नेतृत्व पुस्तान्तरणको मुद्दा छोडेर गर्न लागिएको राष्ट्रिय कार्यकर्ता भेलाले नवजागरण ल्याउन सक्ला ? भेलाको मुखैमा यी प्रश्नमा विमर्श सान्दर्भिक हुनेछ ।

कुरा थालौं, राष्ट्रिय कार्यकर्ता भेलाको औचित्यको प्रश्नबाट ।

एमालेमा पार्टी पुनर्गठन र नेतृत्व पुस्तान्तरणको आवाज उठाउने कित्ताको बल पुगेको भए सायद यतिबेला राष्ट्रिय कार्यकर्ता भेला होइन, विशेष महाधिवेशनको चटारोमा हुने थियो । एमालेमा ओलीप्रति असन्तुष्टि नभएको होइन । उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अघि सारेको नेतृत्व परिवर्तनको बहस अहिले पनि यहाँभित्र सुषुप्त छ । तर, विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने वैधानिक आधार असन्तुष्ट पक्षधरसँग नभएपछि त्यो तुहियो । नेतृत्व परिवर्तनको मुद्दा निस्तेज भएपछि एमाले राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ । यसलाई कतिपयले पार्टीको सामूहिक आवश्यकता नभई ओलीको रणनीतिक पहलका रूपमा बुझेका छन् ।

अब एकैछिन, यो भेलाको केही अन्तर्निहित पाटा केलाऔं ।

पहिलो, ओली भेलामार्फत आन्तरिक खिचलो नभएको र नेतृत्वमा आफ्नो बलियो पकड भएको सन्देश आम कार्यकर्तालाई दिन चाहन्छन् । पछिल्लो समय चुनावको समीक्षा र पराजयको जिम्मेवारी लिनुपर्ने आवाजसहित नेतृत्व परिवर्तनको मुद्दा बलियो ढंगले उठेको थियो । तर, केन्द्रीय कमिटी बैठकले नेतृत्व परिवर्तनको मुद्दा अघि नबढाउने भनेपछि त्यो मुद्दा निस्तेज भयो । भेलामार्फत ओली पार्टीभित्र आफ्नो बलियो वर्चस्व देखाउन चाहन्छन् ।

दोस्रो, स्थानीय तह निर्वाचनमा कार्यकर्ता परिचालन रणनीति बनाउने उद्देश्य पनि यो भेलाको देखिन्छ । आम निर्वाचनमा नराम्ररी हारेको एमाले आउँदो स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न अहिलेबाटै भरमग्दुर प्रयासमा छ भन्ने यो भेलाको अर्को सन्देश हो ।

तेस्रो, स्थानीय तह चुनावको तयारीसँगै पार्टी संगठनलाई पनि भुइँतहबाटै सक्रिय र संगठित पार्दै लैजाने एजेन्डा पनि भेलाले बोकेको छ । भेलालगत्तै वडा अधिवेशन, पालिका अधिवेशन अनि प्रदेशस्तरीय कार्यक्रम तय गर्नुको अर्थ हो, तल्लो तहबाटै संगठनको परिचालन ।

चौथो, सत्ताच्युत भएबाटै ओलीले लगातार लोकतान्त्रिक प्रणाली रक्षाको पक्षमा अभिव्यक्ति दिँदै आएका छन् । सरकारले लोकतान्त्रिक पद्धति मिचेको र लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ओलीले कार्यकर्ता पंक्तिलाई राजनीतिक परिस्थितिप्रति पार्टीको दृष्टिकोण सुनाउन र बुझाउन भेलाको आयोजना गरेका हुन् ।

पाँचौं, ओली रास्वपा सरकारविरुद्ध सडक तताउन चाहन्छन् । संसद् पुन:स्थापनाको मुद्दा ब्युँताउन चाहन्छन् । उनी एमालेसहितका अरू कम्युनिस्ट पार्टी र सके कांग्रेसलाई पनि सम्मिलित गरेर सडक आन्दोलन गर्ने सोचमा छन् । त्यसका लागि कार्यकर्ता पंक्तिलाई तयारी अवस्थामा राख्ने अभिप्राय यो भेलाको हो ।

तर, के यी अभिप्राय र प्रयत्न एमालेको राजनीतिक संकट टार्न काफी हुन् ? संगठन चुस्त राख्न कार्यकर्ता परिचालन, आउँदै गरेको चुनावको तयारी र रणनीति बनाउने कुरा कुनै पनि पार्टीको आन्तरिक जीवनका आवश्यक कुरा हुन् । एमालेले एकै पटक साढे तीन हजार कार्यकर्ता जम्मा गरेर आफ्नो राजनीतिक कार्यदिशा बताउनु, बुझाउनुलाई अनुचित भन्न मिल्दैन । तर, यथार्थ के हो भने, एमालेलाई मतदाताले दुत्कारेका हुन् । कार्यकर्ता पंक्ति बलियो नभएका कारण एमाले पराजित भएको होइन । जनताका मुद्दाबाट विमुख हुँदै जाँदा यो पार्टीको नेतृत्वप्रति अविश्वास बढेको हो । पार्टी–सत्तामा एउटै र उही नेतृत्वको हालीमुहाली भइरहँदा त्यसबाट पार्टीवृत्त र नागरिक वृत्त दिक्दार भएपछि एमालेको अधोगति सुरु भएको हो । चुनावी रणनीति बनाउनुअघि यो पार्टीले आफैंमाथि निर्मम भएर शुद्धीकरण गर्नु जरुरी छ ।

एमाले तल्लो तहसम्मै सांगठनिक सञ्जाल भएको बलियो पार्टीका रूपमा परिचित छ । कार्यकर्ता परिचालन यसको समस्या होइन । जनतासँग सम्बन्धबाट टाढिनु, नेतृत्वको कार्यशैली, निम्छरो आन्तरिक लोकतन्त्र, नेतृत्वको केन्द्रीकरण र हैकमवाद यो पार्टीको संकटको जड हो । राजनीतिक पुनर्गठन नगरी कार्यकर्ता भेला गरेर निर्देशन थोपर्दैमा एमाले चोखिँदैन ।

राजनीतिक पुनर्गठन वा नेतृत्व परिवर्तनको अर्थ एक जना व्यक्तिलाई हटाएर अर्कोलाई स्थापित गर्ने विषय मात्रै होइन । यतिबेलाको मूल प्रश्न हो, गत वर्ष जेन–जी विद्रोह र त्यसपछि बदलिएको राजनीतिक परिवेशमा पुरानै कार्यशैली, पुरानै नेतृत्व र चिन्तनबाट कुनै पनि राजनीतिक दल अघि बढ्न सक्छ ? यो प्रश्न एमालेतिर पनि तेर्सिएको छ । बलियो सांगठनिक सञ्जाल भएको, लामो राजनीतिक विरासत बोकेको एमाले एकै पटक गल्र्यामगुर्लुम जसरी ढल्यो, के त्यसको जिम्मा र जवाफदेही नेतृत्वले लिनु पर्दैन ?

यतिबेला एमालेबाट परम्परागत मतदाता टाढिएका छन् नै, नयाँ पुस्तासँग त यसको साइनो नै छैन भने पनि हुन्छ । समाजमा नयाँ पुस्ताका आकांक्षा र सोचको बोलवाला बढिरहँदा एमाले उही पुरानै व्यक्तिकेन्द्रित एकमनावादी राजनीतिक बाटोमा हिँडिरहेको छ । एक जना पार्टी अध्यक्षले नीति बनाउने, आफू अनुकूल निर्णय गर्ने, त्यसलाई आवश्यकताअनुसार बदल्ने अर्थात् सर्वेसर्वा हुनु भनेको लोकतान्त्रिक दाबी गर्ने दलका लागि सुहाउने विषय होइन ।

ओली लामो राजनीतिक संघर्ष र अनुभव भएका नेता हुन् । नेपाली राजनीतिमा उनको संघर्षपूर्ण विगत योगदानका रूपमा दर्ज भइसकेको छ । तर, उनी विवादबाट घेरिँदै आएका पात्र पनि हुन् । सत्ता सञ्चालन र सुशासनका कैयौं विवादास्पद प्रकरणबाट घेरिएका ओली एमालेको नेतृत्व परीक्षणमा असफल पात्र हुन् । हिजोको त्याग र संघर्षको राजनीतिक योगदान भजाएर मात्रै उनको नेतृत्वको औचित्य सदासर्वदा स्थापित भइरहँदैन । यतिबेला एमालेलाई व्यक्तिकेन्द्रित होइन, जवाफदेही, नयाँ पुस्तालाई अवसर र हौसला दिने, आन्तरिक लोकतन्त्रको सम्मान गर्ने नेतृत्वको आवश्यकता छ । मुख्य कुरा, जनतासँगको सम्बन्धको टुटेको कडी जोड्न सक्ने अनुहार एमाले पुनर्जीवनको आधार हो, जो ओली होइनन् ।

के त्यसो भए त्यो आधार वरिष्ठ नेता विद्या भण्डारी हुन् त ?

विद्या आफ्नो सम्पूर्ण राजनीतिक प्रतिष्ठा दाउमा राखेर एमालेको राजनीतिमा फर्किएकी हुन् । दुई पटक राष्ट्रपति भइसकेकी विद्याको एमाले पुनरागमनलाई कार्यकर्ता पंक्तिले सकारे पनि नागरिक वृत्तले दुत्कारेको छ । उनले देश विकासमा योगदान दिन राजनीतिमा फर्केको भनेकी छन् तर नागरिक वृत्तले पत्याएको छैन । बरु, मर्यादा र विवेकको राजनीति कुल्चेको भनेर उनको सर्वत्र आलोचना भएको छ । आलोचनाका बाबजुद उनी एमालेमा ओलीको विकल्प बन्न फर्किएकी हुन् ।

एमालेमा ओलीविरुद्धको संगठित नेता/समूह धेरै किनाराकृत भए । धेरै नेता पार्टीबाट निकालिए । बचे–खुचेकाहरूले ओलीको विकल्पमा विद्यालाई सार्दा क्याम्प बलियो हुने अपेक्षाले उनलाई फर्किन उत्प्रेरित गरेका हुन् । तर, उनी फर्कंदैमा के एमालेले संकटबाट त्राण पाउँछ ? ओलीभन्दा उनी कुन अर्थमा फरक हुन् ? लामो समय एमालेको राजनीतिमा रहेकी विद्या ओलीको नेतृत्व छायामै हुर्केकी पात्र हुन् । उनी दुई पटक राष्ट्रपति बन्दा ओलीकै भूमिका हाबी थियो भन्ने एमालेजनलाई थाहा छ । ओली प्रधानमन्त्री हुँदा विद्याले रक्षाकवच बनेर उनका कैयौं असंवैधानिक कदमको प्रतिरक्षा गरिन् । यो पृष्ठभूमिमा एमाले भित्रिएकी विद्याले पार्टीका अर्को शक्तिकेन्द्रको नेतृत्व त गर्लिन् तर पार्टीलाई नयाँ दिशा कसरी देलिन् ? विश्वस्त हुने आधार छैन ।

कतिपयले विद्याको एमाले पुनरागमनलाई चीनसँग जोडेर विश्लेषण गरेको पनि पाइन्छ । तिनको तर्क छ, ‘चीन नेपालमा वाम एकता चाहन्छ र त्यो विद्याको नेतृत्वमा होस् भन्ने सदाशयता राख्छ ।’ कदाचित चीनको यस्ता सदाशयता वा विद्यालाई भरथेग नै छ भने पनि एमालेलाई नयाँ दिशा दिन उनी काबिल छिन् भन्ने आधार बनिहाल्दैन ।

यस्तो विश्लेषण उनका दुई वटा चीन भ्रमणलाई लिएर गरेको पाइन्छ । पहिलो, २०८२ जेठमा उनी पूर्वराष्ट्रपतिको हैसियतले चीनको एउटा कार्यक्रममा भाग लिन गइन् । भ्रमणलाई लिएर एमालेमा विवाद निम्तियो । एकथरी नेताले उनी एमाले नेताको हैसियतमा चीन भ्रमण गएकी हुन् भने । अर्कोथरीले एमाले नेता होइन, पूर्वराष्ट्रपतिको हैसियतमा गएकी बताए । त्यसपछि नै हो, उनको सदस्यता नवीकरण र पार्टीमा फर्किने विषय विवादित बनेको ।

विवादको लामो शृंखलापछि उनी वरिष्ठ नेताका रूपमा एमाले भित्रिइन् र अर्को चीन भ्रमणमा गइन् । त्यो भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग नेपालमा वामपन्थी एकता र सहकार्यबारे छलफल भएको खबर छापिए । यी घटनाक्रमले मात्रै चीन नेपालमा वाम एकता गर्न विद्यालाई भरथेग गर्दै छ भन्ने बलियो आधार हुन सक्दैनन् । खासमा चीन वा अरू छिमेकी मुलुक नेपाली राजनीतिमा ‘इन्गेजमेन्ट कूटनीति’ अभ्यास गरिरहेका हुन्छन् । विद्याप्रति चीनले देखाएको नरमभाव सायद त्यही ‘इन्गेजमेन्ट कूटनीति’को एउटा सानो अंश मात्रै हो । चीनको रोजाइमा विद्या छिन् वा उनले आफूलाई ‘चीनपरस्त’ देखिएर एमाले फर्किने आधार तयार पारेकी हुन् ? चीन र विद्याको सम्बन्ध बृहद् हिसाबले केलाउन बेग्लै विश्लेषण आवश्यक पर्छ । यद्यपि अहिलेको प्रश्न हो– एमाले फर्किएकी विद्याले यो पार्टीलाई नयाँ दिशा र दृष्टिकोण दिन सक्लिन् ? मदनको राजनीतिक विरासत र पारिवारिक पहिचानले विद्या एमालेको शीर्षस्थानमा पुग्न सक्लिन् । तर, त्यसलाई धान्ने राजनीतिक सामथ्र्य पारिवारिक विरासतले होइन, विचार र नेतृत्व क्षमता मात्रै दिन सक्नेछ ।

एमालेलाई २०४६ पछिको प्रजातान्त्रिक कालखण्डमा मदन भण्डारीले नयाँ दिशा दिएका थिए । नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातन्त्र र बहुदलीय प्रतिस्पर्धासँग जोड्ने श्रेय मदनलाई जान्छ । राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको मुद्दा बोक्दै जनतासँग संवाद गर्ने शक्तिका रूपमा उनले वैचारिक आधारसहितको एमाले निर्माण गरे । नेपालको वाम राजनीतिको त्यो ऐतिहासिक घुम्तीबाटै अघि बढेर आजको एमाले बनेको हो ।

मदनले निर्माण गरेको त्यो राजनीतिक विरासतमा टेकेर यो पार्टी र यसका थुप्रै नेता कैयौं पटक सत्तासीन भए तर त्यो वैचारिक विरासतलाई विस्तार गर्न सकेनन् । आज एमाले ओलीको दम्भ र एकमनावाद अनि विद्याको पुनरागमनको तरंगमा फसेको छ । जबकि आवश्यकता मदन जस्तै अर्काे स्वप्नद्रष्टाको छ, जसले नयाँ परिवेश र सन्दर्भमा नेतृत्व लिन सकोस् । मदनले बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग गर्दै कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेका थिए । अहिले एमालेलाई त्यस्तै राजनीतिक सिर्जनाशीलता भएको र जनतासँग जोड्न सक्ने क्षमता राख्ने प्रखर नेतृत्वको खाँचो छ । प्रविधिमा आएको चरम बदलावले राजनीतिक, सामाजिक आयामहरू फेरिएका छन् । अर्थतन्त्रले नयाँ चुनौतीको सामना गर्दै छ, सामाजिक न्याय, सुशासन र जवाफदेहिताको माग नयाँ पुस्ताले गर्दै छ । यस्तै संकटको घडीमा समाजले प्रखर नेतृत्व खोज्ने हो । के एमालेले ‘अर्को मदन’ (मदन २.०) खोजी गर्न सक्ला ? एमाले कार्यकर्ता भेलाले चुनावी रणनीति बनाउनुअघि राजनीतिक सान्दर्भिकता जोगाउन सक्ने नेतृत्वको खोजीमा केन्द्रित हुन सकोस् ।

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
एमालेमा विद्या कि ‘मदन २.०’ ?

एमालेमा विद्या कि ‘मदन २.०’ ?

एमालेमा विद्या कि ‘मदन २.०’ ? आज एमाले ओलीको दम्भ र एकमनावाद अनि विद्याको पुनरागमनको तरंगमा फसेको छ । जबकि आवश्यकता मदन जस्तै अर्काे स्वप्नद्रष्टाको छ, जसले नयाँ परिवेश र सन्दर्भमा नेतृत्व लिन सको...

#ओली #विद्या #एमा
Compare →
Nagarik News
1w ago
आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

आईजीपी विवादमा गोकुलको व्यंग्य : घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीको नेतृत्व परिवर्तनलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्।

#नेतृत्व #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612