विश्व एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको उल्लेख गर्दै दाहालले चीनको उदय, रूसको बढ्दो अन्तर्राष्ट्रिय भूमिका तथा ग्लोबल साउथका देशहरूबीचको सहकार्यलाई विश्व शक्ति सन्तुलनमा देखिएका महत्त्वपूर्ण परिवर्तन भएको बताए ।
काठमाडौँ — रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सार्वभौमिकता र विश्व शान्तिमा जोड दिएका छन् ।
आइतबार मस्कोमा ‘राष्ट्रहरूको स्वतन्त्रता’ विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सार्वभौमिकता, आत्मनिर्णयको अधिकार, विश्व शान्ति, सामाजिक न्याय र आर्थिक समानताको विषयलाई प्रमुखताका साथ उठाएका हुन्।
वर्तमान विश्व व्यवस्था गहिरो रूपान्तरणको चरणबाट गुज्रिरहेको उल्लेख गरे । ‘भू–राजनीतिक प्रतिस्पर्धा, व्यापार युद्ध, सैन्य तनाव र बढ्दो आर्थिक असमानताले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा चुनौती थपिएको छ’ उनले भने, ‘विश्वको राजनीतिक, आर्थिक, विक्तीय तथा सैन्य शत्ति सीमित देशहरूको हातमा केन्द्रित भइरहेका बेला कमजोर तथा विकासशील राष्ट्रहरूले वास्तविक स्वतन्त्रता र सार्वभौमिकताको अभ्यास कसरी गर्न सक्छन् भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।’ सम्मेलनमा ६० देशका नेता सहभागी छन् ।
उनले राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैमा आर्थिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता सुनिश्चित नहुने उल्लेख गर्दै ऋण निर्भरता, आर्थिक प्रतिबन्ध, प्रविधिमाथिको एकाधिकार, रणनीतिक आपूर्ति श्रृंखलामाथिको नियन्त्रण र बाहृय राजनीतिक हस्तक्षेपलाई नवऔपनिवेशिकताका नयाँ स्वरूपका रूपमा व्याख्या गरेका थिए ।
‘राष्ट्रिय सार्वभौमिकता भनेको स्वतन्त्र राज्यको औपचारिक अस्तित्व मात्र नभई जनताले आफ्ना राजनीतिक संस्था, प्राकृतिक स्रोत, आर्थिक नीति र विकासका प्राथमिकतामाथि लोकतान्त्रिक नियन्त्रण कायम गर्न पाउने अधिकार हो,’ उनको भनाइ थियो, ‘एक्काइसौं शताब्दीको संघर्ष आर्थिक लोकतन्त्र, प्रविधिगत सार्वभौमिकता र स्रोतसाधनमाथिको राष्ट्रिय नियन्त्रणसाग पनि जोडिनुपर्छ ।’
विश्व एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीय संरचनातर्फ अघि बढिरहेको उल्लेख गर्दै दाहालले चीनको उदय, रूसको बढ्दो अन्तर्राष्ट्रिय भूमिका तथा ग्लोबल साउथका देशहरूबीचको सहकार्यलाई विश्व शक्ति सन्तुलनमा देखिएका महत्त्वपूर्ण परिवर्तन भएको बताए ।
‘ब्रिक्स, सांघाई सहयोग संगठन लगायतका क्षेत्रीय तथा अन्तरक्षेत्रीय पहलहरूले अन्तर्राष्ट्रिय सहकार्यका वैकल्पिक मञ्च निर्माण भइरहेको छ,’ दाहालको भनाइ थियो, ‘तर बहुध्रुवीयताको अर्थ एउटा प्रभुत्ववादी संरचनाको स्थानमा अर्को प्रभुत्ववादी संरचना स्थापित हुनु नभएको स्पष्ट पार्दै उनले सबै राष्ट्रको सार्वभौमिक समानता, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र समान अधिकारमा आधारित विश्व व्यवस्था आवश्यक छ ।’
विश्वका विभिन्न क्षेत्रमा जारी युद्ध र सशस्त्र द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै उनले युद्ध तत्काल रोक्न र सबै विवादको समाधान संवाद, कूटनीति तथा शान्तिपूर्ण वार्ताबाट खोज्न आग्रह गरे । ‘तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको दशक लामो जनयुद्धलाई सामन्ती तथा निरंकुश राजतन्त्रविरुद्धको ऐतिहासिक राजनीतिक आन्दोलन हो,’ उनले भने ।
उनले नेपालको परराष्ट्र नीतिको मूल मान्यता ‘सबैसँग मित्रता, कसैसँग शत्रुता नगर्ने’ रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै सबै देशसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध र विकास सहकार्य अघि बढाउने नेपालको नीति रहेको बताए। ‘विश्वका समाजवादी आन्दोलनका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तिनका कमजोरी र गल्तीहरूको आलोचनात्मक समीक्षा गर्नुपर्ने आवश्यकता छ,’ दाहालको भनाइ थियो, ‘प्रविधिको विकास, श्रमको बदलिँदो स्वरूप, वातावरणीय चुनौती र नयाँ आर्थिक असमानतालाई सम्बोधन गर्न कम्युनिस्ट आन्दोलनले नयाँ परिस्थितिअनुसार आफूलाई विकसित गर्नुपर्ने छ ।’
राष्ट्रिय सार्वभौमिकता, जनताको आत्मनिर्णयको अधिकार, सामाजिक न्याय, शान्तिपूर्ण सहअस्तित्व र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माणका लागि विश्वभरका प्रगतिशील तथा लोकतान्क्रिक शत्तिसाग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।