त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ
वासिङ्टन — विश्वका तीन प्रमुख शक्ति राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच आगामी बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने भएको छ ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच संयुक्त छलफल हुन लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस र रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पुष्टि गरेका छन् ।
विश्लेषकहरूले यो भेटवार्तालाई ऐतिहासिक र प्रतीकात्मक माने पनि यसबाट ठोस कूटनीतिक सफलता हात लाग्ने अपेक्षा न्यून रहेको बताएका छन् ।
त्रिपक्षीय बैठकमा राष्ट्रपति ट्रम्पले मुख्यतः इरानसँगको अमेरिकी युद्ध र तीनै देशको आणविक हतियार भण्डार नियन्त्रण गर्ने नयाँ सम्झौताको विषयमा छलफल गर्नेछन् ।
तर, झण्डै पाँच वर्षदेखि जारी रुस–युक्रेन युद्धको विषयमा भने ट्रम्पले यस बैठकमा कुरा नउठाउने एक वरिष्ठ अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाले अहिले रुस र युक्रेनबीचको युद्धको मध्यस्थता गरिरहेको छ ।
अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार सम्झौता 'न्यु स्टार्ट' गत फेब्रुअरीमा समाप्त भएपछि ट्रम्पले चीनलाई समेत समेटेर आधुनिक आणविक सम्झौता गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
यद्यपि, अमेरिका र रुससँग ५ हजारभन्दा बढी आणविक हतियार रहेको अवस्थामा ६ सय हाराहारी मात्र हतियार भएको चीनले यस्तो सम्झौतामा खासै रुचि देखाएको छैन ।
कूटनीतिक वृत्तमा सेन्जेन बैठकलाई सन् १९४५ को 'याल्टा सम्मेलन' सँग तुलना गरिए पनि क्रेमलिनले त्यसलाई अस्वीकार गरेको छ ।
यो भेटले युक्रेन र युरोपेली मुलुकहरूलाई बाइपास गरी ठूला शक्ति राष्ट्रले मात्र विश्व व्यवस्थाबारे निर्णय लिन खोजेको सन्देश जाने भन्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका छन् ।
यसअघि सी, पुटिन र ट्रम्पबीच द्विपक्षीय भेटवार्ताहरू पटक–पटक भए पनि तीनै नेता एउटै मञ्चमा उभिन लागेको यो पहिलो पटक हो । यस त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ ।