काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले एपेक शिखर सम्मेलनका क्रममा तीन नेताबीच भेटवार्ता हुने पुष्टि गरेकी हुन् ।
चीनको सेन्जेनमा हुने भेटवार्तामा विश्वभर आणविक हतियारको संख्या घटाउने विषयमा छलफल हुने ह्वाइट हाउसले जनाएको छ । इरानको विषय पनि उठ्न सक्ने बताइएको छ । तर, युक्रेन युद्धबारे छलफल नहुने बुझिएको छ । रुसले भेटवार्तामा सहभागी हुने पुष्टि गरे पनि चीनले औपचारिक प्रतिक्रिया दिएको छैन ।
ट्रम्प बुधबार राति सेन्जेन पुग्नेछन् । उनले बिहीबार सीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रमसमेत छ । सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हो ।
अमेरिका र रुसबीचको आणविक हतियार नियन्त्रणसम्बन्धी सन्धि गत फेब्रुअरीमा समाप्त भएपछि दुवै देशका आणविक हतियार भण्डार नियन्त्रणबाहिर रहने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघले नयाँ सम्झौताका लागि आग्रह गर्दै आए पनि ट्रम्पले चीनलाई समेत समेटेर नयाँ सहमति गर्नुपर्ने बताउँदै आएका छन् ।
तर, चीन र रुसलाई एउटै आणविक हतियार नियन्त्रण सम्झौतामा सहभागी गराउनु चुनौतीपूर्ण र वर्षौं लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ ।
यसैबीच, युक्रेन युद्धपछि चीन रुसको प्रमुख व्यापारिक साझेदार बनेको छ । अर्कोतर्फ व्यापार, कृत्रिम बौद्धिकता (एआई) र ताइवानको विषयमा अमेरिका–चीनबीच मतभेद कायमै छ । इरानमा जारी युद्ध पनि दुई देशबीचको सम्बन्धमा अर्को चुनौती बनेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले एपेक सम्मेलनका क्रममा सीले द्विपक्षीय वार्ता गर्ने जनाएको छ । तर, त्रिपक्षीय भेटवार्ताबारे भने चीनले औपचारिक जानकारी दिएको छैन ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।