Trending
Prev Story
Next Story

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

Nagarik News •
November 14, 2026 • 05:35 AM
1
1 reads 0 reactions

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

अमेरिका, चीन र रूसका राष्ट्रप्रमुख अर्को साता चीनको प्रविधि केन्द्र शेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

विश्वका तीन ठुला आणविक शक्ति राष्ट्रका नेता एकै ठाउँमा भेट्न लागेको यो अभूतपूर्व घटना हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको त्रिपक्षीय बैठकको योजना ह्वाइट हाउसले शुक्रबार पुष्टि गरेको हो। तर, विश्लेषकहरूले यस बैठकबाट ठुला उपलब्धि हासिल हुने सम्भावना कम रहेको बताएका छन्। उनीहरूका अनुसार बैठक ठोस उपलब्धिभन्दा बढी प्रतीकात्मक हुने देखिन्छ।

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

त्यस्तै, ट्रम्पले पुटिनसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्। तर, रूसले युक्रेनविरुद्धको युद्ध जारी राखेको छ भने इरानसँगको सैन्य र कूटनीतिक सम्बन्ध थप बलियो बनाएको छ।

ट्रम्पले तीन नेताबिचको बैठकमा इरान युद्ध र आणविक हतियार नियन्त्रणबारे छलफल गर्ने बताएका छन्। तर, ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्पले बैठकमा युक्रेन युद्धको विषय उठाउने छैनन्।

अमेरिका र रूसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो। यससँगै आधा शताब्दीभन्दा बढी समयपछि पहिलोपटक यी दुई देशका आणविक हतियारको संख्यामा लगाइएको सीमा हटेको छ।

सम्झौताको म्याद सकिएपछि रूसले त्यसलाई एक वर्ष थप गर्न प्रस्ताव गरेको थियो। तर, ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गर्दै चीनलाई समेत समेटेर नयाँ र आधुनिक सम्झौता गर्नुपर्ने बताएका थिए।

अमेरिकी अधिकारीका अनुसार प्रस्तावित बैठक आणविक हतियार नियन्त्रणबारे छलफल सुरु गर्ने अवसर हुनेछ। तर, बैठकबाट कुनै सम्झौता हुने अपेक्षा गरिएको छैन।

अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार चीनसँग ६०० भन्दा बढी आणविक हतियार छन्। अमेरिका र रूससँग भने पाँच हजारभन्दा बढी हतियार रहेको अनुमान छ। अमेरिका र रूसको तुलनामा आफ्नो आणविक हतियारको संख्या निकै कम भएकाले चीनले यस्तो सम्झौतामा खासै चासो देखाएको छैन।

चीनका लागि यो बैठक आफ्नो बढ्दो अन्तर्राष्ट्रिय प्रभाव देखाउने अवसर हुन सक्छ। त्यस्तै, रूसका लागि अमेरिका र चीनकै स्तरको शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने मौका हुनेछ।

मलेसियाका लागि पूर्वअमेरिकी राजदूत एडगार्ड कागनले पुटिनका लागि यो बैठक अमेरिका र चीनसँग युक्रेनको भविष्यबारे छलफल गर्न चाहेको संकेत दिने अवसर भएको बताए। तर, युक्रेन र युरोपेली देशहरूलाई यस्तो छलफल मन नपर्ने उनको भनाइ छ।

तीन नेताबिचको बैठकले एपेक शिखर सम्मेलनलाई समेत ओझेलमा पार्न सक्ने विश्लेषण गरिएको छ। यसपटकको एपेक सम्मेलनमा २१ अर्थतन्त्रका प्रतिनिधि सहभागी हुँदैछन्। चीनले शेन्जेन सहरलाई विश्वकै प्रमुख प्रविधि र आर्थिक केन्द्रका रूपमा चिनाउने अवसरका रूपमा पनि सम्मेलनलाई लिएको छ।

तर, त्रिपक्षीय बैठकले स्वतन्त्र व्यापारको पक्षमा आफूलाई उभ्याउने चीनको प्रयासलाई कमजोर बनाउन सक्ने नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका चिनियाँ विदेश नीतिका प्राध्यापक हू टियाङ बूनले बताएका छन्। उनले भने, ‘यो चीनले समर्थन गर्दै आएको बहुपक्षीयताको अवधारणाविपरीत देखिन्छ।’

सी र पुटिनबिच लामो समयदेखि घनिष्ठ सम्बन्ध छ। सी सन् २०१३ मा राष्ट्रपति बनेयता उनीहरूले ४० पटकभन्दा बढी भेट गरिसकेका छन्। दुवैले एकअर्कालाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गर्छन्।

ट्रम्प र पुटिनबिच सातपटक तथा ट्रम्प र सीबिच आठ पटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि चीन र रूसबिचको व्यापारिक सम्बन्ध थप बलियो बनेको छ। पश्चिमा देशहरूले रूसलाई आर्थिक रूपमा एक्ल्याउने प्रयास गरे पनि चीनले रूसी ऊर्जा स्रोतको खरिद बढाएको छ। साथै, रूसी हतियार उद्योगलाई आवश्यक पर्ने उच्च प्रविधिका सामग्रीसमेत चीनले आपूर्ति गर्दै आएको छ।

सी र पुटिनले यसअघि दुई देशबिच ‘सीमाविहीन मित्रता’ रहेको घोषणा गरेका थिए। चीनले युक्रेन युद्धमा आफू तटस्थ रहेको बताउँदै आए पनि युक्रेनका पश्चिमा सहयोगीहरूले रूसको सैन्य कारबाहीमा चीनको भूमिका रहेको आरोप लगाउँदै आएका छन्। रूसले भने ताइवानसम्बन्धी विषयमा चीनको नीतिलाई समर्थन गर्दै आएको छ।

यसैबिच, ट्रम्पले हालै रूसमाथिका केही प्रतिबन्ध हटाएर लाखौँ टन डिजेल बिक्री गर्न अनुमति दिएका छन्। उनले रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण ऊर्जा मूल्य बढेको बताएका थिए। तर, विश्लेषकहरूका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुको मुख्य कारण इरान युद्ध हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने तीन नेताबिचको बैठकमा युक्रेनलाई जानकारी नदिई उसको भविष्यबारे सम्झौता हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

प्रस्तावित बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ। उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले जर्मनी र बर्लिनलाई चार वटा सैन्य नियन्त्रण क्षेत्रमा विभाजन गर्ने सहमति गरेका थिए। त्यही सम्मेलनमा संयुक्त राष्ट्रसंघ स्थापनाको योजनालाई पनि अन्तिम रूप दिइएको थियो।

तर, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शेन्जेन बैठकलाई याल्टा सम्मेलनसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनका अनुसार रूस, चीन र अमेरिकाजस्ता देशका नेताहरूबिचको बैठक निकै महत्त्वपूर्ण छ। तर, विश्व व्यवस्थाको कुनै एउटा दृष्टिकोण अरूमाथि लाद्न मिल्दैन। यो आपसी लाभ र सम्मानमा आधारित हुनुपर्छ। एजेन्सी

प्रकाशित: २८ कार्तिक २०८३ ११:२० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
49m ago
ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अर्को साता चीनमा भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसले तीन नेताबीच त्रिपक्षीय भेटवा...

#ट्रम्प #राष्ट्रपति #पुटिन
Compare →
Onlinekhabar
23h ago
उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

उपराष्ट्रपति भान्सलाई ट्रम्पको निर्देशन : घरेलु मुद्दामा केन्द्रित हुनू

२७ कात्तिक, वासिङ्टन (रासस/एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जे डी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराधविरुद्धको अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि युद्धको आर्थिक …

#ट्रम्प
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612