दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गरेको छ। जितसँगै इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको समूह ए३ मा शीर्ष स्थान हासिल गरेको छ। म्याड्रिडस्थित मेट्रोपोलिटानो रंगशालामा इंग्ल्यान्डले स्पेनको ४३ खेल लामो अपराजित यात्रामा पूर्णविराम लगाएको हो। थोमस टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शनमध्ये एक रह्यो।
खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। दोस्रो हाफमा एज्री कोन्सा र बेन ह्वाइटले चार मिनेटको अन्तरमा गोल थपेपछि इंग्ल्यान्ड ३–० ले अघि बढ्यो। ५३औँ मिनेटमा डेक्लान राइसको कर्नरमा कोन्साले हेडरमार्फत गोल गरे। त्यसको चार मिनेटपछि उत्कृष्ट टिम मुभमा ह्वाइटले गोल थप्दै इंग्ल्यान्डलाई बलियो स्थितिमा पुर्याए। तर, जारेल क्वान्साको गल्तीपछि स्पेनले खेलमा फर्कने अवसर पायो। लमिन यमाल गोलतर्फ अघि बढिरहेका बेला इलियट एन्डरसनले उनलाई अन्तिम डिफेन्डरका रूपमा फल गरेपछि रातो कार्ड पाए। त्यसपछि प्राप्त पेनाल्टीमा ६५औँ मिनेटमा मिकेल ओयारजाबालले गोल गरे।
खेलको अन्त्यतिर यमालको पासमा निको विलियम्सले गोल गर्दै स्पेनलाई ३–२ को स्थितिमा पुर्याए। त्यसपछि स्पेनले बराबरीका लागि लगातार दबाब बनाए पनि इंग्ल्यान्डले अग्रता जोगायो। इंग्ल्यान्डको जितमा गोलरक्षक जेम्स ट्राफोर्ड नायक बने। उनले खेलमा ६ महत्वपूर्ण बचाउ गरे। विशेषगरी इन्जुरी समयमा फर्मिन लोपेज र आयमेरिक लापोर्टेको लगातार प्रहार रोक्दै उनले इंग्ल्यान्डको जित सुनिश्चित गरे।
इंग्ल्यान्डले पछिल्ला १० अवे खेलमा लगातार जित निकाल्दै नयाँ कीर्तिमान बनाएको छ। विश्व वरीयताको शीर्ष स्थानमा रहेको टोलीविरुद्ध इंग्ल्यान्डले पहिलोपटक एकभन्दा बढी गोलको अग्रता बनाएको थियो। स्पेनले पछिल्ला ४१ घरेलु खेलमा दोस्रो हार बेहोरेको छ। सन् २०१८ मा इंग्ल्यान्डसँग ३–२ ले पराजित भएयता स्पेनले घरेलु मैदानमा दोस्रो हार बेहोरेको हो। म्याड्रिडमा पनि स्पेन सन् १९८७ पछि पहिलोपटक इंग्ल्यान्डसँग पराजित भएको छ।
हारका बाबजुद स्पेन समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ। यससँगै स्पेनको ९ सय ६८ दिन लामो अपराजित यात्रा पनि समाप्त भएको छ। यो कुनै युरोपेली राष्ट्रको सबैभन्दा लामो अपराजित यात्रा थियो।