मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले उचित क्षतिपूर्ति र संघीय सरकारबाट विशेष सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।
पीडित परिवारले दुर्घटनाबाट प्रभावित परिवारका माग सम्बोधन गर्न संघीय सरकारले विशेष निर्णय गर्नुपर्ने अडान राखेका छन्। सरकारबाट ठोस निर्णय र स्पष्ट सम्बोधन नभएसम्म शव नबुझ्ने उनीहरूको भनाइ छ।
आफन्तहरूले यसअघि मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका थिए। पछिल्लो समय उनीहरूले ती मागमाथि संघीय सरकारबाटै विशेष निर्णय र थप सम्बोधन हुनुपर्ने माग अघि सारेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको शव परिवारले बुझिसकेको छ। बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।
पीडित परिवार, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायतको उपस्थितिमा भएको छलफल भने निष्कर्षविहीन बनेको थियो। पीडित परिवारका माग र क्षतिपूर्तिका विषयमा आज पनि छलफल हुने प्रहरीले जनाएको छ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी हाइस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवार यतिबेला गहिरो शोकमा छन्। शोकको पीडासँगै उनीहरू न्याय, उचित क्षतिपूर्ति र सरकारको ठोस निर्णयको प्रतीक्षामा छन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान उनीहरूले कायम राखेका छन्।
प्रकाशित: २७ कार्तिक २०८३ १४:३८ शुक्रबार