नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नबिल ग्रोथ फन्डका इकाइहरु मंसिर ९ गतेबाट बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री गर्न अनुमति दिएको छ ।
त्यसमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाइको न्यूनतम १५ प्रतिशत इकाइमध्ये कोष प्रवद्र्धक नबिल बैंकका लागि १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाइ तथा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङलाई १ प्रतिशत वा न्यूनतम १० लाख इकाइ सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ ।
सर्वसाधारणले यस योजनमा न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनले तोकेका शाखाहरुका साथै सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ । इकाइ खरिदका लागि छिटोमा मंसिर १४ गते र ढिलोमा मंसिर २३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।