नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बीमा व्यवसाय विस्तारलाई निरन्तरता दिएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल बीमाशुल्क आर्जन र खुद बीमाशुल्क दुवैमा करिब ३० प्रतिशतको वृद्धि भएको छ। यससँगै कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब ८ अर्ब रुपैयाँ नाघेको छ।
कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ रहेको यस्तो आर्जन यस वर्ष २९.३१ प्रतिशतले बढेको हो।
त्यस्तै, खुद बीमाशुल्क आर्जन पनि ३०.१३ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस वर्षको असोजसम्म ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ।
कम्पनीको दीर्घकालीन वित्तीय आधारका रूपमा रहेको जीवन बीमा कोषमा पनि उल्लेख्य विस्तार भएको छ। असोज मसान्तसम्म कोषको आकार १ खर्ब ८ अर्ब ४५ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ रहेको कोष १५.८२ प्रतिशतले बढेको हो।
नेशनल लाइफको चुक्तापुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोष ७५ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ६० करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटी ३२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। शेयर प्रिमियम भने २ करोड ७८ लाख रुपैयाँमा स्थिर रहेको छ।
नाफातर्फ कम्पनीले पहिलो त्रैमासमा १२ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी १०.३० रुपैयाँबाट घटेर ८.८३ रुपैयाँ कायम भएको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १३०.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.८९ गुणा रहेको छ। समग्रमा बीमाशुल्क संकलन र जीवन बीमा कोषको विस्तारले नेसनल लाइफको व्यवसायको आकार बढ्दै गएको देखाएको छ।