तिहारको बिदाले रोकिएको सेयर बजार आजदेखि पुनः चलायमान हुँदैछ। तर बजार खुल्ने प्रतीक्षामा रहेका लगानीकर्ताले यो साता नियमित कारोबारका लागि आज एक दिन मात्रै पाउने भएका छन्। लामो अन्तरालपछि खुल्न लागेको बजारले कस्तो दिशा लिन्छ भन्ने चासो अहिले लगानीकर्तामाझ छ।
तिहारअघि अन्तिम पटक कारोबार भएको कात्तिक २० गते नेप्से २,६५५.२२ विन्दुमा पुगेर रोकिएको थियो। त्यसयता बजारमा कारोबार भएको छैन। आज बिहान ११ बजे कारोबार सुरु भएपछि बजारले बिदाअघिको गति समात्छ वा नयाँ दबाब देखिन्छ भन्ने पहिलो संकेत प्राप्त हुनेछ।
लामो बिदापछि बजार खुल्दा लगानीकर्ताको ध्यान केवल परिसूचकमा मात्र सीमित हुने छैन। तिहारपछि सूचीकृत कम्पनीहरूका वार्षिक साधारण सभा र लाभांशसम्बन्धी गतिविधि बढ्ने भएकाले कम्पनीगत कारोबारमा समेत चासो बढ्न सक्छ। लाभांश सुरक्षित गर्ने समय नजिकिँदै जाँदा लगानीकर्ताको रोजाइ र खरिदबिक्रीको निर्णयले बजारमा प्रभाव पार्न सक्छ।
यसैबीच, चाडपर्वका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको नगद पुनः बैंकिङ प्रणालीमा फर्किने क्रमले तरलतामा सहजता ल्याउन सक्ने अपेक्षा पनि गरिएको छ। तर यसको प्रभाव बजारमा कति छिटो र कस्तो रूपमा देखिन्छ भन्ने कुरा आगामी कारोबारले नै स्पष्ट पार्नेछ।