कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना
काठमाडौँ — दसैं बिदापछि उकालो लागेको सेयर बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि गति सुस्त भएको छ । यस साताको कारोबारमा नेप्से परिसूचक ३४.९३ अंक अर्थात् १.३० प्रतिशत घटेर २ हजार ६ सय ५५.२२ बिन्दुमा झरेको छ । कात्तिक १६ देखि २० सम्मको पाँच कारोबार दिनमा बजारमा यस्तो गिरावट आएको हो ।
बजार घटेसँगै सेयर बजारको आकार (कुल पुँजीकरण) पनि करिब ६० अर्ब रुपैयाँले खुम्चिएको छ । अघिल्लो साता ४६ खर्ब ३० अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण गत साता ४५ खर्ब ७० अर्ब रुपैयाँमा सीमित भएको छ । बजार घटेसँगै कारोबार रकममा पनि उल्लेख्य संकुचन आएको छ । गत साता कुल कारोबार रकम १७.८८ प्रतिशत घटेर २८ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । अघिल्लो साता यस्तो रकम ३४ अर्ब ३९ करोड रुपैयाँ थियो । दैनिक औसत कारोबार रकम पनि ६ अर्ब ८८ करोडबाट घटेर ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ ।
परिसूचक र कारोबार रकम दुवै घट्नुले बजारमा व्यापक बिक्री चापभन्दा पनि लगानीकर्ताको सहभागिता खुम्चिएको र नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेको संकेत गर्छ । नयाँ लगानी गर्न लगानीकर्ता हिच्किचाइरहेका छन् भने सक्रिय कारोबारी पनि छानेर कम्पनीहरूको सेयरमा लगानी गरिरहेका देखिन्छन् ।
यद्यपि, कारोबार रकममा आएको गिरावटले बजारलाई थप उकालो लाग्न आवश्यक खरिद चाप कमजोर रहेको पनि देखाउँछ ।
यस साता १३ मध्ये ११ वटा उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह २.८ प्रतिशतले घट्यो । विकास बैंक उपसमूह २.६७, बैंकिङ र जलविद्युत् दुवै १.८६ तथा उत्पादन तथा प्रशोधन उपसमूह १.७७ प्रतिशतले घटेका छन् । अन्य उपसमूह ३.०२ प्रतिशतले बढ्दा व्यापार उपसमूहमा ०.३७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ ।
जलविद्युत् र वाणिज्य बैंकका सेयरमा कारोबार केन्द्रित
बजार समग्रमा घटे पनि जलविद्युत् कम्पनी र वाणिज्य बैंकका सेयरमा भने उल्लेख्य कारोबार भएको छ । तर यी दुवै क्षेत्रका उपसमूहगत परिसूचक घटेकाले सबै कम्पनीमा समान रूपमा खरिद आकर्षण नरहेको देखिन्छ ।
यस साता सबैभन्दा धेरै कारोबार स्वेतगंगा हाइड्रोपावरको भएको छ । कम्पनीको १ अर्ब ८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा पनि कम्पनी अगाडि रह्यो । यसको ३४ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । उच्च कारोबार र सेयर संख्यासँगै कम्पनीको मूल्य ६.१ प्रतिशत बढेर प्रतिकित्ता ३ सय ३२ रुपैयाँ पुगेको छ । यसले बजार घटिरहेका बेला पनि यो कम्पनीमा खरिद चाप रहेको देखाउँछ ।
घलेम्दी हाइड्रोको ९७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीका २९ लाख ५८ हजार कित्ता सेयर किनबेच भएका छन् । सानिमा मध्य तमोर हाइड्रोपावरको ५५ करोड ३७ लाख र बुटवल पावर कम्पनीको ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
तर, जलविद्युत् उपसमूहको परिसूचक १.८६ प्रतिशत घट्नुले यस क्षेत्रमा देखिएको कारोबार सबै कम्पनीमा फैलिएको छैन भन्ने देखाउँछ । केही कम्पनीमा खरिद आकर्षण देखिए पनि समग्र क्षेत्र भने दबाबमा रहेको जानकारहरु बताउँछन् ।
वाणिज्य बैंकका सेयरमा पनि उल्लेख्य कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको ८० करोड ६० लाख, एनआईसी एसिया बैंकको ८० करोड २ लाख र कुमारी बैंकको ७१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकिङ उपसमूहको परिसूचक १.८६ प्रतिशत घटे पनि एनआईसी एसिया बैंकको सेयर मूल्य ५.१४ प्रतिशत बढेर प्रतिकित्ता ३ सय ४८ रुपैयाँ पुगेको छ ।
यसले समग्र बैंकिङ क्षेत्रमा सुधारभन्दा पनि निश्चित कम्पनीमा मात्र खरिद आकर्षण रहेको देखाउँछ । यो साता पुनर्बिमा कम्पनीका सेयरमा पनि तुलनात्मक रूपमा राम्रो मूल्य वृद्धि भएको छ। नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य ७.२९ प्रतिशत बढेर प्रतिकित्ता ८ सय ८५ रुपैयाँ पुगेको छ भने हिमालयन रिइन्स्योरेन्सको मूल्य २.७५ प्रतिशत बढेर ५ सय ७ रुपैयाँ ५० पैसा पुगेको छ ।
कम्पनीतर्फ बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सबैभन्दा धेरै १८.३६ प्रतिशत बढेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १०.७८ र मन्दाकिनी हाइड्रोपावरको ८.५१ प्रतिशतले मूल्य बढेको छ । समग्र उपसमूहको गिरावट र केही कम्पनीको मूल्य वृद्धिबीच देखिएको अन्तरले लगानीकर्ता निश्चित क्षेत्रभन्दा पनि कम्पनी विशेषका अवसर खोजिरहेका छन् भन्ने देखाउँछ ।
यद्यपि, धेरै कारोबार हुनु मात्रै सेयर सञ्चय भइरहेको वा लगानीकर्ता बढिरहेको प्रमाण होइन । कारोबारमा खरिद र बिक्री दुवै संलग्न हुने भएकाले मूल्यको दिशा र कम्पनीको वित्तीय अवस्था पनि हेर्नुपर्ने हुन्छ ।
वित्तीय विवरण र लाभांशले बजारलाई टेवाको सम्भावना
लगानीकर्ता तथा बजार विश्लेषक सुभासचन्द्र ढुंगाना पछिल्लो गिरावटलाई दसैंपछि बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्दा आएको सामान्य करेक्सनका रूपमा हेर्छन् । राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रतिकूल परिस्थिति नबने तिहारपछि बजारमा सुधार आउने उनको अपेक्षा छ ।
बजारलाई दिगो रूपमा उकालो लाग्न दैनिक ९ देखि १० अर्ब रुपैयाँसम्मको कारोबार आवश्यक पर्ने ढुंगानाको भनाइ छ । अहिलेको दैनिक औसत कारोबार रकम ५ अर्ब ६५ करोड रुपैया“ मात्रै रहेकाले बजारमा थप पुँजी र लगानीकर्ताको सहभागिता आवश्यक देखिन्छ ।
तिहारअघि लामो बिदा हुने र पछिल्लो राजनीतिक घटनाक्रमका कारण पनि कारोबार रकम घटेको उनले बताए । कारोबारबीच लामो अन्तराल हुँदा लगानीकर्ता र कारोबारी पर्ख र हेरको अवस्थामा रहने उनको भनाइ छ । अनिश्चितता कायम रहे पनि त्यसले बजारमा पार्ने नकारात्मक प्रभाव छोटो अवधिका लागि मात्रै हुन सक्ने उनको भनाइ छ ।
बजार विश्लेषक जगन्नाथ ढुंगेल पनि पछिल्लो गिरावटलाई नाफा सुरक्षित गर्ने क्रमसँग जोडेर हेर्छन् । तिहारपछि केही दिन बजार ‘साइडवेज’मा रहे पनि त्यसपछि सुधार हुन सक्ने उनको अनुमान छ । विशेषगरी लाभांशको मौसम र सूचीकृत कम्पनीहरूको वित्तीय विवरणमा देखिन सक्ने सुधारले बजारलाई टेवा दिन सक्ने उनको भनाइ छ ।
नेपालको सेयर बजारमा ‘अक्टोबर’को अन्त्यदेखि ‘फेब्रुअरी’सम्मको अवधिलाई परम्परागत रूपमा लाभांशको मौसम मानिन्छ । यस अवधिमा कम्पनीले लाभांश घोषणा गर्ने र वितरण गर्ने भएकाले नगद लाभांश तथा बोनस सेयरको अपेक्षाले लगानीकर्तालाई बजारमा आकर्षित गर्न सक्ने ढुंगेलको भनाइ छ ।
प्राविधिक सूचकले के देखाउँछ ? प्राविधिक विश्लेषणका आधारमा पनि बजारको पछिल्लो गिरावटलाई तत्कालै दीर्घकालीन प्रवृत्ति उल्टिएको संकेतका रूपमा लिनुपर्ने अवस्था देखि“दैन । गत साता नेप्से २० दिने एक्स्पोनेन्सियल मुभिङ एभरेज (ईएमए) २ हजार ६ सय ३९.७४ र ५० दिने ईएमए २ हजार ६ सय २८.६६ बिन्दुभन्दा माथि बन्द रहेको छ । यी दुवै औसतका आधारमा २ हजार ६ सय २८ देखि २ हजार ६ सय ४० बिन्दुसम्मको क्षेत्रलाई तत्कालको समर्थन क्षेत्र मान्न सकिन्छ ।
१४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५६.७८ मा छ । यसले बजारमा गति केही सुस्त भए पनि समग्रमा सकारात्मक अवस्था कायम रहेको संकेत गर्छ । परिसूचक घटेका दिनमा कारोबार रकमसमेत घट्नुले बिक्री चाप तीव्र नभएको संकेत गर्छ ।
तिहारपछि बजारले उक्त समर्थन क्षेत्र कायम राख्न सक्छ कि सक्दैन र कारोबार रकम पुनः बढ्छ कि बढ्दैन भन्नेले आगामी दिशाको संकेत गर्ने बताइएको छ । कारोबार रकममा वृद्धि, धेरै उपसमूहमा सुधार र कम्पनीको वित्तीय अवस्थामा देखिने प्रगतिसहितको बजार वृद्धि तुलनात्मक रूपमा दिगो हुन सक्छ । केही धेरै कारोबार भएका कम्पनीको मूल्य बढेर मात्रै बजारमा सुधार आएको मान्न नसकिने स्रोतको भनाइ छ ।
प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।