वार्नरले ६६ र साहिलले ३८ रन बनाएपछि काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
काठमाडौँ — ओपनिङ जोडी डेभिड वार्नर र साहिल पटेलले शतकीय साझेदारी गरेपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार लुम्बिनी लायन्सलाई १ सय ६१ रनको लक्ष्य दिएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्ता पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६० रन बनाएको हो ।
वार्नर र पटेलले १४ ओभरभित्र १ सय ४ रन जोडेका थिए । जारी एनपीएलमा यो पहिलो विकेटका लागि दोस्रो शतकीय साझेदारी हो । यसअघि विराटनगर किंग्सका लोकेश बम र इमरान शेखले जनकपुर बोल्ट्सविरुद्ध १ सय ७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
शेर मल्लले साहिललाई आउट गरी लुम्बिनीलाई पहिलो सफलता दिलाए । साहिलले ३६ बलमा समान २ चौका र छक्काका साथ ३८ रन बनाए । अस्ट्रेलियन ब्याटर वार्नरले ५० बलमा ६६ रन बनाए । उनले ३३ बलमा अर्धशतक पूरा गरेका थिए । वार्नरले कुल ९ चौका र १ छक्का प्रहार गरी शेरकै बलमा आउट भए ।
तेस्रो नम्बरमा पठाइएका करण केसी १० बलमा ९ रन बनाई अभिषेक गौतमको बलमा कट एन्ड बोल्ड भए । अभिषेकले अर्को बलमा रिभर्स स्विप गर्न खोजेका विल बोसिस्टोलाई बोल्ड गरे । रशिद खानले पनि १ रनमात्र बनाए । जहानन्द खानले १ छक्का प्रहार गरे पनि ३ बलमा ६ रन बनाई आउट भए ।
मोहम्मद आदिल आलम १ र सन्तोष यादव २ रनमा रनआउट भए । सहन अराचिगे १५ बलमा ३४ रन बनाई अविजित रहे । उनले ३ चौका र १ छक्का प्रहार गरे । लुम्बिनीका अभिषेक, शेर र रुबेन ट्रम्पलमनले २–२ विकेट लिए । अभिषेकले ४ ओभरमा १५, शेरले १९ र ट्रम्पलमनले ३ ओभरमा २४ रन खर्चे ।
यस खेलमा विजय हात पारेमा लुम्बिनीले शीर्ष स्थानमा मजबुत पकड बनाउँदै प्लेअफमा पुग्ने निश्चित हुनेछ । लुम्बिनी चार खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा जनकपुरसँग पराजित काठमान्डुले त्यसपछि कर्णालीलाई ४ विकेटले र विराटनगरलाई ९ विकेटले पराजित गरेको थियो । विराटनगरविरुद्ध ८४ रनको लक्ष्य १० ओभरभित्र पूरा गरेपछि काठमान्डु रनरेटमा निकै बलियो भएको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।