कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।
काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बावजुद सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई १ सय २६ रनको मात्र लक्ष्य दिएको छ ।
दीपेन्द्रले ५५ बलमा ६० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो । दीपेन्द्रले आफ्नो इनिङ्समा ५ चौका र २ छक्का प्रहार गरे ।
काठमान्डुले बलिङमा पुनः एक पटक सनसनीपूर्ण सुरुआत गरेको थियो । प्रमुखरुपमा बलिङ अलराउन्डरको रुपमा रहेका स्कट कुग्लेन ओपनिङ ब्याटिङमा आएका थिए । उनले आधिकारिक पहिलो बलमै छक्का प्रहार गरेका थिए । तर पाकिस्तानी तीब्र बलर जहाँन्दद खानले कुग्लेनलाई चौथो बलमै आउट गरी काठमान्डुलाई पहिलो सफलता दिलाए ।
दोस्रो ओभरमा देव्रेहाते स्पिनर सन्तोष यादवले ब्रान्डन म्याकमुलेनलाई क्याच गराए भने इशान पाण्डेलाई बोल्ड गरे । दुबैले खाता खोल्न भ्याएनन् । तेस्रो ओभरमा जहाँन्ददले विनोद भण्डारीलाई १ रनमा एलबीडब्लु आउट गर्दा सुदूरपश्चिमले ८ रन बनाउदा चार विकेट गुमाउन पुगेको थियो ।
तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल
दीपेन्द्रले त्यसपछि आरिफ शेखसँग पाँचौं विकेटमा ५४ रनको साझेदारी गरे । आरिफ २५ बल खेलि १ चौका प्रहार गरि १६ रनमा रनआउट भए । दीपेन्द्रले थारिन्दु रत्नायकेसँग छैटौं विकेटमा पुनः ५४ रनको अर्को साझेदारी गरे । दीपेन्द्र १९ औं ओभरमा जहाँन्ददकै बलमा आउट भए ।
रत्नायके २३ बल खेलि २६ रनमा अविजित रहे । उनले ३ चौका प्रहार गरे । फाबियन एलेन २ रनमाम अविजित रहे । काठमान्डुबाट जहाँन्ददले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ र सन्ताषेले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।