२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो । दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन योगदान गरे ।
८ रनमै ४ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले सम्हालेका थिए । दोस्रो ओभरमा क्रिजमा पुगेका दीपेन्द्रले अन्तिम ओभरमा आउट हुनुअघि ५५ बलमा ५ चौका र २ छक्का मदतमा ६० रन जोडे ।
जारी एनपीएलमा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो । उनले यसअघि पोखरा एभेन्जर्स विरुद्ध अविजित ५१ रन बनाएका थिए । उनी दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि काठमान्डुका रासिद खानले पनि दुई अर्धशतक प्रहार गरिसकेका छन् ।
दीपेन्द्रले पाँचौ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफले २५ बल खेल्दै १ चौका मदतमा १६ रन बनाए ।
यस्तै दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौं विकेटका लागि पनि ५४ रनको साझेदारी गरे । थरिन्दुले २३ बल खेल्दै ३ चौका मदतमा अविजित २६ रन बनाए ।काठ
मान्डुका लागि बलिङमा जहानदाद खानले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्तोष यादवले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्तोषले खेलको दोस्रो ओभरमै सुदूरपश्चिमका ब्रान्डन म्याकुमुलेन र इशान पाण्डेलाई खाता खोल्न नदिई आउट गरेका थिए ।