२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
तर रन्जित कुमार र कप्तान सिकन्दर राजाले शानदार बलिङ गरेपछि जनकपुरको ब्याटिङ ध्वस्त भयो । कप्तान हर्मित सिंहको संयमित ब्याटिङमा जनकपुरले पूरा २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो ।
चितवनका लागि ७ विकेट स्पीनरले लिएका थिए ।
जनकपुरका लागि सातौं नम्बरमा ब्याटिङ गरेका कप्तान हर्मीत सिंहले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । हर्मीतले २४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल सुशलिङले १३ बल खेल्दै समान १ चौका र छक्का मदतमा १५ रन जोडे ।
जनकपुरका ओपनर तृतराज दास दोस्रो ओभरमा ५ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएपछि जनकपुरले नियमित अन्तरमा विकेट गुमायो र कुनै पनि बेला सम्हालिन सकेन । पाँचौ विकेटका लागि विशाल सुशलिङ र आदित्य महताले गरेको १८ रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।
ओपनर सन्तोष कार्की १०, रायन बर्ल ६ रनमा आउट भए भने हेरी टेक्टरले खाता खोल्न सकेनन् । आदित्य महताले २५ बल खेल्दा जम्मा ४ रन बनाए । अभिषेक तिवारी पनि ४ रनमा आउट भए । १० बल खेलेका राहुल यादवले अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित १० रन जोडे । ललित राजवंशी २ रनमा अविजित रहे ।
कमल सिंह ऐरीसँगै नयाँ बलले बलिङ गरेका स्पीनर रन्जित कुमार पहिलो स्पेलमै ३ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले ३ ओभरमा १ ओभर मेडन राख्दा जम्मा २ रन मात्र खर्चिए ।
यस्तै कप्तान राजाले पनि शानदार बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै जम्मा १० रन खर्चेर २ विकेट लिए ।
शीर्ष र मध्यक्रम रन्जित कुमार र सिकन्दर राजाले ध्वस्त पारेपछि कमिल मिसारले लोअर अर्डरमा विशाल सुशलिङ र जिमी निमको विकेट लिए । उनले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । यस सिजन खराब लयमा रहेका जिमी निशमले ८ बल खेल्दा खाता समेत खोल्न सकेनन् ।
चितवनका लागि मिडियम पेसरले ७ ओभर बलिङ गर्दा कमल सिंह ऐरी र रिजन ढकालले १–१ विकेट मात्र लिए । कमलले ४ ओभरमा २५ र रिजनले ३ ओभरमा १० रन खर्चिए ।