पोखराको जितमा डेनिम राई, सुविनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगाबहादुर तामाङले एक गोल थपेर पोखराको जित सुनिश्चित गरे ।
काठमाडौँ — पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर थिमि मैदानमा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो ।
पोखराको जितमा डेनिम राई, सुविनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गंगाबहादुर तामाङले एक गोल थपेर पोखराको जित सुनिश्चित गरे ।
पोखराले ८ लाख रुपैयाँ पुरस्कार जित्यो । उपविजेता आर्मीले ५ लाख रुपैयाँ पायो ।
विजेता टोलीका मिडफिल्डर गोविन्दबहादुर थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए । पुरस्कारस्वरुप उनले स्कुटर प्राप्त गरे । व्यक्तिगत विधातर्फ पोखराका योगेन थकाली उत्कृष्ट प्रशिक्षक बने । पोखराबाट व्यक्तिगत विधाको पुरस्कार जित्ने अर्का खेलाडी थिए, सुरेन्द्रबहादुर तामाङ । उनी उत्कृष्ट फरवार्ड भए ।
उत्कृष्ट गोलकिपरमा सानोगौचरण नाइट किंग्स क्लबका शम्भु श्रेष्ठ, डिफेन्डरमा आर्मीका चुनबहादुर थापा, मिडफिल्डरमा आर्मीकै राजु तामाङ चुनिए । सबैले जनही १० हजार पाए ।
धरान सिटी एफसीले फेयर प्ले अवार्ड जित्यो । प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा बढी उमेरका खेलाडी डा. कृष्ण भट्टचन सम्मानित भए । थासाङ स्पोर्ट्स क्लबबाट खेलेका उनी ७३ वर्षका छन् ।
विजेता टोलीलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, स्थानीय वडा ३ का अध्यक्ष कृष्णहरि आचार्य र वडा २ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विज्ञानराज शर्मा, उपेन्द्रमान सिंहलगायतले पुरस्कृत गरे ।