सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दैछन् ।
छठ पर्वको पहिलो दिन आज बिहानैदेखि व्रतालुहरूले नदी, पोखरी वा तलाउमा गई पवित्र स्नान गर्ने तथा घरको सरसफाइ गर्ने गर्दछन् । स्नान पश्चात् व्रतालुहरूले पूर्ण रूपमा सात्विक भोजन ग्रहण गर्ने परम्परा छ । यस दिन विशेष गरी लौका (कद्दू) को तरकारी, चन्दना वा अवा चामलको भात र चनाको दाल मिसाइएको भोजन (कद्दु–भात) खाने चलन रहेको छ । परिवारका अन्य सदस्यहरूले पनि व्रतालुले भोजन गरेपछि मात्रै प्रसादका रूपमा यसलाई ग्रहण गर्छन् ।